Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

किन भइरहेछ अल अक्सामा हिंसा ?

किन भइरहेछ अल अक्सामा हिंसा ?

  • 868
    SHARES
  • किन भइरहेछ अल अक्सामा हिंसा ?

    जेरुसेलम । जेरुसेलममा शनिबार प्यालेस्टाइन र इजरायली प्रहरीबीच लगातार दोस्रो रात झडप हुँदा दर्जनौं मानिस घाइते भए । प्रर्दशनकारीले प्रहरीमाथि ढुंगामुढा गरेर र पुरानो सहर दमस्कस गेटमा आगजनी पनि गरेका थिए । प्रहरीले प्रदर्शनकारीलाई लक्षित गरी ग्रेनेड र पानीको फोहोरा प्रहार गरेको थियो ।

    प्यालेस्टाइनकाे रेड क्रिसेन्टका अनुसार शनिबार भएको हिंसामा कम्तिमा ९० जना प्यालेस्टाइनहरु घाइते भएका छन् । इजरायली प्रहरीका अनुसार झडपमा प्रहरी तर्फ एक जवान घाइते भए । हिंसाको सुरुवात शुक्रबार रातिबाट भएको थियो । त्यहाँ करिब दुई सय प्यालेस्टाइन नागरिक र १७ इजरायली प्रहरी अल अक्सा मस्जिदनजिक घाइते भएका थिए । 

    शनिबार हजारौं मुसलमान अल अक्सा मस्जिदको दमस्कस गेटमा लायलात अल कदर अर्थात् रमजानको सबैभन्दा पवित्र रातको प्रार्थना गर्न भेला भएका थिए । त्यही भेलामा जान हिँडेका दर्जनौं बसलाई प्रहरीले बिहानैदेखि रोकेर राखेको थियो । प्रहरीले त्यस ठाउँमा जान रोकेपछि झडप सुरू भएको थियो । 

    पुरानो जेरुसेलम सहरमा रहेको अल अक्सा मस्जिद परिसरलाई मुसलमानको पवित्र तीर्थस्थलमध्य एक मानिन्छ । र सोही स्थानमा यहुदीको पवित्र माउन्ट मन्दिर पनि छ । यस क्षेत्रमा पहिलेदेखि नै विवाद थियो र हिंसा हुँदै आएको थियो । तर शुक्रबार राति रमजानका अवसरमा हजारौं मुसलमान जम्मा भएपछि हिंसा चर्किएको हो ।

    सन् १९६७ मा भएको मध्यपूर्वी युद्धपछि इजरायलले पूर्वी जेरुसेलम नियन्त्रणमा लिएर पुरै सहरलाई आफनो राजधानी मान्दै आएको छ । तर त्यसलाई अन्तर्राष्ट्रिय समुदायले समर्थन गरेको छैन । प्यालेस्टाइनहरूले पूर्वी जेरूसेलमलाई भविष्यको स्वतन्त्र देशको राजधानीको रूपमा देख्छन् । विगत केही दिनदेखि यस क्षेत्रमा तनाव बढेको छ र यस क्षेत्रको दाबी गर्दै यहुदीहरुले प्यालेस्टिनीलाई विस्थापित गर्न खोजिरहेका छन् ।

    अक्टुबर २०१६ मा संयुक्त राष्ट्र संघको सांस्कृतिक निकाय युनेस्कोको कार्यकारी बोर्डले एक विवादित प्रस्ताव पारित गर्दै जेरुसेलममा रहेको ऐतिहासिक अल अक्सा मस्जिदमा यहुदीको दाबी गर्ने आधार नरहेको बताएको थियो ।

    युनेस्कोको कार्यकारी समितिले अल अक्सा मस्जिदमा इस्लामिक समुदायको अधिकार रहेको र यहुदीहरुको कुनै ऐतिहासिक सम्बन्ध नरहेको बतायो । यहुदीहरूले यसलाई टेम्पल माउन्ट भन्दै आएका छन् र यसलाई यहूदीहरूको लागि महत्त्वपूर्ण धार्मिक स्थानको रूपमा लिइन्छ ।

    हिंसा चर्किएपछि विश्वका अन्य देशहरुले इजरायलकाे निन्दा गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार साउदी अरबका विदेश मन्त्रीले अल अरेबिया च्यानलमार्फत प्रसारित एक विज्ञप्तिमा दर्जनौं प्यालेस्टिनी परिवारलाई घरबाट निकाल्ने इजरायलको योजनालाई साउदी अरबले विरोध गर्छ भनेका छन् । अरब देशहरूले अन्तर्राष्ट्रिय समुदायलाई त्यस क्षेत्रमा हस्तक्षेप गर्न अपील गरेका छन् ताकि कसैलाई पनि त्यहाँबाट हटाउन नपाओस् ।

    संयुक्त राष्ट्र संघले इजरायलले त्यहाँबाट कसैलाई पनि हटाउनबाट रोक्नुपर्ने र प्रदर्शनकारीविरुद्ध शक्ति प्रयोगमा अधिकतम संयम हुन जरुरी रहेको बताएको छ । 

    साउदी अरबले प्यालेस्टिनीहरुलाई जेरुसेलमबाट हटाउने र त्यसलाई आफ्नो सार्वभौमिकताको हिस्सा बनाउने इजरायलको योजना अस्वीकार गरेको छ । सन् १९६७ को सीमाअनुसार प्यालेस्टाइनलाई एक स्वतन्त्र मुलुक बनाउन साउदी अरब पूर्णरुपमा प्रयास गर्ने पनि बताएको छ । 

    प्यालेस्टिनी नेता महमूद अब्बासले इजरायलले गरेको आक्रमणलाई अपराध भन्दै निन्दा गरेका छन् । अमेरिका, युरोपेली संघ, रुस र संयुक्त राष्ट्र संघले शनिबार बढ्दो हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । 

    टर्कीका राष्ट्रपति रेसेप तय्यप अर्दोआनले पनि इजरायलले प्यालेस्टिनीमाथि गरेको बल प्रयोगको निन्दा गरेका छन् । उनले एक ट्विटमा 'हामी अल अक्सा मस्जिदमा इजरायलको जघन्य आक्रमणको निन्दा गर्दछौं, जुन दुर्भाग्यवस प्रत्येक रमजानको समयमा गरिन्छ । टर्की प्रत्येक अप्ठ्यारो घडीमा प्यालेस्टिनी समुदायको साथमा खडा हुनेछ', लेखेका छन् । 

    हिंसाको निन्दा गर्दै पाकिस्तानका परराष्ट्रमन्त्री साह मोहम्मद कुरैसीले ट्विट गरेका छन्, 'अलअक्सा मस्जिद जुन इजरायलले ओगटेको छ । रमजानको महिनामा त्यहाँ निर्दोष मानिसमाथि भएको आक्रमणको म निन्दा गर्दछु । यस्तो कु्ररता मानवता र मानव अधिकार भावनाविरुद्ध हो । हामी प्यालेस्टाइनको साथ खडा छौं ।' 

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले देश कानून र सुव्यवस्था कायम गर्न जिम्मेवारीका साथ काम गरिरहेको प्रतिक्रिया दिएका छन् ।

    अल अक्सा विवादः इजरायल र प्यालेस्टाइनबीच भएकाे हिंसामा  बालबालिकासहित २० को मृत्यु अल अक्सा विवादः इजरायल र प्यालेस्टाइनबीच भएकाे हिंसामा बालबालिकासहित २० को मृत्यु

  • सम्बन्धित विषय:

  • # इजरायल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij