वेबटिभी खबर
पर्वत । पर्वतको विहादी गाउँपालिकामा स्थानीय जातका गाई संरक्षण गर्न सुरु गरिएको छ । स्थानीय जातको गाई लोप हुँदै गएपछि गाउँपलिकाले संरक्षण गर्न अभियान सुरू गरेकाे हो ।
विहादी गाउँपालिकाले पालिकाभित्रका ६ वटै वडामा व्यावसायिक वा निर्वाहमुखीरूपमा स्थानीय जातका गाईपालन गरेका कृषकलाई प्रोत्साह गर्ने भएको छ । पर्वतमा पछिल्लो समय उन्नत जातका गाईपालन बढ्दै गएको छ ।
थोरै दूध दिने र गाईपालनको खर्चसमेत नउठ्ने भन्दै कृषकहरूले स्थानीय गाईपालन छाडेका छन् । पालिकाले सूचना जारी गर्दै स्थानीय जातका गाईपालक कृषकलाई गाईको सुत्केरी भत्ताका लागि आवेदन माग गरेको छ ।
कृषकलाई प्रोत्साहनसहित गाईपालनतर्फ आकर्षण बढाउन यस्तो अभियान थालिएको विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिए । गाई अभावमा गाँउमा विभिन्न हिन्दू संस्कारमा गाईको दस्तुर भन्दै नगद दक्षिणा राखेर उम्काउने गरिएको छ ।
यसले हिन्दू धर्म नै संकटनमा पर्ने र हिन्दू धर्मावलम्बी नयाँपुस्ताले स्थानीय जातको गाईको पहिचान नै नपाउने भएकाले संरक्षण गर्न थालिएको अध्यक्ष गुरुङको भनाइ छ ।
नगरपालिकाको यस कार्यक्रममा समावेश हुन गाई र गर्भाधारण गराइएको बहर स्थानीय हुनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवोधबाबु पौडेलले जानकारी दिए ।
पालिकाले न्यूनतम ५ हजारभन्दा बढी प्रोत्साहन भत्ता दिने तयारी गरेको छ । जिल्लाका सात स्थानीय तहमध्ये विहादीले पहिलो पटक स्थानीय गाईलाई संरक्षणका लागि अभियान थालेको हो ।
यसअघि जिल्लाका सबैजसो पालिकाले गाईभैंसीलाई सुत्केरी भत्ता दिने कार्यक्रम भने यसअघि नै सुरु गरेका थिए । भैँसी सुत्केरी भएपछि पाडापाडी तत्काल मासुकारूपमा उपभोग गर्ने प्रचलन बढेपछि सुत्केरी भत्ता दिएर पाडापाडी हुर्काउने र स्थानीय जानका लिमे पाराकोटे भैंसी संरक्षणका लागि उक्त कार्यक्रम लागू गरेका छन् ।
यस्तै पशु अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पनि यस वर्ष गाईभैँसीको सुत्केरी खर्चका लागि ६ लाख रूपैयाँ विनियोजन गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij