वेबटिभी खबर
बाँके । नेपालगञ्ज सहरमा छाडा पशु चौपायाको समस्या समाधानका लागि पहल सुरुआत भएको छ ।
यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले सर्वपक्षीय बैठक आयोजना गरि छाडा पशु चौपायको दीर्घकालीन र अल्पकालीन समाधानका लागि योजना निर्माण गरेको हो ।
बैठकको निर्णयअनुसार यही भदौ महिनाभित्र पशु चौपाया (गाई, गोरु, गधा, खच्चड, घोडा, बंगुर) सडकमा छाडा नछोड्न आग्रह र माइकिङसहितको प्रचारात्मक कार्यक्रम चलाइने भएको छ ।
भदौ मसान्तपछि पशु चौपाय छाडा छोड्नेलाई कारबाही गर्ने र यसरी छोडिएका पशु चौपायालाई राख्नका लागि अस्थायी संरचना बनाएर व्यवस्थापन गरिने नगर प्रमुख प्रशान्त विष्टले बताए ।
छाडा पशु चौपायका कारण नगरको ट्राफिक व्यवस्थापनमा असहजता भएको र दुर्घटना पनि बढेको भन्दै नगर प्रमुख विष्टले सडकमा छाडा छोडिएका पशु चौपायलाई अन्यत्र राखेर अल्पकालिन व्यवस्थापनमा तत्काल जुटेको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सीमानाका पारीबाट छाडा पशु चौपाया आउन नदिनका लागि सीमा कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिने बताए । ट्राफिक व्यवस्थापन र नगरको सौन्दर्यताका लागि छाडा पशु चौपायको ब्यवस्थापन आवश्यक भएको उनको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले छाडा पशु चौपायको व्यवस्थापनका लागि अन्तर पालिकासँग समन्वय गरी सबैको सहकार्य र समन्वय आवश्यक भएको बताए ।
नेपालगञ्ज नगर उपप्रमुख कमरुद्धिन राईले छाडा पशु चौपायको व्यवस्थापनका लागि उपमहानगरपालिका अब कडाइका साथ प्रस्तुत हुने जानकारी दिए । नेपालगञ्जमा छाडा छोडिएकामध्ये गाईगोरुलाई नियन्त्रणमा लिएर कांजी हाउसमा राखे पनि लिन कोही नआउने कांजी हाउसका कर्मचारीको भनाइ छ ।
गधा, खच्चड र घोडा भने जरिवाना तिरेर पनि घरधनीले ल्याउने गरेका छन । छाडा पशु चौपाय कांजी हाउससहित अन्य अस्थायी संरचना तत्काल बनाएर राखिने जनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij