वेबटिभी खबर
झापा । सौर्य ऊर्जाको प्रयोग गरेर झापाको गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले पानी वितरण गरिरहेको छ । विद्युतको प्रयोग कम भएसँगै उपभोक्ताले सस्तो मूल्यमा पानी उपभोग गरिरहेका छन् ।
सौर्य ऊर्जाको उपयोगपछि लागत घटेकाले समितिले खानेपानीको महसुल घटाएको छ । पानी तान्नेदेखि वितरण गर्नेसम्मका काम सौर्य ऊर्जाबाट नै हुने भएकाले पानीको महसुल सस्तो भएको हो ।
उपभोक्ताले न्यूनतम आठ युनिट पानीको महसुल एक सय ३० रूपैयाँ तिर्नु पर्दथ्यो भने सौर्य ऊर्जाको उपयोगपछि महसुल घटेर एक सय पाँच रूपैयाँ तिर्नुपर्ने भएको छ ।
‘समितिले उठाएको महसुलबाट पाँच रूपैयाँ संस्थाको सामाजिक विकास कोषमा जम्मा हुने गरेको छ । महसुल त एक सय रूपैयाँ हो, संस्थाको सामाजिक विकास कोषमा जम्मा भएको पाँच रूपैयाँबाट सामाजिक उत्तरदायित्वअन्तर्गतका काम हुने गरेको छ’, संस्थाका सचिव डण्डिराज घिमिरेले भने ।
सौर्य ऊर्जाको उपयोगपछि दुई हजार ४०० उपभोक्ताको महसुलबापत मासिक ६० हजार बचत भएको छ । समितिले विद्युत् प्राधिकरणलाई मासिक तिर्नुपर्ने महसुल पनि आधा कम भएको छ ।
यसअघि मासिक एक लाख ३० हजार रूपैयाँसम्म विद्युत् महसुल समितिले तिर्ने गरेको थियो । तर सौर्य ऊर्जाको उपयोगपश्चात् ४५ प्रतिशत कम महसुल तिर्ने गरेको छ । संस्थाको तथ्यांकअनुसार अहिले प्रतिलिटर पानी उत्पादनमा १ दशमलव १५ पैसा लाग्ने गरेको छ।
सौर्य ऊर्जाबाट पम्प तथा कम्प्रेसरसमेत सञ्चालन गरेर पानी वितरण गरिएको छ । २०५२ मा स्थापना भएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा दुई हजार तीन सय ५० जना सदस्य छन् ।
गौरादह-१ मा रहेका दुई ट्यांकीबाट समितिले पानी वितरण गर्दै आएको छ । साढे पाँच लाख लिटर क्षमताका दुई वटा ट्यांकीमा पानी भर्ने तथा धारासम्म पुर्याउने काममा दिनको समयमा सौर्य ऊर्जाको उपयोग हुन्छ । उक्त दुई वटा ट्यांकीबाट दैनिक चार लाख ५० हजार लिटर पानी उत्पादन हुँदै आएको छ ।
रातमा भने विद्युतकै प्रयाग गर्ने गरिएको छ । सौर्य ऊर्जाबाट चार्ज गर्ने ब्याट्री नराखिएको र सोझै प्रयोग गर्ने गरिएकाले रातको समयमा विद्युतको उपयोग हुने गरेको समितिका सचिव घिमिरे बताए ।
समितिको पानी वितरण क्षेत्रमा पाँच वटा सामुदायिक विद्यालयमा एक/एक र अन्यत्र दुई वटा सामूहिक धारा छन् । ती धाराको न्यूनतम खपतबापतको महसुल सामाजिक विकास कोषमा जम्मा भएको रकमबाट भुक्तानी हुने भएकाले विद्यालय र सामूहिक धाराको पानी उपयोग गर्नेले रकम तिर्नु नपर्ने संस्थाले जनाएको छ ।
प्रदेश सरकारको अनुदानमा खानेपानी वितरणका लागि सौर्य ऊर्जा जडान गरिएको हो । प्रदेश सरकारबाट प्राप्त ८८ लाख ७५ हजार नौ सय रूपैयाँ अनुदानबाट समितिले एक सय ४२ वटा सौर्य ऊर्जाको प्यानल जडान गरेको छ ।
गौरादहका-१, २ र ३ नम्बर वडामा करिब दुई हजार चार सय धारामा पानी वितरण हुँदै आएको समितिले जानकारी दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij