Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

अपर अरुणबाट असर परेका क्षेत्रको मुआब्जा दर तोकियो

अपर अरुणबाट असर परेका क्षेत्रको मुआब्जा दर तोकियो

  • 439
    SHARES
  • अपर अरुणबाट असर परेका क्षेत्रको मुआब्जा दर तोकियो

    संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुणबाट असर पर्ने क्षेत्रको मुआब्जा दर तोकिएको छ ।

    images

    अपर अरुण जलविद्युत् आयोजनाले भोटखोला गाउँपालिका-२, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोला गाविसको जग्गाको मुआब्जा दर निर्धारण गरेको हो । एक हजार ६१ मेगावाट जलविद्युत् उत्पादन क्षमताको अपर अरुण आयोजना नेपाल सरकारले बनाउने गरी निर्माण कार्य अघि बढेको छ ।

    उत्तर दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया-६को जमिन प्रतिरोपनी १५ लाख मुआब्जा निर्धारण गरिएको छ । कोसी राजमार्गले छोएको तर बस्ती नभएका हटिया-६ को जग्गा प्रतिरोपनी १० लाख निर्धारण गरिएको छ ।

    जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ बमोजिम मुआब्जा निर्धारण समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो । यस्तै हटिया ८, ९ र चेपुवा १ को अलैंची बालीसहितको जग्गा प्रतिरोपनी ९ लाख ५० हजार र चेपुवा १, हटिया ८ र ९, पावाखोला ३ का अलैँची बाली नभएको पाखा बारीको प्रतिरोपनी ७ लाख कायम गरिएको छ ।

    जिल्लामा मुआब्जा निर्धारण समितिको संयोजक प्रमुख जिल्ला अधिकारी रहने व्यस्था छ । अपर अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको छ । जलविद्युत् आयोजनाको लागि भोटखोलामा दुई हजार ५०० रोपनी जग्गा अधिग्रहण गरिँदै छ ।

    आयोजना निर्माणको कार्य दुई वर्ष पछिदेखि सुरु हुने भएको छ । आयोजनाको सम्पूर्ण संरचना भोटखोलाको वडा नं-२ र ४ मा हुनेछ । सरकारको स्वामित्व रहेको अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले उक्त जलविद्युत् आयोजना बनाउन लागेको हो ।

    जलविद्युत् आयोजनाको अनुमानित लागत २ खर्बभन्दा बढि रहेको छ । २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ । हाइड्रोपावर निर्माण सुरु भएको ६ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ ।

    आयोजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइनेछ । आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले करिब ६८ प्रतिशत लगानी गर्ने भएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology