वेबटिभी खबर
काठमाडौं । गंगापूर्ण ताल जोगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले र मनाङ ङिस्याङ गाउँपालिकाले संरचना निर्माण कार्य अघि बढाएका छन् ।
चार करोड ८ लाख रूपैयाँ बजेट विनियोजन भएकोमा जलजला-शिवशक्ति-अधिकारी जेभीले टेन्डरमार्फत भ्याटसहित २ करोड ९५ लाख रूपैयाँमा संरक्षण कार्य अघि बढाएको छ ।
यसमा मन्त्रालयको ७० र गाउँपालिकाको ३० प्रतिशत बजेट हुनेछ । मनाङ ङिस्याङ गाउँपालिकाका सबइन्जिनियर योगेश काफ्लेका अनुसार ताल जोगाउन कुनापट्टिको ४० मिटरको दुई लेयरको चेकड्याम बनाइएको छ ।
बगरमा परिणत भएको तालबाट हिलो झिक्ने काम भइरहेको छ । तालको छेउमा साढे ३ मिटर उचाइ र १९३ मिटरको माटोको बाँध बनाइने छ ।
त्यसको बाहिर ढलान गरिनेछ । देखिने भागमा राम्रो देखिने ढुंगा छाप्ने कार्य गरिनेछ । त्यसमाथि रेलिङसहितको फुटपाथ बनाइने उनले बताए । निर्माण कम्पनीले २०७८ असोज पहिलो साता सम्झौता गरेर काम अघि बढाएको छ ।
१५ महिनामा काम सक्ने भने पनि यसको भौतिक प्रगति भने २० प्रतिशत मात्रै भएको सबइन्जिनियर काफ्लेले बताए । उनका अनुसार मंसिर मसान्तसम्म सम्झौताको म्याद छ ।
करिब २१ दशमलव ०८ हेक्टर क्षेत्रफलमा फैलिएको अनुमान गरिएको उक्त ताल हिमपात नहुँदा नीलो, वर्षायाममा सेतो र हिउँदमा जमेको देखिन्छ ।
दुई वर्ष मनाङको स्थानीय विकास अधिकारी भएर बसेका कृष्णप्रसाद धितालका अनुसार सन् १९६० आसपास गंगापूर्ण ताल बनेको अध्ययन अनुसन्धानबाट देखिएको हो ।
उनका अनुसार टोनी हेगनले सन् १९५२/५४ तिर भ्रमण गर्दा उक्त स्थनमा ताल थिएन ।
ताल बनेको साढे ६ दशक पनि नपुग्दै यो ताल अहिले संकटमा परेको छ । चक्रीय अन्नपूर्ण पदमार्गको एउटा गन्तव्य माथिल्लो मनाङमा पर्ने उक्त गंगापूर्ण हिमताल समुद्री सतहदेखि ३५४० मिटर उचाइमा अवस्थित मनाङ ङिस्याङ गाउँपालिका-६ मा पर्छ ।
यो हिमपात गंगापूर्ण हिमाल, अन्नपूर्ण चौथो, खाङसार हिमक्षेत्रबाट बगेको हिमनदीले बनेको हो ।
यही हिमतालमा डेढ वर्षअघि अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडालगायत अभिनित बलिउड फिल्म ‘उचाइ’ को समेत छायांकन गरिएको थियो । तर अहिले तालको सुन्दरता पहिले जस्तो छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij