Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

माछा, मासु र दूधमा आत्मनिर्भर बागलुङ

माछा, मासु र दूधमा आत्मनिर्भर बागलुङ

  • 777
    SHARES
  • माछा, मासु र दूधमा आत्मनिर्भर बागलुङ

    काठमाडौं । व्यावसायिक किसानको संख्या बढेसँगै बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा पछिल्लो केही वर्ष यता व्यावसायिक पशुपालन तथा माछापालनमा किसान आकर्षित भएका छन् ।

    जिल्लाभर वार्षिक १ करोड ५५ लाख ९९ हजार २०३ लिटर दूध उत्पादन हुने गरेको हो । विश्व खाद्य संगठनको मापदण्डअनुसार एकजना व्यक्तिका लागि वार्षिक ९१ लिटर दूध आवश्यकता हुन्छ ।

    एक लाख ६८ हजार ७१३ जनसंख्या रहेको जिल्लामा वार्षिक १ करोड ५३ लाख ५२ हजार ८८३ लिटर दूध भए पुग्छ । आवश्यकताभन्दा प्रतिव्यक्ति वार्षिक १ दशमलव ४६ लिटर दूधबढी उत्पादन भइरहेको भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख चिकित्सक ऋषिराम सापकोटाले बताए ।

    व्यावसायिक किसानलाई स्थानीय सरकारले सहयोग गर्ने र संघीय तथा प्रदेश सरकारका किसान लक्षित कार्यक्रमसमेत व्यावसायिक किसानसँगै पुग्ने भएकाले माछा, मासु र दूधको उत्पादन बढेको हो ।

    उत्पादन बढेसँगै जिल्ला कृषिजन्य तीन उत्पादनमा जिल्ला आत्मानिर्भर भएको हो । आवश्यकताभन्दा बढी उत्पादन भइरहेको दूध छिमेकी जिल्लामा निर्यात हुने गरेको छ ।

    जिल्लाको दक्षिण क्षेत्रबाट छिमेकी जिल्ला पर्वत र पश्चिम क्षेत्रबाट छिमेकी गुल्मीमा दूध निर्यात हुने गरेको तथ्यांक भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले राखेको छ ।

    केही साना बजारमा छिमेकी जिल्लाबाट आयातसमेत हुने गरेको छ । जिल्लाभर ८६ हजार ९२० भैँसी र २१ हजार ६६० गाईपालन भइरहेको तथ्यांक केन्द्रसँग छ ।

    यीमध्ये अधिकांश दूध उत्पादन गर्न योग्य छन् । व्यावसायिक र घरायासी प्रयोजनालमई पालिएका पशुचौपायको समय तथ्यांक निकालेर केन्द्रले दूधको उत्पादन मूल्यांकन गर्ने गरेको सापकोटाले बताए ।

    भैँसीपालन गर्ने किसानले मासुका लागि राँगासमेत हुर्काउने गरेका र मासुको उत्पादनमा समेत सहयोग पुग्ने गरेको छ ।

    ग्रामीण भेगसम्म सडकको सहज पहुँच, यातायातको सुविधा, उचित मूल्य, स्थानीय तहको उत्पादनमा आधारित अनुदान, घाँस परालको उपलब्धतालगायतले किसानलाई व्यावसायिक पशुपालनमा सहज बनाएको किसान बताउँछन् ।

    हाल बजारमा दूधको मूल्य थोकमा रु ७० देखि ९० तथा खुद्रा १००देखि १२० मा बिक्री हुँदै आएको छ । दुधालु गाईभैँसीले एकै बेतमा करिब १ लाख रूपैयाँ बराबरको दूध दिने भएपछि अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका युवाको पशुपालनमा आकर्षण छ ।

    पछिल्लो समय दाना, चोकर र पराललगायत पशुपालनका लागि आवश्यक सामग्रीमा ठूला व्यवसायीको एकाधिकार, दूधको मूल्यमा सिन्डिकेटलगायतले अझै अपेक्षित मूल्य पाउन नसकेको किसानको गुनासो छ ।

    त्यस्तै जिल्लाभर वार्षिक २५ लाख ५० हजार नौ सय ४० किलो माछामासु उत्पादन हुने गरेको छ । विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार एक जना व्यक्तिका लागि वार्षिक १४ किलो माछामासु आवश्यकता हुन्छ ।

    १ लाख ६८ हजार सात सय १३ जनसंख्या रहेको जिल्लामा वार्षिक २३ लाख ६१ हजार ९८२ किलो माछामासु भए पुग्छ । आवश्यकताभन्दा प्रतिव्यक्ति वार्षिक १ दशमलव १२ किलो माछा मासुबढी उत्पादन भइरहेको विज्ञ केन्द्रका प्रमुख चिकित्सक सापकोटा बताए ।

    उनले भने, ‘किसानले उत्पादन बढाउनु खुसीको कुरा हो, उपलब्धताका हिसाबले हामी माछामासु र दूधमा आत्मनिर्भर भएका छौँ । किसानको आयस्तर बढाउनमा समेत यसले सहयोग गरेको छ ।’

    बागलुङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बाख्रा जोन कार्यक्रम सञ्चालनमा ल्याएको छ । चरण क्षेत्र राम्रो रहेका जैमिनी नगरपालिका, बागलुङ नगरपालिकाको बलेवा क्षेत्र र बरेङ गाउँपालिका समेटेर तय गरिएको बाख्रा जोन कार्यक्रमले पनि मासुको उत्पादनमा सहयोग गरेको हो ।

    त्यस्तै जिल्लाको ढोरपाटन नगरपालिका, गलकोट नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा केही किसानले व्यावसायिक रूपमा भेडापालन समेत गर्ने गरेका छन् ।

    व्यावसायिकरुपमा कालिज पाल्ने, स्थानीय जातका कुखुरा पाल्ने र उन्नतजातका खुकुरा पाल्नेको सङ्ख्यासमेत धेरै रहेको विज्ञ केन्द्रका प्राविधिक अधिकृत केशव शर्माले बताए ।

    मासुकै उत्पादनका लागि, बोका, साढे, राँगा, कुखुरा बङ्गुर र सुँगुर उत्पादन बढाउँदा जिल्ला मासुमा आत्मनिर्भर भएको किसानको बुझाइ छ ।

    जिल्लाभर १ लाख २७ हजार ४०० बाख्रा, ८ हजार ३०० भेडा, १५ हजार ३२१ सुँगुर÷बङ्गुर, ५ लाख ८९ हजार ८८० कुखुरा, ३ हजार ६४० हाँस र ३४५ वटा खरायो पालिएको तथ्यांक छ ।

    गत असार मसान्तसम्मको तथ्यांकलाई हेर्दा ८५ वटा पोखरीमा विभिन्न जातका माछापालन किसानले गरिरहेका छन् । जिल्लालाई पुग्ने गरि माछामासुको उत्पादन छ । बढी भएको माछामासु बाहिर निर्यात हुन्छ ।

    यहाँबाट भेडा, बाख्रा र राँगाको मासुको लागि बढी निर्यात हुने गरेका छ । किसानले करोडौं लगानी गरेर फार्म सञ्चालन गर्नेदेखि परम्परागत पशुपालन तथा माछापालनलाई स्तरोन्नति गरेर उत्पादन बढाएका हुन् ।

    कृषि तथा पशुजन्य उत्पादन वृद्धिका लागि यहाँका हरेक स्थानीय तहले १ करोडदेखि ३ करोडसम्म हरेक वर्ष लगानी गर्ने गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij