वेबटिभी खबर
सिन्धुपाल्चोक । चौतारा-मेलम्ची सडकको निर्माण पूरा भएपछि झ्याडी खोलामा रहेको झोलुङ्गे पुलमा मान्छे हिँँड्न छाडेका छन् । मान्छे नहिँड्ने र त्यसको संरक्षण पनि नभएकाले अहिले सो पुलको भग्नावशेष मात्र बाँकी छ ।
सडकको विकाससँगै खोला र नदीमा पक्की पुल बन्न थालेपछि झ्याडीखोलाको जस्तै जिल्लाका एक दर्जन झोलुङ्गे पुल ओझेलमा परेका हुन् । पक्की पुल बनेपछि मान्छे झोलुङ्गे पुलमा हिँड्न छाड्ने र त्यसको संरक्षण पनि नगर्ने भएकाले पुलको भग्नावशेष मात्र बाँकी रहेको कुञ्चोकका जीवन गिरीले बताए ।
एक गाउँबाट अर्को गाउँमा जाँदा खोला र नदी तर्नका लागि सहज बनाउन निर्माण गरिएका त्यस्ता पुल कुनै समय मानिसका लागि यातायात र सञ्चार क्षेत्रमा वरदान सावित भएका थिए ।
अहिले यातायात र सञ्चारको आधुनिकीकरणसँगै झोलुङ्गे पुलको महत्व घटेको छ । पहिला-पहिला जिल्लाको पश्चिमी क्षेत्रका अधिकांश जनता हिँड्डुल गर्ने सिन्धुखोलाको झोलुङ्गे पुलको भग्नावशेष मात्र बाँकी छ ।
मेलम्चीमा मोटरबाटो निर्माण हुँदा पक्की पुल बनेपछि यसबाट मान्छे हिँँड्न छाडेको र त्यसको संरक्षण पनि नगरिएकाले सो पुल काम नलाग्ने अवस्थामा पुगेको स्थानीयवासी पुरुषोत्तम घोरासैनीले जानकारी दिए ।
तालामाराङ, खाल्डेखोला, शिखरपुरको सहरेखोलालगायत यस क्षेत्रका एक दर्जन जति पुल सडकको विस्तरसँगै उपयोगविहिन बनेका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij