वेबटिभी खबर
बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा लामो समयदेखि बन्द रहेको हवाई सेवा पुनः सञ्चालन आउने तयारी भएको छ ।
गत चैतदेखि बन्द रहेको धनगढी-बैतडी-धनगढी हवाई सेवा पुनः सञ्चालनमा ल्याउने तयारी भएको हो । यही असोज ८ गते शनिबारदेखि नियमितरूपमा यहाँ उडान हुने समिट एयर बैतडीका प्रतिनिधि कृष्णदत्त भट्टले जानकारी दिए ।
साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकोमा गत चैत १० गते यहाँ अन्तिम पटक उडान भएको थियो । असोज ८ गतेदेखि शनिबार नियमितरूपमा उडान हुने भट्टको भनाइ छ ।
‘दसैँ तिहारको बेला यात्रु नियमित चाप हुन्छ’, उनले भने, ‘असोज ८ गते शनिबार यहाँ फ्लाइट हुने जानकारी आएको छ, त्यसपछि नियमितरूपमा उडान हुन्छ ।’
यसअघि बिहीबार हुँदै आएको हवाइ सेवा असोज ८ गतेदेखि हरेक शनिबार साप्ताहिकरूपमा धनगढी-बैतडी-धनगढी उडान हुने समिट एयरले जनाएको छ । नियमितरूपमा यहाँ हवाई उडान हुने भएपछि यहाँ नागरिक खुसी भएका छन् ।
हवाई उडान नियमित हुँदा आकस्मिकरूपमा बिरामी भएकालाई लैजान तथा अन्य कामका लागि जान सहज हुने स्थानीय कपिल केसीले बताए । सार्वजनिक गाडीको यात्राबाट धनगढी पुग्न कम्तीमा ८ घण्टा लाग्ने गर्दछ ।
यसअघि यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा बन्द भए पनि अब नियमितरूपमा सञ्चालन हुने जनाइएको छ । बैतडी-धनगढी हवाई भाडा अबदेखि ५ हजार कायम गरिएको छ ।
यसअघि ४ हजार ६ सय रहेको थियो । गत चैतमा हवाई सेवा सञ्चालनमा रहेको बेला बैतडीदेखि धनगढीसम्मको हवाई भाडा ४ हजार ६ सय थियो । बैतडीबाट धनगढी १७ मिनेटमा पुगिन्छ ।
हवाई कम्पनिले तोकेको भाडा महँगो भएको यात्रुहरूको गुनासो गरेका छन् । १७ मिनेटमै पुगिने यात्रामा भाडा भने महँगो भएको स्थानीय भागरथी भट्टले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij