Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कैलाली-५ मा नारदमुनीलाई पाँचदलीय गठबन्धनको चुनौती

कैलाली-५ मा नारदमुनीलाई पाँचदलीय गठबन्धनको चुनौती

  • 331
    SHARES
  • कैलाली-५ मा नारदमुनीलाई पाँचदलीय गठबन्धनको चुनौती

    काठमाडौं । आगामी ४ मंसिरमा हुने संघीय निर्वाचनका लागि कैलाली-५ बाट उम्मेदवारका लागि नेकपा एमालेले नारदमुनी रानालाई एकल सिफारिस गरेको छ ।

    वर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका रानाले २०७४ को निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बन्दै कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु देउवा राणालाई पराजित गरेका थिए ।

    वाम गठबन्धनका साझा उम्मेदवार रानाले २०७४ को निर्वाचनमा आरजुलाई ४ हजार ८८० मतले जितेका थिए । तर यसपटक नारदमुनीको चुनावी यात्रा २०७४ को भन्दा कठिन हुने देखिएको छ ।

    यसपटक नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवदी, जसपा र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावी प्रतिष्पर्धामा जाने सम्भावना बलियो बनेको छ ।

    पाँच दलको साझा उम्मेदवारका रूपमा आरजु देउवा उम्मेदवार बन्ने पक्का जस्तै देखिन्छ ।

    त्यसो भएमा नारदमुनि रानालाई चुनाव जित्न कठिन हुन सक्दछ । स्थानीय तहको निर्वाचनमा कैलाली-५ बाट कांग्रेस,  माओवादी केन्द्र र एकीकृत समाजवादीको गरि ३२ हजार नौ सय ६० मत आएको छ ।

    उक्त मत धनगढीका १९ वटै वडा र कैलारी गाउँपालिका वडानम्बर ६ र ९ बाट आएको हो । तीनै वडाबाट एमालेले भने १७ हजार ४०१ मत मात्रै पाएको छ । यसरी हेर्दा एमालेभन्दा गठबन्धन दोब्बर मतले अगाडि देखिनछ । यो मतान्तर घटाउन नारदमुनी रानाका लागि निकै चुनौतीको विषय हुने देखिन्छ ।

    कैलालीमा यसपटक नागरिक उन्मुक्ति पार्टीको प्रभाव राम्रो बन्दै गएको छ । स्थानीय तहको निर्वाचनले पनि त्यसलाई पुष्टि गरेको छ । कैलाली-५ बाट यसपटक संघीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका प्रभावशाली नेता लक्ष्मण चौधरीले चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

    २०७४ को निर्वाचनमा जेलबाटै उम्मेदवारी दर्ता गराएर चुनाव लडेका लक्ष्मण थारूले ६ हजार ४६४ मत ल्याएका थिए । यसपटक उनी खुला रूपमा निर्वाचनमा होमिँदै छन् । गाउँ टोलसम्म चुनावी अभियानसहित हिँडेका लक्ष्मण थारूले यसपटक पहिलाको भन्दा धेरै भोट ल्याउने आकलन गरिएको छ ।

    लक्ष्मण थारूले अधिकांश भोट राना चौधरी समुदायबाट पाउने अनुमान गरिएको छ । कैलाली-५ मा नारदमुनी रानाको जित्ने आधार पनि राना चौधरी समुदायको भोटलाई मानिन्छ ।

    लक्ष्मण थारु पनि सोही समुदायबाट उम्मेदवार बन्दा भोट बाँडिने सम्भावना प्रबल रहन्छ । त्यसैले नारदमुनीका लागि लक्ष्मण चौधरी अर्को चुनौतीको रूपमा प्रस्तुत भएका छन् ।

    ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलाली-५ मै पर्ने धनगढी उप महानगरपालिकामा यसपटक एमालेले निर्वाचित जनप्रतिनीधिको संख्या भने बढाएको छ । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकामा एमाले कमजोर स्थिततिमा देखिएको थियो ।

    २०७४ मा एमालले धनगढीका १९ वडामध्ये दुई वडा अध्यक्ष मात्रै जितेको थियो । तर यसपटक भने उपमेयरसहित ६ वडामा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादलाई नारदमुनी रानाले फाइदाका रूपमा लिन सक्ने आकलन गरिएको छ ।

    कांग्रेसले कारबाही गरेका पुष्करनाथ ओझा स्वतन्त्र उम्मेदवार बन्ने चर्चा छ । यदि ओझा स्वतन्त्र उम्मेदवार बनेको खण्डमा कांग्रेको मत विभाजन हुने देखिन्छ । त्यस्तो अवस्थामा एमालेको संगठित भोटसँगै राना थारू समुदायबाट बढी मत ल्याएर चुनाव जित्न सक्ने नारदमुनीको दाउ हुन सक्दछ ।

    तर पुष्करनाथ ओझा स्वतन्त्र उम्मेदवार बनेमा नारदमुनीले पाउने केही भोट पनि कटौती हुन सक्छ । त्यसैले यसपटकको चुनाव जित्न नारदमुनी रानालाई फलामको चिउरा चपाउनुसरह हुने देखिन्छ ।

     स्थानीय तहको निर्वाचनमा प्रमुख दलकाे मत परिणाम यस्ताे छ :

    कैलाली-५ अन्तर्गत धनगढी उपमहानगरपालिकाका १९ वटै वडा र कैलारी गाउँपालिकाको ६ र ९ नम्बर वडा पर्दछन् । स्थानीय तहको निर्वाचनमा वडास्तरमा पाएको मतका आधारमा नेपाली कांग्रेस ठूलो पार्टी बनेको छ ।

    कांग्रेसले धनगढीका १९ वडाबाट २० हजार ७२२ मत तथा कैलारीका दुई वडाबाट २०५४ गरि २२ हजार ७७६ मत पाएको छ ।

    त्यसैगरी एमालेले धनगढीका १९ वटै वडाबाट १५ हजार ९९३ तथा कैलारीका दुई वडाबाट १ हजार ४०८ मत गरि १७ हजार ४०१ मत पाएको छ ।

    माओवादी केन्द्रले धनगढीका १९ वडाबाट ८ हजार १७५ मत पाएको छ । सत्ता घटक एकीकृत समाजवादीले  वडास्तरबाट २ हजार ९ मत पाएको थियो ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij