वेबटिभी खबर
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा अघिल्लो आर्थिक वर्षमा ६ हजार नौ सय ३३ जनाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको तथ्यांक छ । राहदानी लिनेमा महिला–पुरूष लगभग बराबरी छन् ।
जिल्लामा राहदानी बनाउनेमध्ये वैदेशिक रोजगारीमा जाने मात्र नभएर विदेशमा उच्च शिक्षा अध्ययन र वैदेशिक भ्रमणमा जाने पनि पर्दछ । तर अधिकांश युवा श्रमकै लागि विदेशिने गरेका छन् ।
वैदेशिक रोजगारीका क्रममा केही वर्ष मलेसिया बसेर आएका मेलम्ची–७ का कृष्णलाल श्रेष्ठ तरकारी खेती गरिरहेका छन् ।
उनले अब विदेश नजाने भन्दै आफ्नो पेशालाई निरन्तरता दिने बताउँछन् । आफूजस्ता युवा तथा कृषकका लागि तिनै तहका सरकारको सहयोग गनुपर्ने उनको भनाइ छ ।
दुबईबाट फर्किएका पाँचपोखरी थाङ्पाल गाउँपालिका युवराज भट्टराई तीन तहका सरकारले युवालक्षित स्वरोजगारमूलक कार्यक्रम ल्याउनुपर्ने बताउँछन् ।
‘आफ्नो सीप, दक्षता र क्षमताका आधारमा स्वदेशमै केही गरौँ भन्ने विदेशवाट फर्केका युवाका लागि सही व्यवस्थापन गर्नसकेमा विदेशबाट फर्केका मात्र नभई स्वदेशकै युवाले पनि अवसर पाउने थिए’, उनले भने ।
अहिले कतिपय स्थानीय तहले विशेष गरेर विदेशबाट फर्केकाको समस्या सम्बोधन गर्ने प्रयास पनि गर्न थालेका छन् । उनीहरूलाई सामूहिक लगानीको अवसर सिर्जना गरेर स्वरोजगार र आत्मनिर्भर बनाउन व्यावसायिक योजनाको छनोट गरिरहेको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।
पाँचपोखरीका नागरिकको आम्दानीको मुख्य स्रोतमध्ये वैदेशिक रोजगार पनि हो । यहाँका अधिकांश युवा विदेशिने गरेका छन् । विदेशबाटै फर्किएका मेलम्ची–७ का श्रीकृष्ण श्रेष्ठ गाउँमै रोजगारको अवसर र लगानी गरेर कमाउने वातावरण सरकारले बनाउनुपर्ने बताउँछन् ।सांकेतिक तस्बिर
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij