Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

पर्वतमा रासायनिक मलको अभाव

पर्वतमा रासायनिक मलको अभाव

  • 404
    SHARES
  • पर्वतमा रासायनिक मलको अभाव

    पर्वत । रासायनिक मल विनै धान रोपाइँ गरेका जिल्लामा धान गोड्ने बेलासम्म मल नपाउँदा किसान निरास बनेका छन् । रासायनिक मल हाल्न नपाउँदा धान पहेँलिन थालेपछि किसान चिन्तित बनेका हुन् ।

    बिना मल रोपाइँ गरिएकोमा नियमित वर्षा पनि नहुँदा धान सुकेको थियो । अहिले धान गोड्ने बेला भइसक्दा पनि किसानले अझै मल नपाउँदा किसान निराश भएका छन् । पर्वतमा पर्याप्त मल आयात नहुँदा कृषकले आवश्यकताअनुसार मल पाउन नसकेका हुन् ।

    जिल्लामा मल ढुवानीको आधिकारिक निकाय कृषि सामग्री केन्द्रले माग अनुसार मल नआउँदा कृषकलाई आवश्यकताअनुसार वितरण गर्न नसकिएको जनाएको छ । केन्द्रको तथ्यांकअनुसार जिल्लामा वर्षेनी एक हजार टन युरिया र पाँच सय टन डीएपी मलको माग हुन्छ ।

    मागको आधाभन्दा धेरै वर्षको अन्तिम चौमासिकमा खपत हुने गरेको छ । तर चालु वर्षको अहिलेसम्म एक सय ८९ टन युरिया र एक सय २६ टन डीएपी मात्रै ढुवानी गरेर वितरण गरेको केन्द्रप्रमुख बिपीनप्रसाद शर्माले बताए ।

    जिल्लामा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मलको बिक्री वितरण गर्दै आएका छन । साल्ट ट्रेडिङको कुश्मास्थित बिक्री केन्द्रका अनुसार करिब एक टन मल आएकोमा सीमित किसानले लगेपछि दुई दिनमै सकिएको जनाएको छ ।

    ‘मलको माग कति थियो कति’, साल्ट ट्रेडिङ कर्पोरेसनको बिक्रेता एलिजा पुरीले भनिन्, ‘पुर्‍याउनै सकिएन । अब कहिले आउने हो टुंगो छैन् ।’ कृषि सामग्री कम्पनीका बिक्रेता रमेश पौडेलका अनुसार युरिया र डीएपी मल वीरगन्जसम्म आइपुगेकाले अब एक साताभित्रै पर्वतका किसानलाई बिक्री गर्न सकिने बताए ।

    ‘अब गुणस्तर परीक्षणलगायत केही प्रक्रिया पूरा गरेर ल्याउने हो’, उनले भने, ‘त्यसो गर्दा पाँचदेखि सात दिनभित्र किसानलाई वितरण गर्न सकिन्छ ।’ मकै छरेदेखि मल नपाइएको कृषकहरूको गुनासो छ ।

    ‘मल अभावकै कारण अघिल्ला वर्षजस्तो मकै राम्रो भएन,’ बिहादी-२ बर्राचौरका मानबहादुर कुँवरले भने, ‘धान रोप्ने बेलामा पनि पाइएन ।’ फलेवास नगरपालिका-४ का बिदुर लामिछानेले दिनभर लाइन बसेर पाँच किलो मात्रै मल लिएर फर्किएको बताए ।

    ‘३० किलो युरिया चाहिएको थियो’, उनले भने, ‘कोटा सकिएको रहेछ । पाँच किलो ल्याएर केमा सुघाउने ? अरू मल आएपछि एकै पटक छरौला भनेर राखेको छु ।’ केहि दिन अघि कुश्मा बजारमा सीमित मात्रामा आएको केही बोरा मल लिन किसानको घुँईचो लागेको थियो ।

    विगतका वर्षमा किसानले मागेजति मल गाउँमै पुर्‍याएर वितरण गर्दै आएका बिहादी गाउँपालिका-३ रानीपानीका रामु पराजुलीले ६ महिनायता मल नपाइएको गुनासो गरे । नमुना कृषि सहकारी संस्थामार्फत निःशुल्क ढुवानी गरी गाउँभरि मल वितरण गर्दै आएका पराजुलीले यो वर्ष मल अभावकै कारण वितरण गर्न नपाएको बताए ।

    ‘मैले धेरै पटक कृषि सामग्री संस्थामा सम्पर्क गरें,’ उनले भने, ‘मल छैन भनेपछि त्यो कामै छोडिदिएँ ।’ मल अभावकै कारण जिल्लाभरका किसानले व्यावसायिक तरकारीसमेत लगाउन पाएका छैनन ।

    कतिपय किसानले मल छरेर धान गोड्ने भन्दै कुरेर बसेका छन । ‘मल नपाएर मकै पनि भएनन्,’ कुश्मा-९ का पुनाखर पराजुलीले भने, ‘धान जस्तो रोपेको हो, जस्ताको त्यस्तै छ ।’ रासायनिक मल छर्ने गरेपछि गोठेमलले मात्रै खेती नहुँने गरेको कृषकहरूको गुनासो छ ।

    मुख्यगरी चैतदेखि भदौसम्म किसानलाई बढी रसायनिक मलको आवश्यकता पर्ने भएपनि जिल्लामा पर्याप्त मल नपाउँदा कृषकहरू समस्यामा परेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    पर्याप्त वर्षा नहुँनु, समयमै रोपाई नहुनु र कृषकले पर्याप्त रासायनिक मल नपाउनाले यस वर्ष धान उत्पादनमा धेरैनै गिरावट आउने देखिएको ज्ञान केन्द्रका प्रमुख मनिता थापाले जानकारी दिइन् । 

  • सम्बन्धित विषय:

  • # मल
  • # अभाव

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij