वेबटिभी खबर
सर्लाही । भातरसँग ५१ किलोमिटर लामो खुला सीमा भएको सर्लाहीमा अहिले कोरोनासँग मिल्दोजुल्दो लक्षणका बिरामी हरेकजसो गाउँमा छन् ।
यस्ताे अवस्था हुँदा पनि न उनीहरुको परीक्षण भएको छ न त पालिकाहरुले त्यसबारे सोधखोज गरेर बुझ्ने कोशिस नै गरेका छन् । बिरामी काेराेना संक्रमित हाे भनेर पहिचान भएमा पनि उपचारको कुनै व्यवस्था छैन् । केही गरी अक्सिजन चाहिने अवस्था आएमा अलग्गै बस्ने आइसाेलेसन पनि छैन् ।
तर, सर्लाहीको हरिवन नगरपालिकाले भने संक्रमण फैलनसक्ने संभावनालाई ध्यानमा राख्दै एक सय बेडको आइसोलेसन निर्माण गरेको छ । आइसोलेसनमा अक्सिजन र चिकित्सकको पनि व्यवस्था गरिएको छ । हरिवन नगरपालिका मेयर गणेश प्रसाईं आफैँ दिनरात खटिएर तीव्र गतिमा आइसोलेसन निर्माण गरिएको हो । अक्सिजनसहितको आइसोलेसन निर्माण गरेपछि अन्य पालिकामा पनि यस्तै आइसोलेसन बनाउन नागरिक तहबाट दवाब बढेको छ ।
कोरोनाको दोस्रो लहरले मुलुक नै आक्रान्त बनेका बेला स्थानीय तहले आफ्ना नागरिकलाई सक्दो स्वास्थ्य सेवा दिने तयारी गर्नु पर्ने हो । सर्लाहीमा २० वटा पालिका भए पनि अरुले भने अझैसम्म संक्रमणा फैलनसक्ने संभावनालाई ध्यानमा राखेर कुनै तयारी गरेका छैनन् ।
जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरीले संक्रमणको अवस्था दिनानुदिन बढ्दै गएकाले सबै तहले तयारी गर्नुपर्ने बताए । ‘हरिवन नगरपालिकाले राम्रो सुरुवात गरेको छ,’ उनले भने, ‘सबै पालिकाहरुले त्यसैअनुसार नागरिकलाई सेवा दिने तयारी गर्नुपर्छ ।’
कोरोना नियन्त्रणका लागि सर्लाहीमा अहिले दैनिक बैठकहरु भइरहेका छन् । तर मौकामा निर्णय गर्न नसकेर समय खेर गइरहेको स्थानीयले गुनासो गरेका छन् । जताततै ज्वरोका बिरामी देखिएकाले समयमै परीक्षण गरेर के भएको पत्ता लगाउनु पर्ने स्थानीयको माग छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij