सुर्खेत । कर्णाली प्रदेशमा अपाङ्गता भएका सात हजारभन्दा बढी बालबालिकालाई पुनर्स्थापना सेवा आवश्यक रहेको देखिएको छ । अपाङ्गताहरूका क्षेत्रमा कार्यरत विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका अनुसार प्रदेशभर त्यस्तो सेवा चाहिने बालबालिकाको संख्या सात हजार आठ सय ४२ रहेको छ ।
केन्द्रका संयोजक नित्रबहादुर देउजाले पछिल्लो जनगणनाले कर्णालीमा आठ हजार तीन सय सात जना शारीरिक अपाङ्गता भएका बालबालिका रहेको देखिएको बताए ।
त्यसमध्ये एक हजार आठ सय ७७ जना बालबालिका उपचाररत छन् भने चार सय ६५ जनाले उपचार पूरा गरेका छन् ।
प्रदेशमा सबैभन्दा बढी सुर्खेतका एक हजार ६ सय ५२ जना अपाङ्गता भएका बालबालिकालाई पुनर्स्थापना सेवा आवश्यक रहेको बताइएको छ । त्यस्तै, दैलेखमा एक हजार तीन सय ३४ जना, सल्यानमा एक हजार दुई सय २० जना, जाजरकोटमा आठ सय आठ जना, कालीकोटमा सात सय १० जना र रूकुम–पश्चिममा सात सय ९८ जनाको उपचारलगायतका पुनर्स्थापना सेवाको जरुरी छ ।
जुम्लामा पाँच सय पाँच जना, मुगुमा दुई सय ८० जना, डोल्पामा एक सय ९२ जना र हुम्लामा दुई सय ६२ जना अपाङ्गता भएका बालबालिकालाई पुनर्स्थापना सेवा आवश्यक रहेको जनाइएको छ ।
केन्द्रका संयोजक देउजाले कर्णालीमा अझै पनि अपाङ्गता भएका सबै बालबालिकाको पहिचान भने हुन नसकेको बताए ।
कर्णालीमा पुनर्स्थापना सेवा आवश्यक रहेका बालबालिकाको संख्या ठूलो देखिएपछि यहाँ पनि अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र स्थापनाको तयारी गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology