वेबटिभी खबर
भोजपुर । बहुउपयोगी अन्नकोरूपमा रहेको कोदो खेतीमा भोजपुरका किसानको आकर्षण घट्दै गएको छ ।
नेपालको चौथो मुख्य बालीकारूपमा रहेको कोदोबाट राम्रो आम्दानी नभएपछि किसानमा यसको खेतीप्रति आकर्षण घट्दै भएको हो । यहाँका अधिकांश ठाउँमा कोदो फल्ने भए पनि पछिल्लो समय कमै मात्र किसानको रोजाइमा यो बाली पर्ने गरेको छ ।
आफूले खानका लागि सामान्यरूपमा खेती गरे पनि व्यावसायिकरूपमा कोदो खेती नगरेका किसानले यसबाट जीवनयापन गर्न सक्ने अवस्था नरहेको बताउँछन् । परम्परागत तरिकाले केही किसानले मात्र यसको खेती गरिरहेका छन् ।
कोदोबाट खास आम्दानी नहुने तथा खेती गर्न झन्झटिलो हुने भएकाले यसको खेती कमी हुँदै आएको टेम्केमैयुङ-७ कोटका कृषक धनबहादुर प्रधानले बताए । विगतका वर्षमा धेरै किसानले खेती गर्ने गरेकोमा पछिल्लो समय छाड्दै गएको उनको भनाइ छ ।
‘पछिल्लो समय हाम्रो क्षेत्रमा कोदो खेती घट्दै गएको छ’, कृषक प्रधानले भने, ‘कोदो खेतीमा कमैको मात्र रुचि देखिन्छ । कोदो खाने चलन गाउँघरमा घट्दै गएको छ । विगतका दिनमा जस्तो उत्पादन पनि हुन् ।’
कोदो स्थानीय बजारमा प्रतिपाथी १ सय ६० मा बिक्री हुने गरेको छ । आफ्नो बारीमा उत्पादन भएको कोदो स्थानीय सौर्य बजार लगेर बेच्ने गरेको उनले जानकारी दिए । मानिसले ढिँडो वा रोटी बनाएर खानेभन्दा पनि जाँडरक्सी बनाउन मात्र बढी प्रयोग हुने गरेको छ ।
दसैँ, तिहार, किरात राईहरुको उधौली, उभौलीलगायत चाडमा बढी कोदोको माग हुने कृषक प्रधानको भनाइ छ ।
उनले भने, ‘यसको परिकार बनाएर खाने चलन कम छ । कहिलेकाही मानिसले ढिँडो बनाएर खान्छन् तर गाउँघरमा दैनिकरूपमा ढिँडो, रोटीलगायत परिकार बनाएर खाने चलन घट्दै गएको छ । खास गरेर जाँडरक्सी बनाउनका लागि नै कोदोको खोजी हुने गरेकामा चाडबाडको समय बाहेक अरु समयमा खास कोदोको खोजी हुँदैन ।’
वार्षिकरूपमा आफूले १० देखि १२ मुरीसम्म कोदो फलाउँदै आएको र अहिले गाउँमा करिब २० देखि ३० मुरीको हारहारीमा मात्र कोदो उत्पादन हुने गरेको छ । ‘खासमा कोदो खानुको फाइदा थाहा नभएर पनि खेतीमा रुचि देखिँदैन’, उनले भने ।
‘सहर बजारबाट सहजरूपमा चामल आउने अवस्था छ । मानिस त्यसैलाई मिठो मानेर खान्छन् तर मैले भने कोदो उत्पादन हुने क्षेत्र घटाएको छैन । दैनिकरूपमा उपभोग गर्छु । यसको महत्वका बारेमा जानकारी दिएर उत्पादनमा जोड दिन आवश्यक छ । यस्तै अवस्था हो भने कोदो लोप हुने अवस्था पनि आउन सक्छ ।’
खाद्य सुरक्षा तथा स्वास्थ्यको दृष्टिकोणले कोदोलाई महत्वपूर्ण बालीकारूपमा लिइन्छ । यसलाई ढिँडो, रोटी, सातु, लिटो, खोलेलगायत परिकार बनाएर खान सकिने स्थानीय किसानको भनाइ छ ।
कोदोको खोलेलाई चिसोका कारण हुने रोगको औषधिकारूपमा लिन सकिन्छ । चिसोले सताए कोदोको खोले खाएमा ठिक हुने उनीहरू बताउँछन् । केही सिमित कामका लागि मात्र खोजी हुने भएकाले कोदो खेतीमा किसानको रुचि कम हुँदै गएको टेम्केमैयुङ-६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए ।
आफ्नो वडाका धेरै मानिसले कोदो खेती गर्न छाड्दै गएको उनको भनाइ छ । किसानमा परम्परागतरूपमा हुँदै आएको कोदोलगायत बालीको विकल्पमा अन्यबाली लगाउने चलन बढेको छ ।
‘मानिसले वैकल्पिक बालीको खोजी गर्ने भएकाले कोदोप्रति कम रुचि देखिन्छ’, वडाध्यक्ष नेपालले भने, ‘आठ, दश वर्षअघिसम्म प्रशस्त कोदो उत्पादन हुन्थ्यो । त्यसको खपत यही नै हुने गरेको थियो तर अहिले यो अवस्था छैन । सामान्यरूपमा खेती गरे पनि धेरै मानिसले कोदो रोप्न छाडेको अवस्था छ ।’
जिल्लामा ६ हजार हेक्टर कोदोबालीका लागि खेतीयोग्य जमिन रहेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । व्यावसायिकरूपमा किसानले खेती गर्न छाड्दै गएको ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास अम्गाईले बताए ।
अहिले किसानले गरिरहेको कोदोखेती निर्वाहमुखी मात्र रहेको उनको भनाइ छ । कोदोको महत्वलाई नबुझेर नै किसानले खेती गर्न छाडेको देखिन्छ । कोदो खानु स्वास्थ्यका लागि अति लाभदायक छ । तौल घटाउन पनि कोदो खान राम्रो मानिन्छ ।
कोदो खाएको लामो समयसम्म भोक नलाग्ने भएकाले र तौल नियन्त्रणमा सहयोग पुग्ने भए पनि ग्रामीण भेगका किसानलाई कोदोका फाइदाका विषयमा जानकारी नहुँदा खेती कम भएको हुन सक्ने सूचना अधिकारी अम्गाईंले बताए ।
‘कोदो खेतीमा किसानको खास उत्साह देखिँदैन’, उनले भने, ‘यसको फाइदाका विषयमा जानकारी नहुँदा पनि खेती घट्दै गएको देखिन्छ । यसलाई व्यवसायीकरण गर्नसके किसानलाई पनि लाभ पुग्ने थियो तर अहिलेको खेती प्रणाली निर्वाहमुखी मात्र देखिन्छ ।’
मधुमेह तथा मुटुका बिरामीका लागि कोदोको रोटीलगायत परिकार लाभदायक मानिन्छ । कोदोमा धेरै मात्रामा नियासिन हुने भएकाले शरीरमा कोलेस्ट्रोलको मात्र कम हुने सूचना अधिकारी अम्गाईंको भनाइ छ ।
कोदोमा हुने क्याल्सियमले हाड र यसमा हुने आइरन तत्वले रगतको कमीले हुने रोगबाट बचाउने गर्दछ । कोदो समुन्द्री सहतबाट पाँच सय मिटरदेखि दुई हजार चार सय मिटरसम्म खेती गर्न सकिन्छ । कोदो तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै हावापानी हुने गर्दछ।
कोदोखेती गर्दा धेरैजसो स्थानीय जातको प्रयोग हुने भएकाले उन्नत जातको तुलनामा उत्पादकत्व कम हुने कृषि ज्ञान केन्दले जनाएको छ । कोदोसँगै रैथाने बालीको संरक्षणमा योजनाबद्धरुपमा काम गर्ने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत जोड दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij