वेबटिभी खबर
उदयपुर । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका-४ माल्वासे स्वास्थ्यचौकीमा सात वर्षदेखि पानीको अभाव हुँदा त्यहाँ कार्यरत कर्मचारी शौच गर्न आफ्ना घरतिर वा अन्यत्र जान बाध्य हुँदै आएका छन् ।
कार्यालय समयमा शौच गर्नु पर्यो भने पर रहेको घर वा अन्यत्र जानुपर्ने बाध्यता रहेको कार्यालय सहयोगी रमेश सार्कीले बताए । अहिले स्वास्थ्यचौकीमा अनमीद्वय रिता बराल, विष्णुकुमारी राईलगायत आधा दर्जन कर्मचारीले यस्तो समस्या भोग्दै आएका छन् ।
रिताले भनिन्, ‘आकाशबाट पानी पर्यो भने मात्र आफूहरूलाई स्वास्थ्यचौकीकै शौचालयमा शौच गर्ने अवसर मिल्छ नत्र सधैँ घरै पुग्नुपर्ने बाध्यता छ ।’
आकाशे पानीलाई धुरीको जस्ताबाट बलेसीमा झर्ने अनी पानी पाइपबाट संकलन गरी तल रहेको ट्यांकीमा जम्मा गर्ने गरिएको कारण पानी परेका बेला मात्र स्वास्थ्यचौकीमा शौच गर्न सहज भएको स्वास्थ्यचौकीका कर्मचारी बताउँछन् ।
‘त्यहीँ छानाबाट झरेको पानी उमालेर पिउँछौँ र बाँकी रहेको शौचालयमा प्रयोग गर्छौं, पानीको अभावमा काकाकूल जीवन बिताइरहेको कर्मचारी भन्छन्, ‘पानी नियमित पर्दैन जुन दिनुपर्छ त्यो दिन ट्यांकी भरिन्छ, त्यसले जति धान्छ प्रयोग गर्ने र पानी सकिएपछि गाउँघरतर्फ जाने गरेका छौँ ।’
आठ/नौ वर्षअघि पाइपबाट ल्याएको पानी स्वास्थ्यचौकी माथि रहेको गाउँमा नै खपत हुने भएकाले यहाँ पानीको समस्या भएको स्वास्थ्यचौकीका अनमी बरालले बताएन् ।
उनले भनिन्, ‘जमिनमाथि पाइप बिछ्याएर पानी ल्याइएको छ, गाउँमा नै पानी अभाव छ, धेरै पानी गाउँलेले नै प्रयोग गर्दछन्, बीच-बीचमा बाटो हिँड्ने र पशुचौपाया चराउन जंगल जानेले पाइप नै काटेर स्वास्थ्यचौकीमा पानी नआउने बनाएका छन् ।’
स्वास्थ्यचौकीमा पानीको पाइप मर्मतका लागि बजेट नभएको र सम्बन्धित निकायलाई जानकारी गराउँदा बेवास्ता हुने गरेका कारण लामो समयदेखि स्वास्थ्यचौकीका कर्मचारी र उपचारमा आउने बिरामीले पनि पानीको समस्या, झेलिरहन बाध्य हुनुपरेको स्वास्थ्यचौकीका कर्मचारीको गुनासो छ ।
यस विषयमा गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरले भने, ‘स्वास्थ्यचौकी जस्तो संवेदनशील ठाउँमा पानी नहुनु अत्यन्तै दुःखद् हो, हामी यो समस्या समाधान गर्छौ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij