वेबटिभी खबर
काठमाडौं । वातावरण संरक्षणको मुद्दामा सरोकारवालाबीच साझा धारणाका साथ नीतिगत स्पष्टता ल्याउने उद्देश्यले बाग्मती प्रदेश सरकारले ‘प्रदेशस्तरीय वातावरण सम्मेलन’ गर्ने भएको छ ।
सम्मेलनको पूर्व तयारीका क्रममा बाग्मती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्काले आज सरोकारवालासँग छलफल गरेका हुन् ।
काठमाडौँमा आयोजना गरिएको उक्त छलफलमा सरोकारवालाले सम्मेलनका नाममा सम्मेलन गर्नेभन्दा पनि वातावरण संरक्षणमा हस्तक्षेप गर्ने नीति निर्माणमा ध्यान दिनुपर्ने बताए ।
सहभागीले वातावरण संरक्षणमा चुनौती देखिएको फोहरमैला व्यवस्थापन, जलवायु परिवर्तनको असर न्यूनीकरण र जैविक विधिधता तथा वातावरण संरक्षणमा नवीन प्रविधिको अन्वेषण र प्रयोगका विषयमा गहन ढंगको छलफल हुनुपर्नेमा जोड दिए ।
जलवायु परितर्वनको असर तीव्र गतिमा बढिरहेको भन्दै उनीहरूले यसको असरबाट जोगिने उपायका बारेमा सचेत गराउँदै समुदाय स्तरमा अनुकूलनका कार्यक्रम सञ्चालन गरिनुपर्ने बताएका थिए ।
वातावरण संरक्षणका निम्ति बनाइएको कानून, नियम, नीति, साझेदार संस्था तथा अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त प्रतिबद्धताका आधारमा सम्मेलनमार्फत स्पष्ट नीति बनाइनुपर्ने उनीहरूको भनाइ छ ।
बाग्मती प्रदेशलाई वातावरण संरक्षणको क्षेत्रमा अग्रसरताका साथ काम गर्न अवसरका साथै चुनौती पनि रहेको जनाउँदै उनीहरूले सम्मेलनको निष्कर्षले अन्तराष्ट्रिय समुदायलाई पनि घच्घच्याउनुपर्ने बताए ।
वातावरण संरक्षणको मुद्दामा संघ र स्थानीय सरकारका साथै निजी क्षेत्र तथा सरोकारवालालाई एकताबद्ध बनाएर लैजानुपर्ने तथा नीतिगत सुधारका बारेमा सम्मेलनले सहयोग गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
आजको छलफलले सम्मेलन आयोजनाका लागि बाग्मती प्रदेशको वन तथा वातावरण मन्त्रालय मातहतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका प्रमुख जीवनाथ पौडेलको संयोजकत्वमा सात सदस्यीय प्राविधिक समितिसमेत गठन गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij