वेबटिभी खबर
काठमाडौं । पर्यटकको उद्धार तथा समन्वयको लागि नेपाल पर्यटन बोर्डले विपद् व्यवस्थापन तथा सञ्चार सेल गठन गरेको छ । कोरोना भाइरसको दोस्रो चरणको संक्रमण बढ्दै जाँदा देशका विभिन्न भागमा जारी गरेको निषेधाज्ञाका कारण अप्ठ्यारोमा पर्ने पर्यटकको उद्धारका लागि सरकारले सेल गठन गरेको हो ।
नेपाल-भारत एयर बबल सम्झौताअनुसार भारतबाट नेपाल आउने यात्रुहरुको होटल क्वारेन्टिन व्यवस्थापन र अनुगमनका साथै पर्यटकहरूको उद्धार तथा समन्वयलगायतका काममा सेलले सहजीकरण गर्नेछ ।
सोहीबमोजिम बुधबार गृह मन्त्रालयको समन्वयमा देशका तीन स्थानबाट बोर्डले पर्यटकहरूको उद्धार गरी काठमाडौं ल्याएको छ । जसअनुसार लाङटाङबाट ५ जना पोलिस, पोखराबाट ४ जना युक्रेनी र लुक्लाबाट २ जना अमेरिकन गरी ११ जना विदेशी नागरिकलाई उद्धार गरी काठमाडौं ल्याएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बुधबारको निर्णयअनुसार बोर्डले हवाइ यात्रुको होटल क्वारेन्टिन मापदण्ड तयार गरी मन्त्रालयबाट सूचीकृत होटलहरूसँग सम्पर्क र समन्वय गरी सहजीकरण गरेको जनाएको छ ।
बोर्डले महामारीको समयमा आवश्यक सूचनाको अभावमा कुनै पर्यटकहरू कतै अलपत्र पर्न नपरोस् भनेर ९८५१२५२६६६ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ ।
देशका विभिन्न भागमा रहेका पर्यटकहरू सम्पर्कमा रहन बोर्डले आग्रह गरेको छ । साथै बोर्डले उद्धारको लागि अनलाइन ट्राभेलर लोकेटरबाट तथ्यांकहरु संकलन गरिरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij