वेबटिभी खबर
बाग्लुङ । पहाडको टुप्पोमा रहेको मुठाचौर भन्दा माथि कुनै बस्ती छैन् । तमानखोला गाउँपालिका-२ मा पर्ने मुठाचौर बाग्लुङ जिल्लाकै उच्च स्थानमा रहेको बस्ती हो ।
भौगोलिक हिसाबले निकै विकटमा रहेको मुठाचौर पर्यटकीय हिसाबले भने निकै मनोरम छ । तमानखोलाको मत्वपूर्ण पर्यटकीयस्थल बराह ताल नजिकै रहेको मुठाचौरमा माटो, ढुंगा र काठले बनेका घर छन् ।
त्यस वरपर रहेको समथर भूभाग, मकै, आलु फल्ने बारीहरुले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गर्छ । अझ यहाँबाट देखिने दर्जनौँ हिमश्रृङ्खला र अनेकौँ दृश्यले यहाँको प्राकृतिक वातावरणलाई मनोरम बनाएको छ ।
यस ठाउँमा करिब एक सय घरपरिवार बसोबास गर्दै आइरहेका छन् । हरेक वर्ष स्थानीय उनीहरू पाँच महिना मुठाचौरमै बस्ने गर्छन् भने बाँकी समय कटेरी, भयरभबोंगा गाउँमा झर्ने गर्छन् । मुठाचौर माथिल्लो क्षेत्र (लेक)मा पर्छ भने भयरबोंगा, कटेरी गाउँ केही तल पर्छ ।
यहाँका अधिकांश नागरिक पशुपालन र खेतीपातीमै व्यस्त छन् । यो ठाउँ प्राकृतिक रुपले सुन्दर भए पनि सडक, विद्युत लगायत विकासका पूर्वधारले जोडिन नसक्दा ओझेलमा परेको स्थानीय चूणामणि छन्त्यालले बताए ।
‘यहाँका स्थानीय बर्खाको समय मुठाचौर बस्छन्, हिउँद लाग्यो भने बेसी झर्छन्, हिउँदमा हिउँ पर्छ, जाडो हुन्छ, बर्खामा पशु पाल्न पर्यो, त्यसले गर्दा यहाँ आउँछन्, यहाँ घाँस राम्रो हुन्छ, चरन क्षेत्र पनि धेरै छ, यो ठाउँ निकै राम्रो छ, तर यहाँ अहिलेसम्म विकास आउन सकेको छैन्’, छन्त्यालले भने ।
‘मोटरबाटो र बिजुली आएको भए यो ठाउँ निकै चर्चित हुन्थ्यो, पर्यटकलाई भित्र्याउन सकिन्थ्यो, यहाँ अहिले पनि खानेपानी चरम अभाव छ, भूगोलले पनि ठगेको ठाउँ पर्यो, अब विकास होला ।’
बर्खाको समयमा यहाँ बस्ने स्थानीय अँध्यारोमै बस्न बाध्य छन् । उनीहरूले भाँङ (सुकेको निगालो), दियालो र टुकी बालेर रात बिताउन बाध्य भएको छन्त्यालले बताए ।
मुठाचौरभन्दा केही तल रहेको कटेरी गाउँसम्म भने मोटरबाटो, बिजुलीको पहुँच पुगेको उनको भनाइ छ । यहाँसम्म पुर्याउन भौगोलिकरूपले निकै कठिनाई रहेको उनले जानकारी दिए । तीनै तहका सरकारले चासो देखाए मुठाचौरले मुहार फेर्न धेरै समय नलाग्ने उनले बताए ।
‘अहिले पनि यहाँ बस्ने नागरिक टुकी र दियालोको भरमा रात कटाउँछन्, कुवा, पोखरी र आकाशे पानीको भरमा छन्, सडक र विद्युत् पुग्न अब धेरै नलाग्ला, अहिले कटेरीसम्म पुगेको छ, स्थानीय, प्रदेश र केन्द्र सरकारले चासो देखाए यस ठाउँको विकास गर्न कुनै समस्या छैन्, अलिकति भूगोलका कारण समस्या हो’, उनले भने, ‘यसलाई विकास गर्नसके यो ठाउँ पर्यटकीय गाउँ बन्न सक्छ ।’
छन्त्यालले मोटरबाटोले जोड्न सके यहाँ उत्पादन भएका आलु, सिमीले राम्रो बजार पाउने बताए । सडक नभएकाले उत्पादन भएका कृषिउपज आफैँ उपभोग गर्नुको विकल्प छैन् । स्थानीय खिमा रसाइलीले आफूहरू वर्षौंदेखि अँध्यारोमा बस्न बाध्य रहेको बताइन् ।
उनले सडक, विद्युत् र खानेपानी नहुँदा उपभोग्य सामान घोडा खच्चडमा बोकेर उपभोग गर्दै आएको जानकारी दिइन् । रसाइलीले सडक नहुँदा पालिकाको केन्द्र बोङ्गादोभानदेखि सामान बोकेर उपभोग गर्नुपरेको गुनासो गरिन् ।
‘यहाँ बस्ने भनेको बर्खामा मात्रै हो, बर्खामा सबै सामान बजारबाटै ल्याउनुपर्छ, हिलोले गर्दा घोडा खच्चड पनि हिँड्न सक्दैनन्, त्यसले गर्दा मान्छेलेनै नुन, तेल र चामल बोकेर ल्याउनु पर्छ’, रसाइलीले भनिन् ।
‘खानेपानीको समस्या पनि निकै छ, आकाशको, पोखरीको पानी खानु पर्छ, मोटरबाटो आए त निकै सजिलो हुन्थ्यो हो, गाडीले सामान ल्याउँथ्यो होला, यहाँ फलेका आलु, सिमी पनि बजार झार्न सजिलो हुन्थ्यो होला, बिजुली बत्ति कहिले आउला यो ठाउँमा ?’
स्थानीय असारदेखिनै मुठाचौर जान सुरु गर्छन् भने असोज कात्तिक लाग्नासाथ गाउँ झर्ने गर्दछन् । मुठाचौरमा बस्ने समयमा उनीहरू पशुचौपाया पाल्ने, आलु, सिमी तथा लेकाली खाद्यबाली उत्पादन गर्ने गर्दछन् ।
गाउँपालिकाले कटेरी गाउँको शिरसम्म मोटरबाटोले जोडे पनि मुठाचौरसम्म पुर्याउन सकेको छैन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले मुठाचौर पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ भएको भन्दै यसको विकासका लागि गाउँपालिका लागि परेको बताए ।
अध्यक्ष बुढामगरले मुठाचौरको विकासका लागि पालिकाले योजना बनाएर क्रमागतरूपमा विकास गरीरहेको जानकारी दिए । यस ठाउँका नागरिकलाई आवश्यक पर्ने सबै खाले विकासका पूर्वाधार निर्माण गर्न सुरु भएको उनको भनाइ छ ।
‘मुठाचौरको विकास हाम्रो मुख्य प्राथमितामा छ, सबै विकास निर्माणका लागि हामीले कामको सुरुआत गरेका छौं’, अध्यक्ष बुढामगरले भने । अध्यक्ष बुढामगरले यहाँ आधा वर्ष मात्रै नागरिक बसोबास गर्ने भएको हुँदा पूर्वाधारले जोडिन ढिला भएको भन्दै केही समयमै विकासका पूर्वाधारले जोडिने बताए ।
मुठाचौरमा पर्यटकलाई आकर्षण गर्नसके यहाँका नागरिकको जीवनस्तर उकासिने भन्दै मुठाचौर नजिकै रहेको बराहतालको विकासमा समेत आफूहरू जुटेको उनको भनाइ छ।
बराह ताल र त्यहाँ रहेको मन्दिर पुनःनिर्माण भएको र आन्तरिक पर्यटक पनि बढ्न थालेको भन्दै अध्यक्ष बुढामगरले अब मुठाचौरमा पूर्वाधार निर्माण गरे ‘होमस्टे’ सञ्चालन गर्ने बताए ।
‘सबैभन्दा पहिले यहाँ सडक, विद्युत् र खानेपानीको व्यवस्थापन गर्छौं, अब यसलाई पर्यटकीय गाउँ बनाउने गरी काम गर्ने योजना बनाएका छौं’, अध्यक्ष बुढामगरले भने, ‘केही समय लाग्ला तर मुठाचौर निकै आकर्षक गाउँ बन्ने छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij