वेबटिभी खबर
जनकपुर । नेपाली कांग्रेसको मात्र नभइ अन्य पार्टीका लागि पनि आदर्श नेता थिए प्रदीप गिरि । नजिकबाट चिनेका नेताहरूले उनलाई सत्य, निष्ठा, चिन्तक तथा विचारकका रूपमा सम्मानपूर्वक लिने गरेका छन् ।
सादा जीवन र उच्च विचारका प्रतिमूर्तिका नेता तथा प्रतिनिधिसभा सदस्य गिरिको निधनबाट मुलुकले एक विशिष्ट राजनीतिज्ञ र समाजवादी चिन्तक गुमाएको यहाँस्थित विभिन्न पार्टीका नेताले बताएका छन् ।
स्वदेशमा मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा पनि आफ्नो व्यक्तित्व उझिल्याउन सफल नेता गिरिको निधनबाट आफूहरूले एक साझा अभिभावक गुमाएको नेताहरूको भनाइ छ ।
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री उमेशकुमार यादव नेता गिरिको निधनबाट मुलुकले ठूलो आदर्श र निष्ठाका धरोहर गुमाएको बताउँछन् ।
‘आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल जनताका प्रिय, बौद्धिक, समाजवादी चिन्तक नेता गिरिको निधनबाट देशलाई ठूलो क्षति भएको छ’, उनी भन्छन्,‘प्रदीप दाइको अभाव हामीलाई सधैँ खडकिरहनेछ ।’
नेकपा माओवादीलाई शान्ति वार्तामा ल्याउन गिरिले ठूलो भूमिका निर्वाह गरेकाे स्मरण गर्दै उनी गिरिको आदर्श, सादा जीवन र उच्च विचारको शैलीलाई सबै दलका नेताले अङ्गिकार गर्नुपर्ने उल्लेख गर्छन् ।
नेता गिरिको निधनले नेपालको राजनीतिक प्रशिक्षक र समाजवादी चिन्तनमा मूल प्रवाह गर्ने व्यक्ति नै गुमेको सिरहास्थित नेकपा एकीकृत समाजवादी पार्टीका नेता सत्यनारायण यादव बताउँछन् ।
‘प्रदीप दाइ अद्भूत ज्ञानको खानी भएको व्यक्तित्व हुनुहुन्थ्यो’, उनी भन्छन् ,‘उहाँको नजिक जाँदा मलाई ज्ञानको भण्डार नै आएको आभास हुनाका साथै प्रस्तुत विचार सुन्दा अति प्रभावित हुन्थे ।’
प्रदीप दाइले विभिन्न विषयमा प्रशिक्षण दिएजस्तै विचार पस्किरहँदा मन आनन्दित हुने नेता यादवको भनाइ छ । त्याग र समर्पणको भाव भएको नेता गिरिलाई आफूले नेता भन्दा पनि बौद्धिक, तार्किक र दार्शनिक व्यक्तित्वको रूपमा लिएको नेकपा एमालेका राष्ट्रिय परिषद् सदस्य तथा लहान नगरपालिका पूर्वप्रमुख मुनी साहको भनाइ छ ।
‘प्रदीप दाइको निधनले यस नगरपालिकालाई अपूरणीय क्षति भएको छ’, उनी भन्छन्,‘प्रदीप दाइ यही नगरपालिकावासी भएको नाताले उहाँ जतिबेला पनि नगरक्षेत्रको विषयमा चिन्तन गर्नुहुन्थ्यो, विकासका लागि नयाँ–नयाँ सोच र सल्लाह दिँदै आउनुभएको थियो ।’
मधेसी जनताको हक र अधिकारका लागि प्रष्ट धारणा राख्ने नेताको रूपमा देखिनुभएका नेता गिरिको निधनले मधेस मुक्तिको आन्दोलनमा धक्का लागेको जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष राकेश रोशन गुप्ता बताउँछन् ।
‘मधेश आन्दोलनलाई सफल बनाउन प्रदीप दाइको महत्त्वपूर्ण योगदान थियो’,उनी भन्छन्,‘संसद्मा बोलेर होस् वा विभिन्न लेख रचनाको माध्यमबाट मधेस र मधेसीको सवालमा नेता गिरिले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको थियो, उहाँको योगदान अविस्मरणीय छ ।’
लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला इञ्चार्ज राकेश झा प्रदीप गिरि नेता मात्र नभइ सामाजिक चिन्तनको ज्ञानभण्डार भएको प्रतिक्रिया दिन्छन् ।
‘प्रदीप सर सामाजिक चिन्तक र बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो’, उनी भन्छन्, ‘के कांग्रेस, के कम्युनिष्ट सबै पार्टीका नेतालाई समाजवादबारे उहाँ प्रशिक्षण दिनुहुन्थ्यो, धेरै नेता उहाँबाट समाजवाद पढ्दथे ।’
सिरहाको लहान नगरपालिका १४ बस्तीपुर गाउँमा जन्मिएका गिरिको गत शनिबार राति उपचारको क्रममा काठमाडौंमा निधन भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij