Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

बोध कथा : भिखमा हक

बोध कथा : भिखमा हक

  • आश्विन १, २०७९ शनिवार ०७:११ बजे
  • 424
    SHARES
  • बोध कथा : भिखमा हक

    निकै वर्ष अघिको कुरा हो । एउटा गाउँका एक जना धनाढ्यले आफ्नो आसपास र छिमेकी गाउँका विपन्न भिखारीलाई लक्षित गरेर हरेक महिनाको १ गते निश्चित रकम तोकेर दान दिने व्यवस्था गरेका थिए ।

    images

    परिवार संख्या र अवस्था हेरेर कसैलाई सय, कसैलाई ५०, कसैलाई २०, कसैलाई १० रुपैयाँ मासिक दान रकम उनले निर्धारण नै गरिदिएका थिए । 

    गरिब र भिख मागेर गुजारा गर्नेहरुले हरेक महिनाको १ गते आफूलाई तोकिएको रकम धनाढ्यको लेखापालसँग लिएर आउने गर्थे । धेरै वर्षदेखि यो क्रम निरन्तर चलिरहेको थियो । 

    त्यहीमध्ये एक जना ठूलो परिवार भएको भिखारीलाई मासिक सय रुपैयाँ दान तोकिएको थियो । वर्षाैदेखि उनले हरेक महिनको १ गते सय रुपैयाँ दान बुझेर घर लैजाने गरिरहेका थिए । 

    त्यसरी दान लैजान थालेको निकै वर्षपछि एक दिन तोकिएको दान लिन उनी पुग्दा धनाढ्यको लेखापालले उनलाई ५० रुपैयाँ मात्र दिए । लेखापालले दानको रकममा केही हेरफेर भएको जानकारी पनि गराए ।

    आफूले पाउँदै आएको दान रकम अप्रत्यसित रुपमा घटाइदिएकोमा उनले तत्काल आपत्ति जनाए । भिखारी निकै क्रुद्ध बने । उनले तोकिएको रकममा अचानक घटोत्तरी गरेर आफूमाथि अन्याय भएको जिकिर गरे । ती भिखारीले लेखापालसँग प्रश्न गरे, ‘कुन अधिकारले र किन अचानक मेराे पैसा घटाइयो ?’

    लेखापालले भने, ‘जसले तपाईंहरुलाई पैसा दिँदै आउनु भएको थियो, उहाँको छोरीको विवाह हुँदैछ । विवाहमा धेरै खर्च लाग्छ । एकमात्र छोरी भएकाले भव्य विवाह गर्नुपर्ने हुन्छ । विवाहमा धेरै खर्च हुने भएकाले तपाईंहरुलाई दिने दानमा आधा कटौती गरिएको हो ।’

    लेखापालको प्रश्न सुनेर ती भिखारी थप क्रोधित भए । उनले लेखापालको टेवुल ठोक्दै छोरीको विवाहको नाममा आफूले खाइपाइ आएको सुविधा कटौती गर्ने निर्णय कुनै हालतमा मञ्जुर नहुने अडान राखे ।

    ‘मेरो पैसा काटेर आफ्नो छोरीको विवाहमा खर्च गर्ने ?,’ भिखारीले क्रुद्ध हुँदै प्रश्न गरे, ‘यो मलाई मञ्जुर छैन, उनले छोरीको विवाहमा हाम्रो पैसा किन खर्च गर्ने ? विवाहको नाममा पैसा लुटाउनु छ भने आफ्नै पैसा लुटाउन !'

    धेरै वर्षदेखि भिखमै भए पनि सय रुपैयाँ पाउँदै आएका भिखारीलाई त्यसको आदत भइसकेको थियो । सय रुपैयाँको आफूलाई हकदार ठान्न थालिसकेका थिए । त्यस रकमबाट आधा कटौती हुँदा उसलाई आफ्नै पैसा गएजस्तो भान भयो । 

    बाेध कथाकाे भाव

    हामीले पनि जीवनमा जे पाएका छौं त्यसलाई आफ्नो ठान्न थालिएको छ । त्यसमा अलिकति पनि कमबेसी भयो भने विरोध सुरु भइहाल्छ । तर जे प्राप्त भएको छ त्यसमा धन्यवाद कहिल्यै दिइएको हुँदैन । यी भिखारीले पनि सय रुपैयाँ प्रति महिना पाउँदा कहिल्यै धन्यवाद भनेनन् । तर भिखमा आधा कटौती गर्नासाथ विरोध सुरु गरे । 

    यो बोध कथाको भाव भनेको हामीले प्राप्त गरेको जीवनप्रति कहिल्यै अनुग्रहित वा धन्यवाद भाव नजागेकोमा लक्षित छ । जीवनप्रति धन्यवाद छैन तर मृत्युप्रति भने गुनासै गुनासाे छ । सुखका लागि धन्यवाद छैन तर दुःखमा ठूलो आपत्ति छ । हामीले भगवानलाइ पनि अधिकांस दुःख पर्दा सम्झन्छौं । कहिल्यै धन्यवाद भन्न सम्झैनौं । जे प्राप्त भएको छ त्यसतर्फ अनुग्रहित हुनु त कता हो कता उल्टै प्राप्तिप्रति ढाड फर्काए बसेका छौं । हो यसकारण पनि हामी बढी दुःखी छौं कि ? जे पाउन सक्थ्यौं सायद त्यसको ढोका पनि बन्द छ कि ? 


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology