काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने अधिकांश खोप नलगाएका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार हालसम्म मृत्यु भएकामध्ये ७५ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन् ।
उनले कोरोना भाइरसविरुद्धको खोप नलगाएका उच्च जोखिममा भएकाले खोप लगाउन आग्रह गरे। ‘खोप नलगाएका उच्च जोखिममा रहेकाले खोप नलगाउनुभएका सबैले आफ्नो नजिकको स्वास्थ्य संस्थामा गई आवश्यकताअनुसार पहिलो, दोस्रो र बुष्टर मात्रा खोप लगाउन आग्रह गर्दछौं,’ उनले भने।
मंगलबार मात्र कोरोना भाइरसको संक्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ७४ संक्रमणका कारण मृत्यु भएको छ । नेपालमा संक्रमणको कारणले प्रति दशलाखमा ४१० दशमलव २ जनाको निधन भइसकेको छ । मन्त्रालयका अनुसार खोप नलगाएको मानिसलाई कोरोना संक्रमण भयो भने त्यस्ता मानिस गम्भीररूपमा बिरामी पर्ने र मृत्यु हुने सम्भावना खोप लगाएको मानिसको तुलनामा १० गुणा बढी हुने गर्दछ ।
यस्तै पहिलो र दोस्रो खोप लगाएकाहरूलाई बुष्टर मात्रा लगाउन आग्रह गरिएको छ । बुष्टर मात्रा खोपले गम्भीर बिरामी पर्ने वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्छ । सरकारले लक्षित जनसंख्याको ९३ दशमलव ३ प्रतिशत पहिलो मात्रा र ८८ दशमलव ५ प्रतिशत दोस्रो मात्राको खोप लगाइसकेका छन् । मन्त्रालयले कोभिड–१९ बाट संक्रमति ५० प्रतिशत मानिसमा कुनै पनि लक्षण नदेखिएकाले संक्रमणबाट बच्नका लागि खोप लगाउन आग्रह गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij