Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

चितवनमा डेंगुका संक्रमित बढ्दै

चितवनमा डेंगुका संक्रमित बढ्दै

  • 334
    SHARES
  • चितवनमा डेंगुका संक्रमित बढ्दै

    चितवन । चितवनमा साउनयता तीन सय ४३ जनामा डेंगु संक्रमण भएको छ । दुई हजार पाँच सय २८ जनाको परीक्षण गर्दा ३ सय ४३ जनामा संक्रमण भएको हो ।

    स्वास्थ्य कार्यालय चितवनका अनुसार डेंगु संक्रमण जिल्लाका मुख्य शहरमा बढी देखिएको छ । कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा ५ हजार ४ सय ५४ जनाको परीक्षण गर्दा ३ सय ३ जनामा डेंगु देखिएको थियो ।

    यस वर्ष देखिएका बिरामीमा भरतपुर महानगरका धेरै रहेका छन् भने खैरहनी र रत्ननगर नगरपालिकामा संक्रमण फैलिएको छ । निरन्तरको वर्षापछि डेंगुका बिरामीको संख्या निकै बढेको प्रमुख चापागाईले जानकारी दिए ।

    वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी भदौ, असोजमा डेंगु देखिने गर्दछ । प्रमुखचापागाईले भने, ‘अहिले साउनदेखि नै डेंगुको संक्रमण देखिन थालेको छ ।’

    यो रोग घर वरिपरि बस्ने एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्राय बिहान र बेलुकाको समयमा टोक्ने गर्छ । वर्षात्को महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप हुने गरेको उनले बताए ।

    यो रोग अघिल्ला वर्षको तुलनामा अप्रत्यासितरूपमा बढ्दै गएको कार्यालयले जनाएको छ । लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्यांकी, आदिमा फुल पार्ने गर्दछ ।

    यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्ने स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले बताए । उनका अनुसार डेंगु रोगको ज्वरो पाँचदेखि सात दिनसम्म रहनसक्ने हुन्छ ।

    यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्षण देखापर्छ ।

    यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने जस्ता लक्षण देखापर्ने उनले जानकारी दिउ । डेंगु ज्वरो विषाणुका कारण हुने भएकाले यसको खासै उपचार हुँदैन ।

    डेंगुबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यस्तै आफू बस्ने ठाउँ वरिपरि फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न नदिने हो ।

    पानी जमिरहेको भए एक हप्तामा एक पटक पानी वरिपरि मोबिल वा मट्टितेल छर्कने र खाने पानीको ट्यांकीलाई पनि लामखुट्टे छिर्न गर्न नमिल्ने गरी ढाकेर राख्नु पर्दछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij