Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

गठबन्धनका नाममा पाथिका सामान मानामा हाल्न खोजे पोखिन्छ : विनोद वान्तवा [अन्तर्वार्ता]

गठबन्धनका नाममा पाथिका सामान मानामा हाल्न खोजे पोखिन्छ : विनोद वान्तवा [अन्तर्वार्ता]

  • 2.2K
    SHARES
  • गठबन्धनका नाममा पाथिका सामान मानामा हाल्न खोजे पोखिन्छ : विनोद वान्तवा [अन्तर्वार्ता]

    प्रदेश १ को भोजपुर जिल्ला नेपाली कांग्रेसका प्रभावशाली नेताहरुको गृहजिल्ला हो । प्रभावशाली नेताहरु भए पनि भोजपुरमा नेपाली कांग्रेसले २०१५ सालदेखि अहिलेसम्मको आमनिर्वाचनमा चुनाव जित्न भने सकेको छैन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन गरेर जाने निर्णय भएसँगै भोजपुरमा पनि चुनावी माहौल तातिएको छ । यसै सन्दर्भमा नेपाली कांग्रेसका भोजपुर जिल्ला सभपति विनोद वान्तवासँग आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनाव, कांग्रेसको अवस्था, गठबन्धन हुँदा कांग्रेसलाई पार्ने प्रभाव लगायतका विषयमा गरिएको कुराकानीको सम्पादीत अंश : 

    images

    पहिलो आम निर्वाचन २०१५ सालदेखि भोजपुरमासंसदीय निर्वाचन जित्न नसकेको कांग्रेसले यो पटक प्रतिनिधसभा सदस्यमा सिट नपाउने अवस्था हो ? 

    नपाउने नै हो भनेर ग्यारेन्टी त भएको छैन् । अहिले दल र गठबन्धनका नेताहरूले छलफल गरिरहेका छन् । अहिले नै नपाउने भयो भनेर म घोषणा गर्न चाहान्न र सक्दिनँ ।

    भोजपुरमा पार्टिभित्रको असन्तुष्टी र अन्तरघातका कारण सँधै कम्युनिस्टहरुले जित्ने गरेको हो भनिन्छ । यो सत्य हो ? 

    तपाइँको प्रश्नलाई म शतप्रतिशत स्वीकारर्दिनँ । तर केही प्रतिशत त्यो कुरा सत्य हो । मुख्य कुरा आफू कमजोर हुँदा अरूले निर्वाचनमा जित हासिल गर्छन ।

    यसलाई म के भन्छु भने हाम्रो संगठन निर्माण गर्ने कमजोरीका कारण पनि उनीहरूले जितेका छन् । म पार्टी सभापति भएपछि तत्काल भोजपुरका ८१ वटै वडामा पुगेको छु । त्यहाँ पुग्दा कार्यकर्ता र जनताले कांग्रेसका नेता पनि गाउँ आउँदा रहेनछ । कांग्रेसका नेताहरू पनि रहेछन् भनेको सकारात्मक प्रतिक्रिया पाएको छु ।

    नेता भेट्न नपाए पनि निरन्तर कांग्रेसलाइ मतदान गरिरहेका जनता पनि सोही क्रममा भेटें । त्यसले मलाई हामी संगठन निर्माण गर्ने शिलशिलामा पहिला दुरदराजका गाउँहरूमा पुगेका रहेनछौँ भन्ने महशुस गरायो ।

    हामीले धेरै पटक चुनाव लड्यौँ र हार्याै । तर हामीले हारेको भोलिपल्ट जनतालाई धन्यवाद दिन जानुपथ्र्याे । निर्वाचनमा पराजीत भएपनि तपाईहरूको साथमा सधैँ कांग्रेसका नेता कार्यकर्ता रहिरहने छन् भनेर धन्यवाद दिनुपथ्र्याे । तर हामी मतदान भएपछि बाकस लिएर गणना हुने ठाउँ र नतिजा घोषणा गरेको भोलिपल्ट काठमाडौं हिड्यौँ । अनि हामी कसरी चुनाव जित्छौँ ? फेरी पाँच वर्षपछि चुनाव आउँछ । बाकस थाप्न जान्छौँ । नतिजा पुरानै दाहोरिन्छ ।

    भोजपुरका जनता सँधै परिवर्तनको पक्षमा छन् । हामी जनताको घरदैलोमा कम गएकाले उहाँहरुसँग हाम्रो सम्पर्क अलि कम भएको मात्रै हो । अब कांग्रेस पार्टी भोजपुरमा बलियो छ ।

    पार्टी भित्रकै किचलोबाट फुर्सद नभएर संगठन निर्माण गर्न नसकेको आरोप पनि छ । यो आरोप सत्य हो ? 

    कांग्रेस पार्टी भनेको इतिहास बोकेको, ठूलो, बलियो र पुरानो पार्टी हो । यहाँ धेरै प्रकारका नेता कार्यकर्ताहरू छन् र छौँ । कोही कार्यकर्ता अरूको रिस गर्ने मात्रै छौँ । कोही कार्यकर्ता सबै साथीभाइ समान ढङ्गले अघि बढ्नुपर्छ भन्ने छौँ । त्यसले गर्दा पार्टी भित्र केही न केही किचलो रही रहन्छ । कांग्रेस पार्टी भनेको अहिले लोभी पापीहरूको झुन्ड भएको छ ।

    एकले अर्काको प्रगति देख्न नसक्ने भए । पार्टीका शीर्ष नेताहरूलाई भेट्न जाँदा टिकट जसलाई दिनुहुन्छ दिनुहोस् हामी निर्वाचन जितेर आउँछौँ, निर्वाचनमा मतदान गरेर आउँछौँ, भोट मागेर आउँछौँ भन्नुपर्ने ठाउँमा हामी फलानालाई चाँहि टिकट दिनै हुन्न भन्छौँ । त्यस्ता केही व्यक्तिहरूको स्वार्थी भावनाका कारण कांग्रेसभित्रको किचलो देखिन्छ ।

    कांग्रेसभित्र लोभी पापीको झुन्डका कारण नेताहरू दिग्भ्रमित भए । नेताहरूले राजनीतिलाई व्यापारमा परिणत गरे । पैसा भएको व्यक्तिलाई पार्टीमा ल्याउनुपर्ने, नेताको नजिकको व्यक्ति जसले नेताले भनेको कुरै काट्दैनलाई ल्याउनुपर्ने जस्ता कारणले भोजपुर कांग्रेसलाई केही न केही घाटा पुगेको हो ।

    एउटै सिट रहेको भोजपुरमा प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट माओवादीले पाउने निश्चित जस्तै देखियो । दुवै प्रदेशसभामा कांग्रेसले दावी गरेको छ । दावी गरे पनि प्रदेशसभाका एउटा मात्र कांग्रेसले पाउने हो ? 

    गठबन्धनलाई हामीले विशिष्टिकरण गरेर पनि व्याख्या गर्नुपर्छ । जस्तो हिजोको एमाले र माओवादीको गठबन्धनले जितेका प्रतिनिधि छन् ।

    अहिले उहाँहरूले स्वभावीक ढंगले ती ठाउँमा आफूहरूलाई संघ दिनुपर्छ भन्ने कुरा हो ।तर त्योभन्दा कांग्रेस नेतृत्वले आफ्नो जमिनलाई भुल्नु हुँदैन् ।

    ढुंगामा रोप्दा उम्रिन्छ कि माटोमा रोप्दा उम्रिन्छ भन्ने फरक छुट्याउन सक्नुपर्छ । मोटो पनि फरक फरक प्रकृतिका छन् ।

    अहिले माओवादीका साथीहरूले दाबी गर्दै गर्दा म के भन्न चाहन्छु भने अहिले भोजपुरमा कांग्रेसको २५ हजार भन्दामाथि मत छ । गठबन्धनसँग १५ हजार भन्दामाथि मत छ । १५ र २५ कसरी मिल्छ ?

    अर्काे कुरा पाथीमा भएको कुरालाई मानामा हाल्न खोज्दा सबै मानामा जाँदैन पाखा पनि जान्छ भन्ने कुरालाई बुझ्न जरूरी छ । त्यस्तैले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुझिदिनुपर्ने कुरा के हो भने गठबन्धनका नाममा भाग लिने होइन कि संविधानलाई बचाउने र समाजका कुरितिलाई हटाउने हो ।

    त्यस्तैले भोजपुर जिल्ला कांग्रेस इतिहास भएको जिल्ला पनि हो । संघ यसपटक कांग्रेसलाई छोड्नुपर्छ ।

    प्रदेशसभामा कांग्रेसले दुवै सिट दाबी गरेकोमा एक सिट पाउने भन्ने कुरा मैले पनि सञ्चार माध्यमहरूबाट नै सुनेको छु । नेतृत्वले जसरी निर्णय गर्छ हामीले त्यसलाई सहज रुपमा स्वीकार गरेर जानुपर्ने हुन्छ । 

    त्यसमा हाम्रो विद्रोह (बागी) रहँदैन । तर अहिलेसम्म प्रदेशमा कति सिट पाउँछौँ भन्नेबारे मलाई कुनै जानकारी छैन ।

    प्रदेशसभाका दुईमध्ये कांग्रेस बलियो रहेको क्षेत्र चाहिँ कुन हो ?

    कांग्रेस भोजपुरमा बलियो नै छ । तर कुन क्षेत्र अलि धेरै बलियोको कुरा गर्दा प्रदेश ‘क’ अघि आउँछ ।

    प्रदेश सभा (क) मा सांगठनिक हिसाबले कांग्रेस बलियो देखिए पनि त टिकट त अन्तै जाने भो हैन ? 

    मैले पनि त्यही सुनिरहेको छु । यो विषयमा आधिकारीक जानकारी भने पाएको छैन् ।

    पार्टी सभापतिसँग मेरो भेट पनि भएको छैन । तर पार्टीका अन्य नेताहरूसँग कुरा गर्दा त्यहाँको अवस्थालाई विश्लेषण गरेर भनेका छौँ ।

    तर त्यही क्षेत्र प्रदेश क बाट नेकपा एकिकृत समाजवादीका नेतासमेत रहेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई उम्मेदवार हुने होला नि ? 

    गठबन्धनमा भागबन्डा हुँदा उहाँहरूले माग्नु स्वभावीक हो । तर मलाई कस्तो लाग्छ भने उहाँ उम्मेदवार भएको खण्डमा हामीले काँध थापेर जिताउने अवस्था अलि क्षीण हुन सक्छ । हामीले काँध त थाप्छौँ । जनताले त्यसलाई साथ नदिन सक्छन् भन्ने मेरो बुझाई हो ।

    मतदान जनताले गर्ने भएकाले त्यसलाई जनताले कसरी लिन्छन् भन्नेमा बढी भरपर्छ । उहाँहरूले यो कुरा बेलैमा सोच्दा राम्रो हुन्थ्यो । 

    अर्को क्षेत्रमा कांग्रेस कमजोर रहेकाले प्रतिनिधिसभा र प्रदेशसभामा त भोजपुर कांग्रेसरहित हुने भो नि ? 

    प्रदेश ‘ख’ मा पनि कांग्रेस त्यति धेरै कमजोर होइन् । मैले अघि पनि तपाईलाई भने म जिल्लाका ८१ वटै वडामा पुग्दा त्यहाँका जनताले हामीलाई भरोसा गरेका छन् ।

    तपाईलाई अर्काे कुरा भन्छु, उम्मेदवारको हिसाबले पनि मतदालाई उत्साह प्रदान गर्छ । यदी बलियो पात्र आयो भने प्रदेश ‘ख’मा पनि कांग्रेस कमजोर रहँदैन ।

    उदाहरण लिउँ न, एउटा सात वर्षको बालकलाई २० केजीको भारी बोकाइदिनुभो र ३५ वर्षकोेलाई १० केजी बोकाइदिनु भो भने त्यसले फरक पार्न सक्छ । ३५ वर्षकोलाई ५० केजी र ७ वर्षकोलाई आदी केजी बोकाइदिनुपर्छ ।

    मेरो भाइ भतिजो हो जितिहाल्छ भनेर सात वर्षको बच्चालाई उम्मेदवार बनाइयो भने त्यस्तो अवस्थामा कांग्रेस कमजोर हुनसक्छ । नत्र भोजपुरमा कांग्रेस त्यति धेरै कमजोर पनि छैन । 

    यसै संगठन कमजोर रहेको भोजपुरमा गठबन्धनका नामममा अन्य दललाई भोट हाल्नुपर्ने बाध्यताले राजनीतिकरुपमा कांग्रेसलाई घाटा गर्दैन ?

    घाटा त लाग्छ । एउटा उखान छ ‘एउटै काम्लोमा सातु मुछेपछि घिनाउनु हुँदैन ।’ तर मुलुकको सम्वृद्धि र संविधानको रक्षाका निम्ति कतिपय कुरामा कांग्रेसले घाटा पनि स्वीकार्नु पर्ने हुन्छ ।

    के त्यसो भए यो गठबन्धन भोजपुर कांग्रेसका लागि अनुचित देखिएको हो  ?  

    विभिन्न समयमा विभिन्न स्वार्थहरू जन्मिन्छन् । भोजपुर कांग्रेसमा पनि केही व्यक्तिहरूको स्वार्थ छ । त्यही स्वार्थका कारण भोजपुर जिल्लालाई वास्ता नगरिएको हो । भोजपुरलाई कांग्रेसको एउटा मियो नम्झिएका कारण यस्तो भएको हो ।

    व्यक्तिगत रूपमा कसैलाई लाल्छना लगाउँन हुँदैन तर केही यस्ता व्यक्ति छन् । जसको स्वार्थका कारण भोजपुरमा कांग्रेस कमजोर देखिएको छ ।

    केन्द्रलाई गठबन्धनम जानु हुँदैन भनेर भन्नु भएन ? 

    भनेका छौँ । तर कांग्रेस पार्टी लोभ र मोह भएका व्यक्तिहरूको झुण्ड भयो । यति लामो इतिहास बोकेको यति ठूलो पार्टीमा यस्तो हुनुहुँदैन्थ्यो । तर भयो बनाइयो । 

    कांग्रेसको शीर्ष नेतृत्वले पदलाई व्यापारीकरण गरेकाले यस्तो अवस्था आएको हो । भोजपुरले निरन्तर भन्दै आएको छ कि भोजपुरलाई त्यति कमजोर नसोचियोस् । 

    २०१५ सालको चुनावमा निर्वाचित भएको जिल्ला, सिंगो कांग्रेसको इतिहास बोेकेको जिल्ला, धेरै शहिद भएको जिल्लालाई त्यति कमजोर नसोचियोस् ।

    तर स्वार्थका कारण भोजपुरलाई कमजोर सोचिन्छ भने कांग्रेस पार्टी देशभर नै कमजोर भएर जान्छ । भोजपुर जिल्ला ७७ जिल्लामध्ये एउटा एतिहासिक जिल्ला पनि हो । र कांग्रेस पार्टीको एउटा ऐना पनि हो । त्यसैले कमजोर नसोचियोस् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology