वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैधरूपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम कसैले रोक्न नसक्ने भन्दै यसलाई निरन्तर अघि बढाउने जनाएको छ ।
अहिले कामपाले कानूनविपरीत निर्माण भएको सम्पूर्ण संरचना अवैध रहेकाले नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरुप निर्माण नगरिएका दुवै संरचना भत्काउने काम निरन्तर गर्ने जनाएको हो ।
कानूनीरूपमा अवैध ठहर भएका सबै संरचना भत्काउने काम निरन्तर गरिनेछ त्यसका लागि कामपाले नक्साअनुरुप वैध, अवैध यकीन गरिरहेको छ कामपाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने ।
‘नक्सा विपरीतका संरचना, नक्सा पास नगरी निर्माण भएका संरचना र सार्वजनिक जग्गा मिचेर बनाएका सबै संरचना भत्काउने काम कामपाको कर्तव्यभित्र पर्छ’, उनले भने ।
यो कामलाई अभियानकारूपमा सञ्चालन गरिने र महानगरको ३२सै वडामा निर्माण भएका यस्ता कुनै पनि संरचना बाँकी नराखिने महानगर प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले बताए ।
संरचना निर्माणका सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरिने र गलत प्रमाणित भए थप कानूनी प्रक्रिया अघिबढाउन कामपाले ३५ दिने सार्वजनिक सूचना जारी गरेको र उक्त सूचनाको बेवास्ता गरिएकाले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने काम सुरु गरिएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij