Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बाग्लुङमा डेंगु संक्रमण बढ्दो, परीक्षणका लागि किट अभाव

बाग्लुङमा डेंगु संक्रमण बढ्दो, परीक्षणका लागि किट अभाव

  • 381
    SHARES
  • बाग्लुङमा डेंगु संक्रमण बढ्दो, परीक्षणका लागि किट अभाव

    बाग्लुङ । बाग्लुङमा डेंगु संक्रमण बढ्दै गएको छ । जिल्लामा डेंगुकाे लक्षण भएका बिरामी बढेपछि धवलागिरि अस्पतालमा चाप बढिरहेको हो ।

    स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत भदौमा मात्रै २९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पर्याप्तरूपमा डेंगु परीक्षणका लागि किटको अभाव हुँदा धेरै शंकास्पद बिरामीको परीक्षणमा समस्या भएको छ ।

    जिल्लामा हालसम्म यो वर्षमा ३५ जनामा डेंगु संक्रमण पुष्टि भएकोमा ९ जनाको अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने र एक जनाको जटिल अवस्थाका बीच थप उपचारका लागि पोखरा पठाइएको स्वास्थ्य कार्यालय बाग्लुङका जनस्वास्थ्य निरीक्षक तथा निमित्त कार्यालय प्रमुख लक्ष्मी शर्माले जानकारी दिइन् ।

    ‘सुरुमा किट अभाव भएको थियो, अहिले केही मात्रमा किट आएको छ भने थप आउने क्रम जारी छ । तर डेंगुका बिरामी दिनानुदिन बढ्दै जाँदा पर्याप्त किट आवश्यक हुन्छ’, उनले भनिन्, ‘अहिले डेंगु लक्षण देखिएका बिरामीको रगत परीक्षण गर्ने र रगतमा शंकास्पद देखिए मात्रै किटको प्रयोगमार्फत परीक्षण गर्ने गरिएको छ ।’

    स्वास्थ्य कार्यालयमा अहिले ३० थान किट रहेको छ भने थप दुई सय किट आउने क्रममा रहेको छ । जिल्लामा डेंगु रोगको लक्षणसहितका बिरामीको संख्या ह्वात्तै बढेको धवलागिरि अस्पताल बाग्लुङका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र विक पोखरेलले जानकारी दिए ।

    ‘अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने तथा रिंगाटा लाग्ने बिरामीको संख्यामा वृद्धि भएको छ, तर सबैमा डेंगु संक्रमण भने देखिएको छैन्, हामीले रगतका माध्यमबाट र अत्यधिक शंकास्पदको किटको माध्यमबाट डेंगु परीक्षण गरेका छौं’, उनले भने ।

    ‘अस्पतालले पछिल्लो भदौ महिनासम्म डेंगुका जटिल प्रकारका नौ बिरामीको अस्पताल भर्ना गरेर उपचार गरिसकेको छ ।’ डेंगु नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बाग्लुङले खोज र नष्ट गर अभियानलाई जारी राखेको छ ।

    लामट्टेको लार्भा नष्ट गर्नका लागि पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा विशेष ध्यान अपनाएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ । निरन्तरको वर्षाले खोज र नष्ट गर अभियान प्रभावित भए पनि घाम लागेपछि निरन्तरता दिने तयारीमा स्वास्थ्य कार्यालय रहेको छ ।

    यस्तै पालिका स्तरबाट भने खोज र नष्ट गर अभियानलाई तीव्रता दिन थालिएको छ । डेंगु रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्न थालिएको छ ।

    अहिले शहरी क्षेत्रमा डेंगु सचेतनाका लागि माइकिङ गर्ने, पोष्टर तथा पम्पलेट टाँस्नेलगायतका काम गरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij