वेबटिभी खबर
काठमाडौं । नेपालमा एक वर्षमा साढे तीन अर्ब रूपैयाँभन्दा बढीको सुर्ती र सुर्तीजन्य पदार्थ विभिन्न देशबाट आयात भएको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा मात्र विभिन्न देशबाट नेपालमा ३ अर्ब ६९ करोड २७ लाख ८९ हजार रूपैयाँको सुर्ती र सुर्तीजन्य पदार्थ भित्रिएको छ ।
गत वर्ष सुर्ती मात्र २ अर्ब ९८ करोड ४१ लाख ६५ हजार रूपैयाँको नेपाल भित्रिएको विभागले जनाएको छ । सोही अवधिमा ३ करोड ८८ लाख ३८ हजार रूपैयाँको विभिन्न विदेशी चुरोट भित्रिएको छ ।
पछिल्लो समय नेपालमा हुक्काको पारखीहरू पनि बढ्दै गएको विभागको तथ्यांकले देखाउँछ । गत वर्ष ८ करोड ७८ लाख १४ हजार रूपैयाँको ‘हुक्का फ्लेवर’ भित्रिएको विभागले जनाएको छ ।
विभागका अनुसार भारत, चीन, हङकङ, ताइवान, कम्बोडिया, जर्मनी, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, फिलिपिन्स, सर्विया, युनाइटेड अरब इमिरेट्स, जोर्डन, अमेरिका, मलेसिया लगायतका देशबाट नेपालमा चुरोट, सुर्ती र सुर्तीजन्य पदार्थ नेपाल आउने गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालमा ३ अर्ब १८ करोड ७० लाख ६६ हजार रुपैयाँको चुरोट, सुर्ती र सुर्तीजन्य पदार्थ विभिन्न देशबाट भित्रिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij