Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

पुरानै लयमा फर्किदै धार्मिक पर्यटन क्षेत्र

पुरानै लयमा फर्किदै धार्मिक पर्यटन क्षेत्र

  • 283
    SHARES
  • पुरानै लयमा फर्किदै धार्मिक पर्यटन क्षेत्र

    म्याग्दी । विगत दुई वर्ष कोरोना महामारीका कारण सुस्ताएको धार्मिक पर्यटन क्षेत्र म्याग्दीमा पुरानै लयमा फर्किन थालेको छ ।

    images

    पश्चिम नेपालको पशुपतिनाथका नामले चर्चित म्याग्दीको प्रसिद्ध गलेश्वरधाममा साउन महिनामा मात्र सवा लाख धार्मिक पर्यटक आएका र अन्तिम सोमबार एकैदिन ३० हजारभन्दा बढी भक्तजनले दर्शन तथा पूजाआजा गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।

    बेनी नगरपालिका-९ गलेश्वरस्थित रहेको गलेश्वर धाम पछिल्लो समय धार्मिक पर्यटकको आकर्षकस्थल बनेको उनको भनाइ छ ।

    यसवर्ष साउन महिनामा पाँच सोमबार परेकोमा गलेश्वरमा म्याग्दीसहित पर्वत, बाग्लुङ, कास्की, चितवन, नवलपुर, नवलपरासी, बुटबल, भैरहवा, काठमाडौं, नेपालगञ्ज, बर्दिया र बझाङ जिल्लाबाट भक्तजन दर्शन गर्न आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

    साउने सोमबारमा गलेश्वर शिवालयमा भक्तजनलाई लक्षित गरेर विभिन्न १९ उपसमिति गठन गरी उनीहरूलाई सहजरूपमा पूजाअर्चना गर्ने व्यवस्थापन मिलाइएको थियो । अन्तिम सोमबार विगतका चार सोमबारमा भन्दा पनि सबैभन्दा धेरै भक्तजनले मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका थिए ।

    पाँच सोमबार पर्नुका साथै गएको दुई वर्ष कोरोनाको कारणले पूजाअर्चना गर्न नपाएका भक्तजनले यसवर्ष गलेश्वर पुगेर पूजा गरेका छन् । यसवर्ष अन्तिम सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाबाट ३० हजारभन्दा बढी भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

    पछिल्लो पटक गलेश्वर क्षेत्रमा भक्तजनलाई लक्षित गरेर विभिन्न धार्मिक पूर्वाधार निर्माण गरिएपछि मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनको संख्यामा वृद्धि भएको छ । बेनीका महिला उद्यमी हिराँदेवी कँडेलले मनोकामनासहित परिवारमा सुख, शान्तिको कामना गर्दै गलेश्वरको दर्शन गरेको बताइन् ।

    प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रूपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा पछिल्लो पटक ११ गौमुखी धारा जडान गरिएको छ । गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर पवित्र कालीगण्डकी नदीको गंगाजलले स्नान गर्ने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि हुँदै गएको छ ।

    मन्दिरमा संकलित भेटी पूर्वाधार विस्तार, ज्येष्ठ नागरिक तथा कर्मचारी व्यवस्थापनसहित विभिन्न धार्मिक कार्यमा खर्च गर्ने गरिन्छ । साउने सोमबार हिन्दू महिलाको लागि विशेष दिन मानिन्छ ।

    पवित्र कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ ।

    सत्ययुगमा सतीदेवीले अग्नीकुण्डमा हाम फालेर देहत्याग गरेपछि उनको मृत शरिर बोकेर शिव महादेवले पृथ्वीको भ्रमण गर्ने क्रममा गलेश्वरमा आएर गलापतन भएको हुँदा गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology