Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

उपकरण थपिएपछि डायलासिस गराउन पालो कुर्नुपर्ने अवस्थाको अन्त्य

उपकरण थपिएपछि डायलासिस गराउन पालो कुर्नुपर्ने अवस्थाको अन्त्य

  • 348
    SHARES
  • उपकरण थपिएपछि डायलासिस गराउन पालो कुर्नुपर्ने अवस्थाको अन्त्य

    झापा । अर्जुनधारा-७ का ४१ वर्षीय भुपिन राईले आठ वर्षदेखि विर्तामोडको पूर्णटुंग बिर्तासिटी अस्पतालबाट मिर्गौलाको डायलासिस सेवा लिइरहेका छन् । सुरुका दिनमा पालो नपाउँदा पैसा तिरेर सेवा लिएका उनले चार वर्षदेखि कुनै शुल्क तिर्नुपरेको छैन् ।

    विर्तामोड-४ का ६९ वर्षीय अग्निप्रसाद अधिकारी दुई वर्षदेखि मिर्गौलाको डायलासिस गराउन भद्रपुरको ओमसाई पाथिभरा अस्पताल जाने गरेका छन् । निजी अस्पताल भए पनि सरकारले मिर्गौलाको डायलासिस निःशुल्क गराएको हुँदा उनले शुल्क तिर्नुपरेको छैन् ।

    झापामा तीनवटा अस्पतालबाट मिर्गौलाको डायलासिस सेवा निःशुल्क उपलब्ध गराइएको छ । भद्रपुरको मेची प्रादेशिक अस्पताल, ओमसाई पाथिभरा अस्पताल र बिर्तामोडको पूर्णटंग बिर्तासिटी अस्पतालले निःशुल्क सेवा उपलब्ध गराउँदै आएको हो ।

    सूचीकृत अस्पतालबाट नियमित निःशुल्क डायलासिस सेवा लिइरहेका मिर्गौला बिरामीको संख्या दुई सय नाघेको छ भने त्यहाँ ३५ वटा डायलासिस उपकरण छन् ।

    जिल्लामा मिर्गौला बिरामीको संख्या दोब्बर रहेको अनुमान गरिए पनि अरुहरूले झापा बाहिर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको नोवेल मेडिकल कलेज र भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रबाट डायलासिस सेवा लिइरहेको पाइएको छ ।

    उपकरण कमहुँदा केहिवर्षअघि निःशुल्क डायलासिसको पालो पाउन अर्को बिरामीको मृत्यु कुर्नुपर्ने दुःखदायी अवस्था भएपनि अहिले डायलासिस उपकरण पर्याप्त मात्रामा थपिएका कारण पालो कुर्नुपर्ने अवस्था अन्त्य भएको हो ।

    यसबाहेक विर्तामोडको मनमोहन सामुदायिक अस्पतालले रोटरी क्लब अफ मिडटाउनको सहकार्यमा सात वटा डायलासिस उपकरण एक वर्षदेखि सञ्चालनमा ल्याइरहेको छ ।

    निःशुल्क सेवा प्रदान गर्ने अस्पतालको सूचीमा दर्ताको प्रक्रिया चलिरहेका कारण अहिले सरकारले तोकिदिएको दुई हजार पाँच सय रूपैयाँमा डायलासिस सेवा दिइरहेको विर्तामोडस्थित रोटरी क्लबका संस्थापक अध्यक्ष सन्तोष अग्रवालले बताए ।

    झापामा सबैभन्दा धेरै १६ वटा उपकरण राखेको ओमसाई पाथिभरा अस्पतालमा नियमित एक सय पाँच बिरामीले निःशुल्क डायलासिस सेवा प्राप्त गरिरहेका छन् ।

    ‘अन्य अस्पतालले दिनको दुई चरणमा सेवा दिइरहेका छन्, हामीले नियमित दैनिक तीन चरणमा सेवा दिइरहेका छौँ,’ ओमसाई पाथिभरा अस्पतालका व्यवस्थापक मनोज दाहालले भने, ‘यहाँ कुनै पनि बिरामीले पालो कुर्नुपर्दैन । कसै-कसैले हप्तामा तीन पटकसम्म सेवा लिइरहेका छन् ।’

    उक्त अस्पतालले निकट भविष्यमा दमक, इटहरी, लहान र बर्दिबासमा शाखा सञ्चालन गरेर मिर्गौलाका बिरामीलाई निःशुल्क डायलासिस सेवा दिने योजना बनाइरहेको उनले जानकारी दिए ।

    सरकारी स्वामित्वको मेची प्रादेशिक अस्पतालमा १३ वटा उपकरण राखेर मिर्गौलाका बिरामीको डायलासिस भइरहेको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले बताए ।उनका अनुसार अस्पतालमा नियमितरूपमा ६० जनाले डायलासिस सेवा लिइरहेका छन् ।

    विगत केही वर्षदेखि काठमाडौंको बिराङ हेल्थ केयर नामक निजी संस्थासँगको व्यवस्थापकीय सहकार्यमा डायलासिस सेवा सञ्चालन भइरहेकोमा गत महिनादेखि साझेदार हटाएर अस्पताल आफैले सेवा प्रदान गरिरहेको छ ।

    मेची अस्पतालमा पनि डायलासिस सेवा लिन बिरामीले पालो कुर्नुपर्ने विगतको जस्तो अवस्था अहिले नभएको सूचना अधिकारी मनोज पोखरेलले बताए । निःशुल्क डायलासिसका लागि कागजपत्र नबनाउँदाको अवस्थामा नयाँ बिरामीले एक पटक डायलासिस गर्दा दुई हजार पाँच सयदेखि चार हजारसम्म अस्पताललाई बुझाउनुपर्ने हुन्छ ।

    नयाँ बिरामीले डाइलेटर, फिल्टरलगायत आवश्यक सामान किन्नुपर्ने हुन्छ तर सरकारबाट निःशुल्क सेवा पाउने पत्र पाइसकेका बिरामीले फिस्टुला बनाउँदा बाहेक कुनै शुल्क तिर्नु नपर्ने ओमसाई पाथिभरा अस्पतालका व्यवस्थापक मनोज दाहालले बताए ।

    मिर्गौलाले काम नगर्ने भएको चिकित्सकको प्रतिवेदनका आधारमा स्थानीय तहले सिफारिस दिने र सोही सिफारिस स्वास्थ्य मन्त्रालयमा दर्ता गराएपछि बिरामीले निःशुल्क डायलासिस सेवा पाउने व्यवस्था छ ।

    पछिल्लो समय सरकारले मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई औषधि उपचार र जीविकाका लागि मासिक पाँच हजार दिने नीति लागू गरेको छ । निःशुल्क डायलासिस र मासिक उपचार सहयोगले मिर्गौला बिरामीको जीवन बचाउन ठूलो मदत पुगेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij