Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

प्रेम यदि प्रेम भैदिए

प्रेम यदि प्रेम भैदिए

  • बैशाख २५, २०७८ शनिवार ०९:१४ बजे
  • 3.7K
    SHARES
  • प्रेम यदि प्रेम भैदिए

    अँध्यारो दिन, बादलले वरिपरि ढाकेको । सूर्यले आफ्ना किरणहरूलाई छिचोल्न खोज्दै थियो, बादल फेरि आएर पुरै अन्धकार बनाइदिन्थ्यो । फागुन महिना, होलिको दिन । बिहानैबाट बाहिर होहल्ला सुनिन्थ्यो, ‘आजको दिन त हो नि, भोलिबाट कसले खेल्छ र ?’

    images

    कोही यस्तै भन्दै थियो । रोडकै छेउको रुम भएकाले पनि बाहिर मानिसहरू बोलेको प्रस्टै सुनिन्थ्यो । बच्चाहरू केही रङ लिएर हिँड्दै थिए त कोही पिच्कारीले रोडमा हिँडिरहेका मान्छेलाई पानी छ्यापेर रमाइरहेका थिए ।

    बिहानको साँढे नौ बजिसकेको हुन्छ, मानिसहरूको हाँसो र उमंगले उसलाई गिज्याइरहेको झैं लाग्थ्यो। दुई परेला नजोडिइकन नै रात गुजारेकी थिई मायाले ।
    जीवनका अनेकौं अप्ठ्याराहरूलाई आत्मसात गर्दै उकाली-ओरालीहरूको संवेगलाई एउटा गति दिने सोचमा थिई माया ।

    सीधै भनौं मायाले कसैसँग ‘माया’ लगाएकी थिई अजम्बरी । उसलाई लाग्थ्यो जीवनमा जस्तोसुकै परिस्थिति आओस्, मायागर्ने प्रेमी साथमा छ भने अनेक बाधाहरु पनि सजिलै कट्छन् । जीवनका जति पनि तीता-मीठा भोगाइ थिए सजिलै सामना गर्दै आएकी थिई उसले । जति नै दुःख परे पनि अरूलाई नदेखाउने उसको बानी भनौं या बलियो पक्ष, उसको तागत नै उसको प्रेम थियो ।

    मायाले सोचेजस्तै प्रेमी पाएकी थिई । बस् खुसी हुन ठुलो कारण नै चाहिने थिएन । मध्यावर्गीय परिवारमा जन्मिए पनि आफूलाई कमजोर ठानेकी थिइन् उसले । उल्टै परिवारको हौसलाको स्रोत बनेकी थिई माया त । गाउँलेहरू पनि मायाको सकारात्मक सोच र लगनशीलताको बयान गरेर कहिल्यै थाक्दैनथे ।

    बस् यहि नै जिन्दगीको जित थियो उसको लागि । परिवारको भरोसा, छर-छिमेकको प्रशंसा र कामप्रतिको लगावले नै मायालाई सबैकी ‘माया’ बनाएको थियो । उदाहरण बनेकी ऊ बुबाको आँखाको नानी थिई । ‘छोरो’ भन्नुहुन्थ्यो बुबाले उसलाई प्रेमले । सहरको एक छेउमा डेरा थियो, बिहान कलेज र दिउँसो जागिर गरेर दिनचर्या बित्थ्यो उसको । मायाका सपना अनगिन्ति थिए ।

    जीवनलाई स्वर्गझैं बनाउने कल्पना गरेकी ऊ सधै सकारात्मक थिई । कसैले उसलाई भन्ने गथ्र्याे, ‘तिमी अरूभन्दा बेग्लै छौ माया, मैले तिमीलाई पाउनु मेरो पूर्वजन्मको देन हुनपर्छ । म तिमीलाई कहिल्यै मायाको कमी हुन दिनेछैन । ढुक्क हुनु तिमीमसँग सदा खुसी हुनेछौ ।’

    यति सुनेपछि मायाको भुइँमा खुट्टा हुँदैनथ्यो । यति माया गर्ने प्रेमी पाएकोमा उसलाई कुनै कुराको कमी महशुस हुँदैनथ्यो । लाग्थ्यो यो संसार जितेझैैं । माया उसको प्रेममा कति खुसी थिई भन्ने कुरा उसको आँखामा पष्ट झल्किन्थ्यो । हुन पनि हो एउटा केटी मान्छेको लागि योभन्दा ठूलो कुरा के नै हुन सक्छ र ?

    बुवाआमाको लागि जिम्मेवार छोरी, एक असल प्रेमिका, पढाइमा अब्बल र आफ्नो खुट्टामा आफैं उभिएकी, साँच्चै नै उसको जीवन पूर्ण थियो । समय प्रतिकूल थियो, पूरै देश कोरोना महामारीको जञ्जालमा बेरिएको थियो । थाहा थिएन, कुनै पनि बेला बन्द हुन्छ भन्ने । यस्तो अस्तव्यस्त परिस्थितिमा पनि मायाको दिनहरू सामान्य बित्दै थिए, निकै जोश र जाँगर थियो उसमा ।

    सधैझैं दिनभरिको काम सकेर आराम गर्ने तरखर हुँदै गर्दा उसको फोनको घण्टी बज्छ, ‘उम् ३ दिनपछि आज बल्ल फोन, उठाउँदिन मैले पनि जान्या छु सताउन ।’ भित्रभित्रै हर्षले गदगद भएता पनि उसले फोन जानीजानी बेवास्ता गरेकी थिई । घुर्की लगाउन चाहिँ अत्ति सिपालु थिई ।

    ‘प्लिज पिकअप द फोन, आइ निड् टु टक टु यु राइट नाउ’ यस्तो सन्देश मोबाइल स्क्रिनमा देखेपछि कतै बिरामी त परेन भनेर आत्तिँदै भिडियो कल गर्छे । उताबाट कल रिसिभ हुन्छ । ‘के भयो ? आर यु अल राइट ?’ माया सोध्छे । उतापट्टिबाट एकछिन केही जवाफ आउँदैन । 

    ‘बोल्नु न के भयो ? कहाँ हराउनुभयो तीन दिनसम्म ?’ निकैबेरको मौनतालाई तोड्दै उताबाट आवाज निस्किन्छ, ‘माया ! मलाई माफ गर ल, हामी एक हुन सक्दैनौँ ।’ ‘अरे, मजाकगर्न कति आउने है, म रिसाएको छैन क्या यस्तो जोक नगर्नू मसँग ।’ मायाबोल्छे ।

    ‘रियल्लीभन्दै छु, आई ह्याव नो फिलिङ्स फर यु, आई एम् सरी माया, तिमीलाई मैले माया गरेकै थिइनँ । जस्ट अट्र्याक्सन थियो ।’ असह्य भएर फोन काट्छे, विश्वास नलागेर फेरि फोन गर्छे, ‘के तपाईँले मलाई माया नै गर्नुभएको थिएन ?’

    ‘थिएन, रियल्ली सरी,’ उताबाट बोल्छ, ‘इनफ इज इनफ, भगवानले तपाईँलाई कहिल्यै माफ गर्ने छैन ।’ मायाले यति भनेपछि दुवैै तिरबाट फोन कट्छ । त्यो रातमायाको लागि जीवनको सबैभन्दा कालो रात बन्यो । 

    जिन्दगीमा यति धेरै आँसु बगाएको मायाले सायद पहिलो पटक थियो । ‘किन भगवान यस्तो मलाई ? के कमी रह्यो ममा ? कहाँनिर चुकें म ? के गल्ती थियो मेरो ?’ यस्तै यस्तै भावनाहरू आँसुुमा बगाउँदै सूर्य उदाएको थियो त्यस दिन ।

    मायाले नै मान्छेलाई संसार जित्ने आँट दिँदो रहेछ भने जिउने आशा नै टुटाइदिँदो रहेछ मायाले । करिब चार वर्षको प्रेम चार मिनेटको फोनकलमा विलिन भएको थियो । सम्हाल्न पक्कै गाह्रो थियो आफूले आफूलाई ।

    निकै गाह्रो अवस्थाबाट गुज्रिरहेकी माया अगाडि बढ्ने बाटो नै बिर्सेझैं जिउँदो लासझैं बसिरहेको बेलाबुबाको फोन आउँछ घरबाट । ‘छोरो, घर आउने हैन ? साह्रै न्यास्रो भयो एकरातआएर जाउ न । औषधि पनि सकिन लाग्यो ।’

    बुबाले यस्तो भन्ननपाउँदै माया मलिन स्वरमा, ‘हुन्छ बुवा म आउँछु ।’ भन्छे । ‘के भो बा !, किन रूघा लागेझैं सुन्छु त, सन्चो त छ नितिम्लाई ?’ बुबाभन्दै हुनुहुन्थ्यो । ‘हैन बुबा एकदम ठिक छु, चिन्ता नलिनू ।’ 

    एकछिनको मौनतापछि बुबा भन्नुहुन्छ, ‘मेरो छोरो आउने भनेपछि त एक थाल भात बढी रुच्छ मलाई, अहिले फोन राखें है त, ख्याल गर्नु आफ्नो ।’

    यति सुनेपछि माया झसङ्ग हुन्छे । ‘ओहो ! मेरो बुबाआमा कति खुसी र आशावादी हुनुहुन्छ मसँग । योभन्दा ठूलो उपलब्धि के हुन सक्छ जीवनमा ? यस्तै सोच्दै औषधि पसल पुग्छे । एक महिनालाई पुग्ने आौषधि लिएर पुनः कोठातर्फ लाग्छे ।

    ‘बाँच्नका लागि ऊर्जा भनेकै बावुआमा रहेछन् । बाँकी दुनियाँ त बस् दुईदिन रमिता हेर्न आएका थिए जिन्दगीको रंगमञ्चमा । मेरा भावनाहरूको नापतौल गर्न आएको ऊ मेरो मन कुनै प्रयोगशाला थिएन । के सोच्यो, थाहा छैन, जे सोच्यो आफ्नो लागि सोच्यो । यदि मेरो मायालाई कहिल्यै बुझेको थियो भने मैले उसलाई हैन, उसले मलाई प्रेम गर्ने थियो । ठिकै छ । म फेरि उठ्नेछु मेरो परिवारको खम्बा बनेर,’ यतिभन्दै मायाले आफ्नो मोबाइल सदाका लागि बन्द गरी ।

  • सम्बन्धित विषय:

  • # सविना नेपाल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology