वेबटिभी खबर
काठमाडौं । सिराहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी,तस्करी भइरहेको पाइएको छ । प्रहरी प्रशासनले देखावटी रूपमा केहीमात्रामा चोरी पैठारी गरि ल्याइएको समान पक्राउ गरे पनि सिरहाको नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, माडर, बरियारपट्टी, औरही, पटेर्वा नाकाबाट व्यापक रूपमा तस्करी भइरहेको स्थानीयहरू बताउँछन् ।
तस्करहरूले सीमानाकामा बस्ने सुरक्षाकर्मी, भन्सार प्रमुखलगायतका कर्मचारीलाई रकम दिई (महिनावारीकै रुपमा घुसबापतको अवैध रकम तिरी) दिनभरि नाकाको वरिपरि भण्डारण गर्ने र रातभरि तस्करी गर्ने गरेको स्थानियहरूकाे भनाइ छ ।
सीमानाकामा बसेका सशस्त्र प्रहरी, नेपाल प्रहरी र सादा पोशाकमा खटाइएका प्रहरीहरू दिनभरि तस्करीको सामान नियन्त्रन गर्नुभन्दा पनि संरक्षणगरि तस्करको गोदामसम्म पुर्याउने गरेको स्थानीयहरूको आरोप छ ।
स्थानीय दिपेन्द्र यादवले भने, ‘प्रहरी प्रशासन मिलेपछि यहाँ जे पनि सीमानाकाबाट वारपार गर्न सम्भव छ । प्रहरीको आँखा अगाडिबाटै सीमानाकाकाको विभिन्न बाटो प्रयोग गरि तस्करले भन्सार राजश्व छली गरि निर्धक्क मालसामान वारपार गराइरहेका हुन्छन् ।’
उनका अनुसार सिरहाको नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, माडर, लौकहाठाडी,बरियारपट्टी, औरही, पटेर्वा नाकाबाट अहिले दिनदहाडै तस्करहरले यी नाकाहरुबाट चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान, ग्यास चुल्हो, पान मसाला, सुर्तीजन्य पदार्थ भन्सार राजश्व छली गरि नेपाल भित्र्याउने गरेका छन् । त्यस्तै नेपालबाट मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामग्रीहरु भारतीय बजार लगिने गरेको उनले बताए ।
स्थानीय अरविन्द यादवका अनुसार यस नाकाबाट रातभरि भारतीय बजारबाट सामान ल्याएर टेम्पो, पिकअप र मोटरसाइकलमार्फत सिरहाको लहान, गोलबजार, मिर्चैयालगायतका बजारसम्म ढुवानी हुने गरेको छ ।
सुरक्षाकर्मीबाट ‘लाइन क्लियर’ रहेको संकेत पाएपछि सामान ढुवानी सुरु हुन्छ । सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि खटिएका हुन्छन् ।
उनले भने, ‘तस्करीका सामान बोकेका गाडीको धुलोधुँवा र हर्नले राति र दिउँसो स्थानीयलाई सास्ती दिएको छ । प्रहरीलाई खबर गरे पनि नियन्त्रण गर्न चासो दिएको छैन।’
गत बुधबार माडर भन्सार नाकाबाटै करिब एक लाख बराबरको भन्सार छलीको कपडाको बोराले भरिएको बिआर ०१ बिएन ९३५७ नम्बरको कार सिरहा-चोहर्वा सडकखण्ड हुँदै चोहर्वातर्फ गइरहेको बेला साइकल यात्रीलाई ठक्कर दिएको थियो ।
साइकलमा सवार सिरहा नगरपालिका-२२ का दिनेश सदा र यसिन धामी घाइते भएपछि कार सडकमै छाडेर तस्कर फरार भए । दुर्घटनाको खबर पाएपछि घटना स्थलपुगेका विष्णुपुर प्रहरी चौकीका प्रहरीले कारभित्रबाट तीनवटा बोरामा रहेको कपडा बरामद गरेको थियो ।
प्रहरीले बरामद गरेको कपडाको मूल्य ७६ हजार ६०० र कारको १५ लाख गरि १५ लाख ७६ हतजार रुपैयाँसहितको मुल्यांकन प्रतिवेदन भन्सारलाई बुझाएको छ ।
माडर नाकाबाटै भित्रिएका उक्त कार र तस्करीका सामानसहितको लागत माडर भन्सारमा पाइएनन् । गत आइतबारदेखि बुधबारसम्ममा यो कार यस नाकाबाट प्रवेश गरेको रेकर्ड नरहेको कार्यालयले स्वीरेको छ ।
यस कारको ग्राउण्ड क्लियरेन्स अत्यन्त कम भएकाले मुख्य नाकाबाहेकको नाका क्षेत्रबाट वारि प्रवेश गर्न सक्ने बाटो नै नरहेको बोर्डर आउट पोष्टका प्रहरी निरीक्षक लोकनाथ उप्रेतीले बताए ।
उनले भने, ‘यो थोरै मुल्यको सामान थियो । यस्ता कुरामा नलाग्नुस् । यस्ता धैरै कामहरू हुन्छ । यो सानोतिनो कुरोमा अल्झिएर काम छैन ।’
तस्कर भइरहेको विषयमा जानकारी लिन खोज्दा सिरहाका प्रहरी उपरीक्षक अर्जुन तिम्लिसिनाले थोरै सामान बरामद भएकाले धेरै खोतल्नुपर्ने आवश्यकता नरहेको बताए ।
सिरहा, पटेर्वा, कल्याणपुर र चतरी सीमानाका भएर भित्रिने अवैध सामान मिर्चैया, सिरहा र गोलबजारस्थित तस्करहरूको गोदामसम्म सहज रुपमा पुग्नु र यसप्रति प्रहरी गम्भीर नबन्नु तथा थोरै सामान रहेको भन्दै पन्छिन खोज्नुले यसमा प्रहरीको समेत संलग्नता रहेको हुनसक्ने आशंका गर्न सकिन्छ । समाचार स्राेत : न्युजकारखाना
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij