वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सडकमा होस् वा महलमा जहाँ भएपनि कानुनको पालना बराबर किसिमले हुनुपर्ने बताएका छन् ।
थापाथलिस्थित नर्भिक हस्पिटललाई नियमविपरीत बनाइएको संरचना हटाउन भनिएको र अस्पतालले अटेर गरे कानुन लागु हुने मेयर साहले बताएका हुन् ।
उनले भने, ‘कानुन सबैका लागि बराबर हो भन्ने कुरामा हामी प्रष्ट छौँ । सडकमा होस् वा महलमा होस्, कानुनको पालना बराबर किसिमले हुनुपर्छ ।’
मेयर साहले अगाडि भने, ‘नर्भिक अस्पताललाई कानुनको पालना गर्नका लागि समय दिइएको थियो । दिइएको समयमा सुधार नभए पछि कानुनको कार्यान्वयन गर्नका लागि अनाधिकृतरूपमा बनाइएका संरचना भत्काउनै पर्ने थियो । तर त्यसले अस्पतालमा भर्ना भएका वा तत्कालै भर्ना हुन सक्ने बिरामीहरूलाई समस्या पर्ने भएकाले मानवीय संवेदनाका आधारमा थप समय दिइएको हो । सो थप समय कति हुने भन्ने सम्बन्धमा संरचनाको स्थानान्तरणका लागि लाग्ने न्युनतम समयले फरक पार्ने छ । इन्जिनियरिङ अध्ययनबाट सो समय तोकिने छ ।’
मेयर साहले अस्पताललाई संरचना हटाउन पुनः आग्रह गर्दै अन्य कुनै कारणले कानुनको पालना गर्नबाट महानगर पछि नहट्ने बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij