Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

यस्ता पनि प्रधानाध्यापक छन् जसले विद्यार्थीलाई बोकेर तार्छन् खोला

यस्ता पनि प्रधानाध्यापक छन् जसले विद्यार्थीलाई बोकेर तार्छन् खोला

  • 666
    SHARES
  • यस्ता पनि प्रधानाध्यापक छन् जसले  विद्यार्थीलाई बोकेर तार्छन् खोला

    हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–१२ धेत्रे दमारमा रहेको कालाभैरव प्राथमिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई प्रत्येक बिहान ९ बजे खोला तार्नुपर्ने विद्यालयका प्रधानाध्यापक चेतबहादुर घलेको दैनिकी नै बनेको छ । विद्यालय जाने बाटोमा पर्ने सिमात खोलामा पुल नहुँदा विद्यार्थीलाई खोला तार्नुपर्ने उनको दैनिकी हो ।

    विद्यार्थीलाई खोला तारेर विद्यालय पुगेर भिजेकै कपडामा अध्यापन गराउने गरेको प्रअ घलेले बताए । वि.सं. २०७० बाट शिक्षण पेशामा लागेका ३९ वर्षीय घले करिब ८ महिना अगाडि घर नजिकै रहेको उक्त विद्यालयमा सरुवा भएर आएका हुन् ।

    उनी भन्छन्, ‘घर पाएक पारेर त आइयो तर विद्यार्थीको सुरक्षाका कारण भिजेकै कपडामा पढाउन बाध्य छु ।’ खोला तारेर विद्यालय पुर्याइएका विद्यार्थी पढ्ने विद्यालय भवनको पनि एकपाखो पर्खाल भूकम्पले भत्काएर जोखिम भइसकेको उनी बताउँछन् ।

    वर्षातमा मौसम हेरेर कहिलेकाहीँ त बीचमा नै विद्यालय छोडेर विद्यार्थीसहित खोला तरिहाल्नुपर्ने बाध्यता रहेको प्रअ घलेले बताए । कतिपय बालबालिका त खोलाको जोखिमकै कारण विद्यालय नआउने उनको भनाइ छ ।

    उनीले आफू कालाभैरवमा आइसकेपछि वडा कार्यालय, गाउँपालिका र मन्त्रालयसम्म विद्यालय भवन र पुलको विषय लिएर पटक–पटक अनुरोध गर्न पुगेको बताउँछन् । उक्त स्थानबाट नजिक रहेका अरू दुई वटा विद्यालय पनि छन् तर उक्त विद्यालयमा पुग्न पनि एकदेखि दुई घण्टा थप समय लाग्ने प्रअ घलेले जनाए ।

    कक्षा ३ सम्म अध्ययन हुने विद्यालय भवन निर्माणका लागि विभिन्न निकायमा पहल गर्दा ‘एस्थर बेञ्जामिन’ र ‘चाइल्ड रेस्क्यु’ नामक सामाजिक संस्थाले असार महिनामा दुई कोठे भवन बनाउने प्रतिबद्धता जनाएको तर सम्झौता भने हुन बाँकी रहेको प्रअ घलेले जानकारी दिए ।

    सिमात खोला तर्न वर्षामा विद्यार्थीहरूले समस्या भोग्नुपरेको उनको भनाइ छ । तामाङ समुदायको बाहुल्यता रहेको विद्यालयमा हाल २७ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये छात्रा १७ र छात्र १० जना रहेको विद्यालयले जनाएको छ ।

    हाल यहाँ बालकक्षादेखि कक्षा ३ सम्मको अध्ययन हुने गरेको छ । बकैयाको धेत्रे, चुवार पाखा, गोदाम डाँडा, अंजिगरेलगायतका स्थानबाट विद्यार्थी करिब ४५ मिनेट पैदल हिँडेर विद्यालय पुग्ने गरेका छन् ।

    भदौ ३१ गते ठूलो पानी परेका कारण विद्यार्थीले खोला तर्न नसक्दा परीक्षा नै स्थगित गर्नुपरेको प्रअ घलेले बताए । विद्यालयले हाल लिइरहेको त्रैमासिक परीक्षामा सहभागी हुन विद्यार्थी आउन नसकेपछि परीक्षा स्थगित गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयसिंह घिसिङले बताए ।

    प्रअसँगै आफू पनि विद्यार्थीलाई खोला तार्न जाने गरेको उनले बताए । धेत्रे र चुवार पाखाका बालबालिकालाई खोला बढेका बेला शिक्षक र स्थानीयले साना बालबालिकालाई खोला तारिदिने गरेको स्थानीय समाजसेवी रूपेन घलेले जानकारी दिए ।

    स्थानीय, अभिभावक तथा विद्यालयका प्रअले झोलुङ्गे पुल नहुँदा विद्यार्थी विद्यालय आवत–जावत गर्न समस्या परेको पालिका तथा वडालाई जानकारी गराए पनि झोलुङ्गे पुल निर्माण गर्न सरोकारवाला निकायले चासो नदेखाएको उनीहरूको गुनासो छ ।

    वि.सं. २०५३ मा स्थापना भएको यस विद्यालयमा राहत दरबन्दी एकजना प्रधानाध्यापक र एकजना कार्यालय सहयोगी मात्रै रहेका छन् । बालकक्षा शिक्षिका भने अभाव रहेको विद्यालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij