Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

३५ वटा आँखाका नानी संकलन

३५ वटा आँखाका नानी संकलन

  • 615
    SHARES
  • ३५ वटा आँखाका नानी संकलन

    चितवन । नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले १८ जनाको ३५ वटा आँखाको नानी संकलन गरेको छ ।

    अस्पतालमा स्थापना गरिएको भीमराज उषामाया पाठक आँखा बैंकमार्फत आँखाको नानी संकलन गरिएको हो । अस्पतालले २०७४ बाट आँखाको नानी संकलन तथा प्रत्यारोपण सुरु गरेको हो ।

    कार्यक्रम हेर्दै आएकी छायाँ श्रेष्ठका अनुसार हालसम्म ११४ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ । उहाँका अनुसार आँखा दानका लागि ८४१ जनाले मरणोपरान्त आँखा दान गरेका छन् ।

    विगतमा कोरोनाका कारण नानी संकलन कार्य प्रभावित भएको भए पनि पछिल्लो दिनमा धेरै नानी संकलन हुन थालेको उनको भनाइ छ । संकलित नानी ४५ वर्षदेखि ९९ वर्ष उमेर समूहको रहेका छन् ।

    अस्पतालमा कर्निया रोग विशेषज्ञ डा.पुष्पा गिरीको नेतृत्वको टिमले आँखाको नानी प्रत्यारोपण गर्दै आएको छ । गिरीका अनुसार प्रत्यारोपण गरिएका बिरामीमध्ये आधा भारतीय हुन । सम्पर्कमा आएका सबैको प्रत्यारोपण गरिएको नानीले राम्रो काम गरेको छ ।

    भारतीय बिरामी पुनः परीक्षणका लागि कम मात्रै आउने भएकाले सबैको अवस्था थाहा नभएको भनाइ छ । गिरीका अनुसार मानिसको मृत्यु भएको आठ घण्टाभित्र आँखाको नानी संकलन गर्न सकिन्छ । उनले भनिन्, ‘मृत्युभएपछि जति छिटो नानी संकलन गर्न सकियो त्यति नै राम्रो हुन्छ ।’

    आँखा दान भनिए पनि आँखा पूरै ननिकालेर केवल आँखाको बाहिरी भागमा हुने पातलो नानी मात्रै निकाल्ने उनले बताइन् । डा.गिरीले भनिन्, ‘अझै पनि मानिसलाई पूरै आँखा निकालिन्छ भन्ने भ्रम छ, त्यस्तो होइन, आँखाको पातलो झिल्ली (नानी) मात्रै निकाल्ने हो ।’

    नानी निकालेपछि पुनः कृत्रिम नानी राखेर पहिलेको जस्तै अवस्थामा राखिन्छ । यहाँ संकलन गरिएको नानी नेपाल आँखा बैंक तिलगंगा काठमाडौं पठाउने गरिएको छ ।तिलगंगामा नानीलाई प्रशोधन गरेपछि मात्रै प्रत्यारोपण गर्न मिल्ने उनको भनाइ छ ।

    आँखा दान गर्न चाहने व्यक्तिले जुनसुकै समयमा सम्पर्क गर्न सक्नेछन् । आँखा बैंक स्थापनाका लागि जिल्लाका समाजसेवी भीमराज पाठकले १ करोड ५० लाख उपलब्ध गराएका छन् । सो रकमबाट आँखा बैंक स्थापना गर्ने तयारीमा अस्पताल लागेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij