वेबटिभी खबर
काठमाडौं । नेपाल भ्रमणमा आएका चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्शुले बुधबार भक्तपुर भ्रमण गरेका छन् ।
बिहान सवा ९ बजेतिर भक्तपुर पुगेका उनी एक घन्टा घुमेर काठमाडौं फर्किएका हुन् । भक्तपुर नगरपालिकाको खौमाबाट उनको जम्बो टोलीसहित प्रवेश गरेका थियाे ।
उनी त्यहाँबाट दरबार क्षेत्र हुँदै टौमढी पाँचतले मन्दिर पुगेका थिए । उनी त्यहाँबाट गाडी चढेर भक्तपुरको पुरानो बस्ती हुँदै च्याम्हासिंह निस्केर त्यहाँबाट काठमाडौं फर्किएका हुन् ।
अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खौमास्थित भक्तपुर दरबार क्षेत्र प्रवेशद्वारमा स्वागत गरेका थिए ।
चान्शु सम्मिलित करिब ७० जनाको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा अवस्थित रामेश्वर मन्दिर, द्वारिकानाथ मन्दिर, बसन्तपुर दरबार, केदारनाथ मन्दिर, राष्ट्रिय कला संग्रहालय भवन, लुँ ध्वाका (गोल्डेन गेट), पच्पन्न झ्याल दरबार, वत्सला मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिद्धिलक्ष्मी मन्दिर, लापां देग, तब सत्तल, सिलु महादेव मन्दिर, चतुब्रम्ह महाविहारबाट पैदल यात्रा गर्दै टौमढीको पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको अवलोकन गरेकाे थियाे ।
प्रतिनिधिमण्डल टोलीको स्वागतमा केदारनाथसँगैको डबलीमा भैल प्याखं प्रदर्शन गरिएको थियो । अध्यक्ष चान्शुले भक्तपुरको सम्पदाहरू अवलोकनबाट आफू प्रभावित भएको बताउँदै भक्तपुरमा स्वागत गरेकोमा भक्तपुर नगरपालिका र सम्पूर्ण जनप्रतिनिधिहरूलाई धन्यवाद दिएका छन् ।
उनले चीनमा पनि सयौं वर्ष पुराना संस्कृतिहरू जीवन्त रहेको बताए । लीले भक्तपुरको प्रख्यात भैल प्याखंलाई अत्यन्त चासो दिएर अवलोकन गरेका थिए । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले ली चान्शुलाई भक्तपुरमा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता अवसरहरू प्राप्त हुने आशा व्यक्त गरे ।
चान्शुलाई सुवाल, बागमती प्रदेशसभा सदस्यद्वय सुरेन्द्रराज गोसाइँ र सृजना सैंजु, भक्तपुर नगर उपप्रमुख रजनी जोशी, भक्तपुर जिल्लाका प्रजिअ रूद्रादेवी शर्मा तथा भक्तपुर नगरपालिका कार्यपालिका सदस्यहरूले स्वागत गरेका थिए ।
भ्रमणपश्चात टौमढीको डबलीमा अध्यक्ष ली चान्शुले सांसद सुवाल र नगर प्रमुख प्रजापतिलाई मायाको चिनो प्रदान गरेका थिए । त्यस्तै सांसद सुवाल र प्रमुख प्रजापतिले अध्यक्ष चान्शुलाई ‘मयुरको झ्याल’ र पार्टी तथा नगरपालिकाका प्रकाशनहरू मायाको चिनोको रूपमा प्रदान गरेका थिए ।








Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij