वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बाटोमा फोहोर फाल्ने व्यक्तिलाई सिसीटिभीमार्फत पहिचान गरेर कारबाही गरिने चेतावनी दिएका छन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा भएको उपत्यकास्तरीय अपराध अनुसन्धान गोष्ठीमा बोल्दै मेयर साहले बाटोमा फोहोर फाल्नु पनि अपराध भएकाले सिसीटिभी फुटेजमार्फत पहिचान गरेर कारबाही गरिने चेतावनी दिएका हुन् ।
‘अब एक/दुई दिनमा काठमाडौंको सबै फोहोर उठिसक्छ । त्यसपछि पनि कसैले बाटोमा ल्याएर फाल्छ भने त्यस्ता व्यक्तिलाई सिसीटिभीमार्फत पहिचान गरेर कारबाही गरिन्छ । बाटोमा फोहोर फाल्नु पनि अपराध हो ।’
साहभन्दा अघि प्रहरी महानिरीक्षक (आईजी) धिरजप्रताप सिंहले अपराध अनुसन्धानको महत्त्वपूर्ण सहयोगी सिसीटिभी पनि रहेकाले काठमाडौं उपत्यकामा सिसीटिभी पर्याप्त नभएको बताएका थिए ।
‘काठमाडौंमा २५ हजार सिसीटिभी आवश्यक रहेको हामीले पहिचान गरेका छौं । तर अहिले जम्माजम्मी ५ हजार मात्रै सिसीटिभी छन् । यसतर्फ मेयरज्यूको ध्यान जाओस् भन्ने हाम्रो आग्रह छ’, आईजी सिंहले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij