Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

अन्नपूर्ण आधार शिविरमा पदयात्राका लागि अग्रिम बुकिङ गर्दै विदेशी पर्यटक

अन्नपूर्ण आधार शिविरमा पदयात्राका लागि अग्रिम बुकिङ गर्दै विदेशी पर्यटक

  • 335
    SHARES
  • अन्नपूर्ण आधार शिविरमा पदयात्राका लागि अग्रिम बुकिङ गर्दै विदेशी पर्यटक

    काठमाडाैं । कोरोना कहरका कारण दुई वर्षसम्म प्रभावित अन्नपूर्ण आधार शिविरको पदयात्रा आगामी दिनमा भने बढ्ने आशा जागेको छ ।

    पदयात्राको मुख्य समय आइरहँदा यतिखेर बेलायत, अष्ट्रेलिया लगायतका स्थानबाट अग्रिम बुकिङ हुन थालेपछि व्यवसायी पनि उत्साहित बनेका छन् । आगामी यामका लागि अग्रिम बुकिङहरू आउन थालेको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले जानकारी दिए ।

    पछिल्ला समयमा अन्नपूर्ण आधार शिविरको पदयात्राका लागि बस्न खान उपयुक्त सुविधा सम्पन्न पूर्वाधारहरू बनिरहेको बताउँदै उनले यहाँ आउने पर्यटक सहजरूपमा यस क्षेत्रको पदयात्रा गर्न सक्ने बताए ।

    चार दशक अघिसम्म यस क्षेत्रको पदयात्रा गर्नका लागि यहाँका भेडी गोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता रहेकामा अहिले भने सुविधा सम्पन्न होटेल बनेको र वर्षेनी पूर्वाधार थपिने क्रम बढीरहेको उनले जानकारी दिए ।

    हाल सिनुवाभन्दा माथि नयाँ सात वटा होटेल थपिइसकेका छन् भने अन्य चारवटा बन्ने क्रममा छन् । अघिल्लो वर्षसम्म सो पदमार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरमा २६ होटल चलेकामा हाल ती स्थानमा होटलसहितका पूर्वाधार थपिएको पर्यटन व्यवसायी एवम् समाजसेवी ललित गुरुङले बताए ।

    अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) द्वारा २०४३ देखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डअनुसार विगतमा प्रत्येक होटलमा छ का दरले एक सय ५६ कोठा रहेका थिए ।

    पदमार्ग क्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गर्दै उक्त क्षेत्रमा होटलको क्षमता विस्तारसँगै पूर्वाधार थपका लागि अध्ययन गर्न अन्नपूर्ण गाउँपालिकाले चार वर्ष अघि समिति बनाएर त्यसलाई व्यवस्थित गर्ने प्रयास गरेको थियो ।

    गाउँपालिका वडा नं-१० र ११ का सरोकारवाला सम्मिलित समितिले पूर्वाधार थप लगायत विषयमा अध्ययन गरेको थियो । १९५० जुन ३ तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो ।

    समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलता पछि १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।

    अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार एक सय ३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिकरूपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो ।

    कोरोना कहर अघिसम्म पर्यटकको राम्रो चाप हुने गरेको यस पदयात्रा मार्गमा आगामी दिनमा पदयात्रा पर्यटन पूर्ववत् अवस्थामा फर्कने आशा गरिएको छ । उक्त क्षेत्रका पर्यटन व्यवसायी पनि पदमार्गलाई थप व्यवस्थित गर्नेतर्फ सक्रिय बनेका छन् ।

    स्थानीय सक्रियतामा पदमार्गसँग जोडिएका धार्मिक एवम् सांस्कृतिकस्थलको संरक्षणलाई जोड दिँदै पदमार्ग क्षेत्रको दोभान र हिमालयको बीचमा पूजनीयम बराहको मन्दिर निर्माण अन्तिम चरणमा पुगेको सचिव गुरुङले जानकारी दिए ।

    अन्नपूर्ण पदमार्ग क्षेत्र र यहाँ आउने पदयात्रीलाई पुजनीम् बराहले रक्षा गर्ने विश्वासका साथ पदयात्रामा जाँदा र आउँदा फूल चढाएर हिड्ने प्राचीन परम्परा कायमै छ ।

    कठिन भौगोलिक अवस्थितिमा समुद्री सतहबाट दुई हजार आठ सय मिटर उचाइमा रहेको यहाँको मन्दिर निर्माणका लागि हालसम्म ५५ लाख रूपैयाँ खर्च भइसकेको जनाइएको छ ।

    सेप्टेम्बर १५ बाट सुरु हुने यामका लागि अग्रिम बुकिङ फाट्टफुट्ट आउन थालेको ट्रेकिङ एजेन्सिज एशोसिएसन (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशिलराज पौडेलको भनाइ छ ।

    आगामी दिनमा पर्यटनमा सकारात्मक आशा पलाए पनि बाटोघाटो तथा पर्यटकको बसाइ लम्ब्याउन सक्ने किसिमका पूर्वाधारको अझै कमी रहेको उनले बताए । बिग्रे भत्केका सडक मार्गका साथै हवाइ उडान मार्ग सहज तथा सुलभ बन्न नसक्नु आदि अझै पनि चुनौतीकारूपमा रहेको उनले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij