वेबटिभी खबर
काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसीप फुटबलमा बंगलादेशले पाकिस्तानलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको पहिलो खेलमा बंगलादेशले पाकिस्तानलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो ।
बंगलादेशको जितमा कप्तान सबिना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल थपे । खेलको तेस्रो मिनेटमा मोनिकाले गोल गर्दै बंगलादेशलाई पहिलो अग्रता दिलाइन् ।
त्यस्तै खेलको २८ औं मिनेटमा शोप्नाले गोल गर्दा बङ्गलादेश २-० ले अघि रह्यो । त्यसपछि खेलको ३१ औं मिनेटमा सबिनाले गोल गर्दै टिमको अग्रता तेब्बर बनाइन ।
यसैगरी खेलको ३५ औं मिनेटमा सबिनाले व्यक्तिगत दोस्रो गोल गर्दा बङ्गलादेश ४-० ले अघि रह्यो । खेलको ५९ औं मिनेटमा सबिनाले थप एक गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।
त्यसपछि खेलको ७७ औं मिनेटमा रितुले गोल गर्दै बङ्गलादेशलाई ६-० को जित दिलाइन् । बंगलादेशको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ३-० ले हराएको थियो ।
पाकिस्तानको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पाकिस्तानले भारतसँग ३-० गोलको हार व्यहोरेको थियो । यस जितसँगै समूह ‘ए’ मा रहेको बंगलादेशले ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।
पाकिस्तान दुई खेलमा अंकविहीन रहँदै अन्तिममा रहेको छ । प्रतियोगिताअन्तर्गत नै आज हुने दोस्रो खेलमा समूह बी’ मा नै रहेको भारतले माल्दिभ्ससँग खेल्दैछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij