वेबटिभी खबर
काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाले बाँकेमा होम आइसोलेसनमा बसेका संक्रमितलाई स्वास्थ्य किट उपलब्ध गराउने निर्णय गरेको छ । मेयर डा.धवलशम्शेर राणाको अध्यक्षतामा बसेको कोभिड व्यवस्थापन अनुगमन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना संक्रमणको हटस्पट बनेको बाँकेका अधिकांश घरमा यतिबेला कोरोना संक्रमित बस्दै आएका छन् । उनीहरुलाई उपमहानगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको टोली घरमै पुगेर मेडिसिन किट र हाईजिन किट उपलब्ध गराउने नगर उपमेयर उमा थापा मगरले बताइन् । पिसिआर परीक्षणको पछिल्लो २४ घण्टाकाे रिपोर्टअनुसार हाल नेपालगञ्ज भरमा दुई हजार ४ सयजना होम आइसोलेसनमा बसेका छन् ।
उक्त बैठकमा होम आइसोलेसनमा बसेकाहरुलाई वितरण गरिएको किट कसरी प्रयोग गर्नेबारे बताइने र नियमित स्वास्थ्य परामर्श दिनेसमेत निर्णय भएको छ । साथै बाहिरी सम्पर्कबाट टाढिएका उनीहरुको समस्या समाधानका लागि कसरी प्रभावकारी काम गर्ने भन्ने तयारी गर्नेबारेमा छलफल भएको उपमेयर थापाले जानकारी दिइन् ।
बैठकमा वडास्तरीय फोकल पर्सनहरुले रिपोर्टिङ गरेका थिए । उनीहरुले गरेको रिपोर्टिङमा उठेका समस्याको क्रमिक रुपमा समाधान खोजिने स्वास्थ्यशाखा प्रमुख रामबहादुर चन्दले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij