Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

गाेरखाकाे भट्ट फाँटमा व्यावसायिक ड्रागन खेती

गाेरखाकाे भट्ट फाँटमा व्यावसायिक ड्रागन खेती

  • 438
    SHARES
  • गाेरखाकाे भट्ट फाँटमा व्यावसायिक ड्रागन खेती

    गोरखा । एक दशक अघिसम्म लटरम्म भट्ट फल्ने भएकाले गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्ली भट्ट फाँटका रूपमा परिचित थियो ।

    समयक्रमसँगै कृषिप्रतिको अनिइच्छाका कारण यतिखेर यो गाउँमा अहिले पहिलेको जस्तो भट्ट पाइँदैन । च्याङ्लीको कालो भट्टको बजारमा राम्रो माग भए पनि अहिले उक्त भट्ट नै लोपोन्मुख अवस्थामा पुगेको छ ।

    त्यही भट्ट फाँटमा युवा केबी कुमालले यतिखेर १२ रोपनी क्षेत्रफलमा ड्रागन खेती थालेका छन् । एक वर्ष अघिदेखि चार हजार बिरुवा लगाएका उनको गण्डकी ड्रागन फ्रूट तथा कृषि फार्ममा एक वर्षमा नै ड्रागन फलको उत्पादन सुरु भइसकेको छ ।

    मुख्य पेसा बैंकिङ रहे पनि विद्यार्थीकालदेखि नै कृषिप्रति आकर्षित कुमालले एक हजार खम्बामा चार/चारवटा बिरुवाका दरले चार हजार बिरुवा लगाएका छन् ।

    मलेसियन प्रजातिको रातो ड्रागन फलका बिरुवा नवलपरासीबाट ल्याएको जानकारी दिँदै लगाएको एक वर्षमा नै फल्न थालेपछि आफू उत्साहित बनेको उनले बताए । हालसम्म ७० किलो बिक्री गरिसकेको र बजारमा प्रतिकिलो रू ८०० दरले बिक्री भइराखेको कुमालकाे भनाइ छ ।

    कुमालको फार्ममा पृथ्वीराजमार्गको पोखरा–काठमाडौं मार्गको डुम्रे बजारबाट तीन किलोमिटर तल नयाँ पुल बजारबाट करिब डेढ किमी दूरी पार गरेपछि पुग्न सकिन्छ । फार्मसम्म आउनका लागि ग्राभेलयुक्त बाटो छ ।

    फार्म सञ्चालनसँगै एकजना युवाले प्रत्यक्ष रोजगारी पाएका छन् भने अन्यले दिनप्रतिदिन अप्रत्यक्षरूपमा रोजगारी पाइराखेका छन् । तत्कालीन समयमा प्रतिबिरुवा पाँच सयका दरले चार हजार बिरुवा ल्याएका कुमालले त्यसको पिल्लर निर्माण, टायर खरिद आदि गरी हालसम्म करिब ६० लाख रूपैयाँ खर्च भइसकेको जानकारी दिए ।

    यसका लागि बजार समस्या नरहेको जानकारी दिँदै उनले मुख्य बजारमा यसको माग रहेको बताए । उनका अनुसार सामान्यतः एउटा बोटबाट १५/२० किलोसम्म फल्ने देखिएको छ ।

    यो फल दक्षिण अमेरिकाको मेक्सिकोमा फल्ने सिउँडी प्रजातिको रैथाने फल हो । यसको बोट सिउँडीको जस्तै हुन्छ । एशियामा पहिलोपटक भियतनामले भित्र्याएको यो फल  थाइल्यान्ड, मलेसिया र इन्डोनेशिया हुँदै पछिल्लो समयमा नेपालीको पनि आकर्षण बन्दै गएको छ ।

    ‘हाइलोसेरूस अन्डटुस’ वैज्ञानिक नाम रहेको यसलाई मुन लभर्स, रात कि रानी, रातकी घण्टी, क्यान्डेलेरा आदि नामले पनि चिनिन्छ । नेपालमा पहिलोपटक २०५७ सालमा भित्रिएको मानिने यो फलको पछिल्ला वर्षमा ठाउँ–ठाउँमा व्यावसायिक खेती थालिएको छ ।

    यसको खेतीका लागि धेरै पानी तथा मल आवश्यक नपर्ने पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिए । नेपालका धेरै स्थानमा यसको खेती गर्न सकिने बताउँदै उनले यसबाट सर्वसाधारणलाई आयआर्जनसँग जोड्ने पर्याप्त सम्भावना रहेको बताए ।

    बहुऔषधीय गुण रहने यो फल मधुमेह, बाथरोग, क्यान्सर, पेटको समस्या लगायतमा उपयोगी हुने प्रमाणित भइसकेको छ । पछिल्ला समयमा प्रमुख बजारमा बिक्रीवितरण हुने गरेको यसको राज्यस्तरबाट प्रवर्द्धनको खाँचो रहेको व्यवसायी कुमालले बताए ।

    कृषि महाशाखा प्रमुख कडरियाका अनुसार ड्रागनका लागि दक्षिणी मोहडायुक्त, घमाइलो स्थान आवश्यक हुन्छ । यसको बिरुवा एक वा एक वर्षभन्दा बढी उमेरको बिरुवाबाट काटेर निकाल्न सकिन्छ । एकपटक उत्पादन सुरु गरिसकेपछि करिब २५ वर्षसम्म यसको उत्पादन निरन्तर लिन सकिन्छ ।

    प्रमुख मात्रामा एन्टिअक्सिडेन्ट, ओमेगा, भिटामिन सी, फलाम र प्रशस्त मात्रामा पानी पाइने यस फलमा छालालाई चाहिने तत्व पाइनुका साथै प्रशस्त फाइबर हुने भएकाले पाचन प्रणालीलाई समेत यसले चुस्तदुरूस्त बनाउने गर्दछ ।

    यसमा क्यालसियम पाइने भएकाले दाँत र हड्डी बलियो बनाउँछ । त्यस्तै डेङ्गु, सुगर, मुटु आदि रोगीका साथै बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिलाका लागि उपयोगी हुन्छ । उच्च रक्तचाप र कोलेस्ट्रोरको सन्तुलनका साथै कब्जियत, मोटोपन, क्यान्सर आदिमा यो उपयोगी हुन्छ ।

    बिरुवा लगाउँदा सकेसम्म एक फिटसम्मको बिरुवा आवश्यक हुने बताउँदै कुमालले सकेसम्म कलिलो बिरुवा लगाउन नहुने कुमालले जानकारी दिए ।

    कुमालले भट्ट फाँटमा ड्रागन खेती गरेसँगै च्याङ्लीका अन्य स्थानीय पनि दंग छन् । गाउँमा नयाँ जातको खेती सुरु गरिँदा आफूहरूमा पनि यसबारे जिज्ञासा बढाएको स्थानीय बासिन्दा देउकुमारी कुमालले बताइन् । रासस

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij