वेबटिभी खबर
कैलाली । कैलालीको भजनी नगरपालिका-३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्षातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ । धान रोपाइँ गरिसके पछिको फुर्सदको समयलाई उनले माछा मारेर सदुपयोग गर्दै आएकी छिन् ।
मञ्जु मात्रै होइन उनको चार जनाको परिवारको दिनचर्या माछा मार्दै बित्ने गरेको छ । दिनभर माछा, गंगेटा, घोंगीको खोजीमा हुने उनको परिवारले त्यहाँबाट राम्रो आम्दानीसमेत गर्दै आएको छ ।
‘पहिला आफ्नै लागि भनेर माछाको खोजिमा कुला तथा नहरमा पुग्छौँ । धेरै भएपछि बिक्री पनि गर्छौं ।’ उनले भनिन्, ‘सिजनमा राम्रो भयो भने दश हजारभन्दा बढीका झिंगा माछा र घोंगी बिक्री गर्छौं ।’
उनले विद्यालय बिदा भएको दिनमा छोराछोरीहरूको दैनिकी पनि खोला किनारमै बित्ने गरेको बताउछिन् । बर्षातको समयमा थारु बस्तीमा सिँचाइ कुलोमा समेत अधिकांश ठाउँमा माछा मार्ने जाल हालेको देख्न पाइन्छ ।
त्यसैमा वर्षाको फुर्सदको समयमा थारु महिला दिउँसोको खानासमेत लिएर माछाको खोजिमा जाने थारु महिलाका लागि एक परम्परा जस्तै बनिसकेको छ । दिनभर माछा मार्ने र साझ त्यहीँ माछा तरकारीकोरूपमा थारु समुदायले प्रयोग गर्दै आएका छन् ।
बढी भएको झिंगा माछा सुकाएर राम्रो मूल्यमा बिक्रीसमेत हुँदै आएको सुवर्ण चौधरीले बताए । केही हिउँदको महिनाको लागि समेत जोहो गर्दै आएका छन् । बर्षातको समयमा मारेका झिंगा माछा सुकाएर हिउँदमा खाने गरेको भजनी नगरपालिका वडा नं-६ कि कृष्णी थारुले जानकारी दिइन् ।
‘थोरै भए आफैँलाई ठिक्क हुन्छ । बढी भए बिक्री गर्छौं । बिक्री भएन भने सुकाएर राख्छौँ ।’ उनले भनिन्, ‘हामीले मारेको माछा खेर जाँदैन । घरका प्रायः सबै जना दिनभर माछा मार्न भनेर हिँडेका हुन्छौँ ।’
घरका पाँच जना सदस्यले अलिअलि गरेपनि एकदुई केजी झिंगा माछा साँझको समयमा संकलन हुने गरेको उनको भनाइ छ । बर्षातको समयमा थारु महिला मात्रै नभएर पुरुष पनि माछा मार्ने जाल लिएर खोला तथा पोखरीमा व्यस्त हुने गरेको देख्न सकिन्छ ।
‘खासमा धान खेती तयार नहुँदासम्म काम केही हुँदैन । त्यो समयको सदुपयोग गरेका हौँ ।’ सुवर्णले भने, ‘खाली बस्नुभन्दा केही न केही काम गर्नुपर्छ भन्ने मानसिकता हाम्रो हुन्छ । त्यही भएर पनि बर्षातको समयमा माछा मारेर बित्छ ।’
माछा मार्नका लागि महिलाले हेल्काको प्रयोग गर्ने गरेका छन् भने पुरुषले जालको । ठूला माछाभन्दा पनि झिंगा माछाको खोजिमा थारु महिला व्यस्त रहने गरेको भजनी-६ कि बिन्द्रा चौधरीले बताइन् ।
‘लामो समयदेखि खाल्डाखुल्डीमा पानी जमेको भए हेल्का हाल्यो भने झिंगा माछा आइहाल्छन् । त्यस्तै परेको दिनमा एक केजीभन्दा बढी झिंगा माछा पनि भेटाउन सकिन्छ । त्यसैअनुसार घोंगी पनि ।’ उनले भनिन्, ‘त्योभन्दा रमाइलो भनेको साथीहरूसँगै हुने रमाइला कुराहरू दिन बितेको थाहै हुँदैन ।’
महिला समूहमा माछाको खोजिमा जाने गर्दछन् । समूहमा गएका महिला काम भने सामूहिक गर्दैनन् । पानी जमेको खाल्डाखुल्डीमा होस वा अन्य कुनै कुला नहरमा माछा मार्नको लागि जाँदा जोखिम पनि उत्तिकै छ ।
फोहोर पानीमा दिनभर रहँदा त्यसबाट छालासम्बन्धी रोगको जोखिम छ भने किरा फट्याङ्ग्राको जोखिम उत्तिकै छ । पहिलेदेखि नै यस्तै अवस्थामा हुर्केका कारण होला कुनै डर त्रास नलाग्ने गरेको भोजराज चौधरीले बताए ।
‘डर हुन्छ तर पनि साथीहरूसँगै हुँदा त्यस्तो कुनै महसुस नै हुँदैन ।’ उनले भने, ‘घरका लागि तरकारी, बजार बिक्री गरेपछि पैसा आउने भएपछि अलिकति जोखिम त मोल्नुपनी पर्छ ।’
बजारमा अहिले घोंही प्रतिकेजी एक सय, झिंगा माछा प्रतिकेजी पाँच सयमा बिक्री हुने गरेको छ । टीकापुर-८ मा रहेको जितु कटेजका सञ्चालक जितबहादुर चौधरीले होटलमा माछा बिक्री गर्न महिला आफैँ आउने गरेको बताए ।
उनले महिलाले माछा मार्ने कामलाई रोजगारीकोरूपमा लिएको बताउछन् । ‘खेतीपातीको काम सकिएपछि हिउँदको समयमा मजदुरी गर्ने महिला बर्षातको समयमा माछा मार्न व्यस्त हुन्छन् ।’ उनले भने ।
‘बर्षातको समयमा मजदुरीको काम नपाइने भएकाले पनि थारु समुदायका लागि माछा मार्न काम आकर्षणमा परेको हो ।’ थारु महिलाका लागि यो क्रम कार्तिक महिनासम्म चल्ने जनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij