वेबटिभी खबर
काठमाडौं । महोत्तरी बर्दिबास–२ स्थित बर्दिबास अस्पतालले आइसीयू (सघन उपचार कक्ष) सेवा सञ्चालन गर्ने भएको छ ।
काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालले भेन्टिलेटर र आइसीयू सञ्चालनका लागि दक्षजनशक्ति उपलब्ध गराउने भएपछि बर्दिबास अस्पतालमा उक्त सेवा विस्तार गर्न लागेको हो ।
पछिल्ला दिनमा सर्पदंशका गम्भीर प्रकृतिका बिरामी सघन उपचार सेवा नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था छ ।
बर्दिबास नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले गत साउनमै स्वास्थ्य सेवा विभागबाट भेन्टिलेटरसहितका स्वास्थ्य उपकरण पाएपनि जनशक्ति अभावले सेवा सुरु गर्न नसकेको बताए ।
उनले भने, ‘ धुलिखेल अस्पतालसँग भएको सहकार्यले दक्षजनशक्ति पाइने भएको छ । अब अस्पतालमा भेन्टिलेटर सुविधासहितको सघन उपचार कक्ष सञ्चालन हुनेछ ।’
बर्दिबास नगरपालिका र धुलिखेल अस्पतालबीच बर्दिबास अस्पताल सञ्चालनार्थ पाँच बर्षे आयोजनामा सम्झौतासमेत भएको छ ।
ती दुई निकायबीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको विकास र विस्तारसम्बन्धी १० बुँदे सम्झौता भएको हो ।
सम्झौतापत्रमा नगर प्रमुख क्षेत्री र धुलिखेल अस्पतालका सामुदायिक कार्यक्रमका निर्देशक डा.विराज कर्माचार्यले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार स्वास्थ्य सेवा कार्यक्रमको विस्तृतिकरण, प्राविधिक सहयोग, जनशक्तिलाई तालिम, अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाको निश्चितता र गुणस्तर कायम गर्न सहयोग गर्नुको साथै बर्दिबास अस्पतालमा (आइसीयू) सञ्चालनका लागि तत्काल धुलिखेल अस्पतालले दक्ष चिकित्सक र आवश्यक जनशक्ति दिने र आपसी सहकार्य बढाइने उल्लेख छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij