Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

काठमाडौं महानगरले विद्यालयलाई दिएन दिवा खाजाको पैसा, डेढ करोड फ्रिज

काठमाडौं महानगरले विद्यालयलाई दिएन दिवा खाजाको पैसा, डेढ करोड फ्रिज

  • 2.2K
    SHARES
  • काठमाडौं महानगरले विद्यालयलाई दिएन दिवा खाजाको पैसा, डेढ करोड फ्रिज

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयलाई दिवा खाजा बापतको पैसा दिएकाे छैन । विद्यालयले पाउनु पर्ने पैसा काठमाडौं महानगरपालिकाले समयमै नदिँदा बजेट फ्रिज भएको छ । महानगरले गत आर्थिक वर्षको फागुनदेखिको पैसा विद्यालयलाई नदिएको हाे ।

    करिब पाँच महिनादेखि पैसा नपाउँदा विद्यार्थीलाई खाजा खुवाउन समस्या भएको प्रदर्शनी मार्गस्थित पद्मोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले बताए । उनका अनुसार पद्मोदय माविले महानगरपालिकाबाट दिवा खाजा बापतको करिब ६ लाख रूपैयाँ लिनुपर्ने छ । यो पैसा गत फागुनदेखि आसार मसान्तसम्मको हो ।

    दिवा खाजाको पैसा निकासाको लागि समयमै सबै प्रमाण पुर्‍याएर महानगरको शिक्षा विभागसँग माग गरे पनि पैसा नपाएको उनको भनाइ छ । उनले भने,‘आन्तरिक स्रोत भएका विद्यालयले जेनतेन विद्यार्थीहरूलाई खाजा खुवाइरहेका छन् । स्रोत नभएकालाई समस्या भएको छ ।’

    यसैगरी त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माध्यमिक विद्यालयले पनि महानगरपालिकाबाट दिवा खाजा बापतको करिब १० लाख रूपैयाँ लिन बाँकी रहेको प्रधानाध्यापक हेरम्बराज कंडेलले बताए ।

    विश्वनिकेतन माविले पनि गत फागुन महिनाबाटै पैसा पाएको छैन । उनका अनुसार नमुना विद्यालय बापत पाउनुपर्ने ३२ लाख रूपैयाँसमेत विश्वनिकेतन माविले पाएको छैन ।

    महानगरले समयमै पैसा निकासा नगर्दा गत आर्थिक वर्षको उक्त पैसा फ्रिज भएको प्रधानाध्यापक कंडेलले बताए । उनले भने, ‘अहिलेसम्म विद्यार्थीलाई खाजा खुवाउन क्यान्टिनलाई आफैं व्यवस्थापन गर्न भनेका छौँ । तर अब क्यान्टिनले पनि सकिँदैन भन्ने थालेको छ ।’

    महानगरका सामुदायिक विद्यालयले पाउनुपर्ने दिवा खाजा बापत उक्त पैसा गत आर्थिक वर्षको हो । तर महानगरको लापरबाहीका कारण विद्यालयले पाउनुपर्ने पैसा फ्रिज भएको हो ।

    विद्यालयले समयमै प्रमाण पुर्‍याएर आवश्यक कागजात दिँदा पनि बजेट फ्रिज भएर जानुबाट महानगरपालिकाको लापरबाही पुष्टि हुने प्रधानाध्यापकको भनाइ छ ।

    महानगरभित्र ९२ वटा सामुदायिक विद्यालय छन् । महानगरले यी सबै विद्यालयलाई दिवा खाजा बापतको पूरा पैसा दिएको छैन । संघीय सरकारले गत आर्थिक वर्षसम्म दिवा खाज कार्यक्रमका लागि ५ कक्षा सम्मका विद्यार्थीलाई प्रतिविद्यार्थी दैनिक १५ रूपैयाँका दरले पैसा उपलब्ध गराउँदै आएको थियो ।

    आरोप प्रत्यारोपमा महानगरका कर्मचारी

    गत आर्थिक वर्षको दिवा खाजा बापतको पैसा फ्रिज भएर फिर्ता जानुमा काठमाडौं महानगरपालिकाका कर्मचारीले एक अर्कालाई दोष लगाएर पन्छिने गरेका छन् । आरोप प्रत्यारोप लगाएका छन् । महानगरको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदी आफूले समयमै आवश्यक कागजात महानगरको प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल समक्ष बुझाए पनि विद्यालयले पैसा नपाएको बताउँछन् ।

    उनका अनुसार दिवा खाजा र पाठ्यपुस्तकको करिब डेढ करोड रूपैयाँ फ्रिज भएर संघीय सरकारमा फिर्ता गएको छ । विद्यालयलाई पैसा निकासाको लागि शिक्षा विभागको तर्फबाट समयमै आवश्यक कागजात महानगरपालिकामा पुर्‍याएको सुवेदीको भनाइ छ । तर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत पौड्यालले भने असार २४ गतेसम्म शिक्षा विभागबाट पैसा निकासाका लागि कुनै माग नभएको बताउँछन् ।

    उनले भने, ‘असार २४ गतेसम्म पैसा निकासका लागि कुनै माग आएको छैन । २५ र २६ गते सार्वजनिक बिदा थियो । त्यसकारण समयमै पैसा निकासा नहुँदा बजेट फिर्ता गर्‍याे ।’ फिर्ता गएको पैसा संघीय सरकारसँग माग गरिएको र फिर्ता आएपछि सबै विद्यालयलाई बाँकी पैसा दिइने अधिकृत पौड्यालले बताए ।

    विद्यालयले पाठ्यपुस्तकको २५ प्रतिशत पैसा पाएनन्

    महानगरपालिकाले पाठ्यपुस्तक बापतको करिब २५ प्रतिशत पैसा सामुदायिक विद्यालयललाई दिएको छैन । महानगरले शैक्षिकसत्र सुरुमा पाठ्यपुस्तको लागि ७५ प्रतिशत पैसा दिएपनि बाँकी पैसा नदिएको प्रधानाध्यापक नारायणप्रसाद गौतमले बताए । उनका अनुसार महानगरबाट पद्मोदय माविले करिब ६० हजार रूपैयाँ लिन बाँकी छ । यो पैसा पनि महानगरले समयमै निकासा नगर्दा फ्रिज भएर फिर्ता गएको छ । महानगरभित्रका कुनै पनि सामुदायिक विद्यालय पाठ्यपुस्तक बापतको बाँकी २५ प्रतिशत पैसा नपाएको उनले बताए ।

    २ वर्षदेखि सेनिटरी प्याड वितरण बन्द

    विगत दुई वर्षदेखि महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूले सेनिटरी प्याड पाउन सकेका छैनन् । संघीय सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्राहरूलाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराएपनि प्याड निर्माण कम्पनी र महानगरको विवादका कारण छात्राहरू उक्त सुविधाबाट बञ्चित हुनपरेको हो ।

    महिनावारीकै कारण विद्यालय छाड्ने समस्या न्यूनिकरण गर्न संघीय सरकारले २०७६ सालदेखि यो कार्यक्रम देशभरका सबै सामुदायिक विद्यालयमा लागू गरेको थियो । तर काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूले २०७७ सालदेखि सेनिटरी प्याड नपाएको प्रधानाध्यापक हेरम्बराज कंडेलले बताए । प्याड नहुँदा छात्राहरू महिनावारी भएको समयमा विद्यालय छाड्न थालेको उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij