वेबटिभी खबर
दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले असहाय, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै नागरिकता दिन थालेको छ । नागरिकताबाट बञ्चित भएका यस्ता व्यक्तिको खोजी गरी घरदैलोमै पुगेर नागरिकता दिन थालेको हो ।
लामो समयदेखि हिँड्डुल गर्न नसक्ने भएर नागरिकता पाउनबाट बञ्चित रहेका महाकाली नगरपालिका-३ बाजका ६६ वर्षीय जयसिंह महरलाई नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिए ।
‘वडा कार्यालयको जानकारीअनुसार महरलाई घरमै पुगेर नागरिकता वितरण गर्न पाउँदा निकै खुसी छौँ, उनले भने, ‘यस्ता व्यक्ति अझै जिल्लामा हुनसक्ने भएकाले सूचना दिएर सहयोग गरौं ।’
यसअघि गत भदौ ८ गते सोही नगरपालिका-८ धापका ४९ वर्षीय रामदत्त जोशीलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो । विगत १५ वर्षदेखि प्यारालाइसिस भएर नागरिकता पाउन नसकेका जोशीलाई सहायक प्रजिअ साउदको टोलीले नागरिकता दिएको हो ।
जिल्ला प्रशासनले जिल्ला सदरमुकामसम्म आउन नसक्नेलाई घरैदैलोमै नागरिकता प्रदान गरिने जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij