वेबटिभी खबर
बाग्लुङ । बाग्लुङ नगरपालिका-९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिरोको उच्च जोखिममा छ ।
भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रूपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिरोको जोखिममा परेको हो । २०७६ मा निर्माण भएको उक्त भवन नजिक पहिरो जाने क्रम रोकिएको छैन् ।
भवन माथिदेखि झरेको पहिरोले पछाडितिरका झ्यालमा क्षति पुर्याएको छ । भवन माथिदेखि तथा तलपट्टिबाट पहिरो गएको छ । माथिदेखि झरेको पहिरोले भवन पुरिन लागेको छ भने तलदेखि भवनको जगनै उप्किन लागेको छ ।
२ करोड ३ लाखमा निर्माण भएको उक्त भवन पहिरोको जोखिममा परेपछि वडा कार्यालयले यसको संरक्षणका लागि पहल थालेको छ । बाग्लुङ नगरपालिका-९ का वडाध्यक्ष राजु थापाले भवन जोखिममा परेपछि यसको संरक्षणका लागि ६५ लाख विनियोजन भएको बताए ।
उनले बर्खा सकिएपछि पर्खाल लगाउने जानकारी दिए । ‘बर्खा रोकिएपछि पर्खाल लगाएर संरक्षण गर्ने योजना छ’, थापाले भने । ठाउँ उपयुक्त नहुँदा अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ ।
‘यो ठाउँमा हुँदैन, जोखिम हुन्छ भन्दाभन्दै जबर्जस्ती भवन निर्माण गर्ने काम भयो’, थापाले भने, ‘पानीको मूल फुटने ठाउँमै भवन निर्माण गरिएको छ ।’ भवनको जग नै कमजोर भएको पाइएको छ । उक्त भवन निर्माणका लागि स्थानीय यामबहादुर खड्का र बेलबहादुर खत्रीले चार रोपनी जग्गा दान गरेका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij