वेबटिभी खबर
कालीकोट । कालीकोटको स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीको बीउ खरिद गर्न व्यापारी घरमै पुग्ने गरेका छन् ।
कालीकोटमा उत्पादन हुने रैथाने अन्नबाली सिमी, फापर चिनो, कागुनो, स्याउ, ओखरलगायतका खाद्यान्न खरिद गर्न व्यापारी घरघरमा पुग्ने गरेका हुन् ।
रैथाने अन्नबालीलाई सेतो चामलसँग व्यापारीले साट्ने गरेको बताइएको छ । एक किलो बीउ बराबर दुई किलो सेतो चामल दिने गरेको तिलागुफा नगरपालिका-४ का पूर्ववडाध्यक्ष खड्कबहादुर शाहीले बताए ।
यहाँ उत्पादन हुने अन्नबालीको बीउको माग देशका विभिन्न ठाउँमा बढ्दै गएका कारणले व्यापारीले फल्नुभन्दा अगाडि नै खरिद गर्ने गरेको खाँडाचक्र नगरपालिका-८ का पाँखाका रेशम मल्लले जानकारी दिए ।
‘अन्नबाली उत्पादन नहुनुभन्दा अगाडि नै व्यापारी आएर पैसा दिएर जान्छन्’, उनले भने । कालीकोटमा उत्पादन हुने रैथाने अन्नबाली स्याउ, मार्सी चामल, सिमी, उवा, जौ, फापर, आलु लगायतका बस्तु नेपालका प्रमुख शहरमा निर्यात हुने गरेको खाँडाचक्रका नगर प्रमुख कमलबहादुर शाहीले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij