वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले पछिल्ला दिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह 'बालेन' ले गर्दै आएको कार्यप्रति असन्तुष्टी जनाएका छन् ।
पछिल्ला दिन प्रमुख साहले काठमाडौं महानगर भित्र अवैध तरिकाले निर्माण गरिएका संरचना भत्काउने कार्यलाई तीव्रता दिएका छन् । यस्ता कार्यमा उनी आफैँ उपस्थित भएर गर्ने गरेका छन् । यसैप्रति असन्तुष्टी जनाउँदै बस्नेतले साहलाई सामाजिक सञ्जालमा तिखो प्रहार गरेका छन् ।
‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरें खुशी लाग्यो । तपाईंलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सुर्यबिनायक नगरपालिकामा काजमा आउनुहोला,’ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
बिहीबार अल्फा बिटा कम्प्लेक्समा अवैध संरचना भत्काउने क्रममा प्रमुख साह र अल्फा बिटाका सञ्चालकबीच नक्सालाई लिएर भनाभन भएको थियो । पछि अफिस गएर नक्सा ल्याई साहले उक्त संरचना भत्काएका थिए ।
‘तपाईलाई भत्काउने र ध्वसं गरेर हिरो हुन्छु भन्ने लाग्या होला । हाम्रोतिर ध्वसं होइन निर्माणको लहर चलेको छ । यताका डोजरमा मेयर चड्दैनन् ड्राइभर चड्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ्ग सिकेर आउनुहोला,’ बस्नेतले साहलाई निम्तो दिएका छन् । बस्नेतले २/४ सय फेसबुके फ्यान भए भनेर नमात्तिन पनि साहलाई आग्रह गरेका छन् ।
‘बिगतका यस्ता २/४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन् खोज्नै पर्ने भाको छ । गाली गलौजको संस्कृति हाम्रो संस्कृति होइन । त्यसको विकाश र प्रोत्साहनमा अहिले त रमाइलै होला, पछि तपाईका बिरोधीले पनि त्यही शैली अपनाए भने गाह्रो होला,’ बस्नेतले फेसबुकमा लेखेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij