वेबटिभी खबर
म्याग्दी । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा शिद्धबाबा पार्क निर्माण गरिएको छ ।
रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्र समेटिएको पर्यटकीय टोड्केको भ्रमणमा जाने पर्यटकहरूलाई लक्षित गरि रघुगंगा गाउँपालिकाले पार्क निर्माण गरेको हो ।
पर्यटन विभागको पर्यटन उपज साझेदारी कार्यक्रम अन्तरगत गाउँपालिका र विभागको साझेदारीमा रघुगंगा गाउँपालिका वडा नं-५ झिँको शिद्ध सामुदायिक वनमा उक्त पार्क निर्माण गरिएको हो ।
विभागको ७० लाख र गाउँपालिकाको ३१ लाख गरि १ करोड १ लाख लागत अनुमानको उक्त योजनामा खुसीहोम विल्डर्सले ६६ लाख ३२ हजार ८७ लाखमा ठेक्का सम्झौता गरेर पार्कको पूर्वाधार निर्माण गरेको हो ।
पार्क निर्माणको ७५ प्रतिशत भौतिक प्रगति भएको रघुगंगा गाउँपालिकाका इन्जिनियर सुदिप गौतमले जानकारी दिए । उनका अनुसार, पार्कमा ४ वटा विश्रामस्थल, एक वटा फाउन्टेन र एक वटा भवन (घर) निर्माण गरिएको छ ।
जंगलको बिचमा खाली रहेका ठाउँहरूलाई उपयोग गरि पदमार्ग समेत निर्माण गरिएको छ । पार्कभित्रको पदमार्गमा ढुंगाको सिँढी संगै ढुंगा छपाउने तयारी गरिएको छ । पार्कभित्र मात्रै १८२ मिटर पदमार्ग निर्माण हुनेछ ।
झिँ गाउँदेखि पार्कसम्म जाने पदमार्ग समेत निर्माण गरिएको छ । महेन्द्र मावि झिँ देखि २४० मिटर रेलिङ सहितको पदमार्ग निर्माण सम्पन्न भैसकेको छ ।
पार्कभित्र ढुंगाका छपनी विच्छाउने, पार्क परिसरमा फुल प्रजातिका बिरूवा रोपण र पार्कसम्म जाने पदमार्ग अन्तरगत भिरकुनामा प्रतिक्षालय बनाउने काम बाँकी रहेको वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले जानकारी दिए ।
‘झिँदेखि पार्क हुँदै टोड्के मोटरबाटो र पदमार्ग दुबैले जोडिएको छ, पार्कका पूर्वाधार बनेसंगै पर्यटकहरू थप आकर्षित भएका छन्, जंगलभित्रको पार्क शान्त वातावरणमा मनोरञ्जन लिनेहरुको लागि आकर्षणको केन्द्र बन्न थालेको छ’,वडा अध्यक्ष शेरमञ्जाले भने।
झिँलाई रघुगंगाले साँस्कृतिक गाउँ घोषणा गरेको छ । गाउँमा पर्यटक लोभ्याउनका लागि साँस्कृतिक पार्क समेत निर्माण सुरु गरिएको छ । यस क्षेत्रको भ्रमणमा जाने पर्यटकहरूको सुविधाको लागि झिँमा होमस्टे (घरवास) र टोड्केमा निजी क्षेत्रबाट रिसोर्ट सञ्चालनमा रहेको छ ।
समुद्री सतहदेखि दुई हजार ३८० मिटरको उचाईमा अवस्थित टोड्केबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका आधा दर्जन हिमालहरूलाई अवलोकन गर्न सकिन्छ भने सुर्योदय, गुँरासे जंगल, पहाडी भुगोल र ग्रामिण मगर संस्कृतीको अवलोकनका हिसावले महत्वपूर्ण पर्यटकीय स्थलकोरूपमा परिचित छ ।
रघुगंगा गाउँपालिकाको अगुवाईमा टोड्केमा फुटवल समेतको बहुउद्देश्यीय हाईअल्टीच्युट खेल मैदान निर्माण थालनी भएको छ । टोड्केमा वनभोज पार्क, टोड्के तपोभुमी शिवालय घेरावार, पार्क कम्पाण्ड, शौचालय र खानेपानी निर्माण लगायतका पूर्वाधारहरू निर्माण समेत गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij