वेबटिभी खबर
काठमाडौं । बैतडीमा एक सयभन्दा बढी व्यापारीहरू नियमविपरीत डिजेल र पेट्रोलको व्यापार गर्दै आएका छन् । उनीहरूले धनगढी र डडेल्धुराबाट ड्रममा पेट्रोलियम पदार्थ ल्याएर बिक्री गर्दछन् ।
जिल्लामा एकमात्र आयल स्टोर रहे पनि एक सयभन्दा बढी व्यापारीहरूले अवैध रुपमा पेट्रोलियम पदार्थको कारोबार गर्दै आएका छन् । जिल्ला सदरमुकाम गोठलापानी, देहिमाण्डौं, पाटन, खोड्पे, गोकुलेश्वर, सिल्लेगाडालगायतका सबै बजारमा दर्जनौँ व्यापारीले खुला रूपमा पेट्रोलियम पदार्थको बिक्री बितरण गर्छन् ।
यसरी पेट्रोलियम पदार्थ बिक्री गर्दा दुर्घटनाको जोखिम बढेकाे छ भने उनीहरूले अत्याधिक महँगो मूल्यमा बिक्री गर्दा उपभाेक्ता मार्कामा परेकाे छन् । यातायात व्यवसायीले गाडी भाडासमेत बढाएका छन् । यस्ता व्यापारीका कारण बजारमा दुर्घटनाको जोखिम बढेको निर्माण व्यवसायी मदनमोहन बिष्टले बताए ।
उनले भने, ‘जिल्लाका व्यस्त बजारहरूमा ड्रममा भरेर डिजल र पेट्रोल राखिएको छ । अति संवेदनशील पदार्थमा सामान्य आगो लागेमा बजार नै सखाप हुने जोखिम छ । औषधि पसल, होटल तथा मदिरा पसल, कपडा पसल, जुत्ता पसल, किराना पसलदेखि तरकारी पसल सम्ममा पेट्रोलको बिक्री हुन्छ ।’
डिजेलको मुल्य प्रतिलिटर १७३ रूपैयाँ भए पनि त्यहाँका व्यापारीले २१० रुपैयाँ प्रतिलिटरमा बेच्दै आएकाे उनले बताए । सरकारले पेट्रोलको मूल्य १८५ ताेकेकाेमा उनीहरूले २२० रूपैयाँ लिने गरेका छन् ।
बैतडीको सतबाँजमा रहेको एकमात्रै भण्डारी आयल स्टोरले भने डिजल मात्रै बेच्ने गरेको छ । उक्त आयल स्टोरलाई जिल्ला प्रशासनले पटक-पटक पेट्रोलको कारोबार गर्न निर्देशन दिए पनि तीन वर्षदेखि आनाकानी गरिरहेको छ ।
जिल्लाको खोड्पेमा स्थानीय व्यापारी भानु बिष्टले पाँच वर्षअघि नै पेट्रोल पम्प खालेकोमा अझै सञ्चालन अनुमति पाएका छैनन् । अनुमतिका लागि पटक-पटक जिल्लादेखि केन्द्रसम्म धाएका बिष्टले अनुमती नपाएपछि पेट्रोल पम्पमा गरेको करिब एक करोड लगानी खेर गएको छ । तर जिल्लामा अर्को पम्प नहुँदा उपभोक्ता भने मारमा परेका छन् ।
जिल्लामा सञ्चालीत भण्डारी आयल स्टोरलाई पेट्रोलको कारोबारका लागि त्रिपक्षीय सहमति गरेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए ।
उनले भने, ‘भण्डारी आयल स्टोर र नेपाल आयल निगमसँग हामीले संयुक्त छलफल गर्दा स्टोरका तर्फबाट वातावरणीय प्रभावका कारण घाटा हुने कुरा आएपछि निगमले पेट्रोल मूल्यमा ०.२४ प्रतिशत घाटा व्यहोर्ने जानकारी गराएकाे छ ।’
यो निर्णयसँगै उक्त आयल स्टोरले पेट्रोलको कारोबार गरेमा समस्या समाधान हुने उनले बताए । बजारहरूमा अवैध रूपमा पेट्रोलियम पदार्थको कारोबार भइरहेको विषयमा भने केही व्यापारीसँग आयल निगमको अस्थायी अनुमति रहेको भारती बताउँछन् ।
उनले भने, ‘बजार अनुगमनका क्रममा हामीले प्रश्न गर्दा एक/दुई जनासँग पम्पमा पेट्रोल नआएसम्मका लागि कारोबार गर्न पाउने कागज छ । तर पम्पले पेट्रोल ल्याएमा उनीहरूको कारोबार बन्द हुन्छ । अन्य व्यापारीहरू आफ्नै निजी प्रयोगका लागि पेट्रोलियम पदार्थ ल्याएर राखेको बताउँछन् ।’
अहिले जिल्लामा रहेको आयल स्टोरलाई सुचारू गर्न पहल गर्ने भारतीको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij