Logo

२०७९, आश्विन १३ गते बिहिवार

२०७९, आश्विन १३ गते बिहिवार

कैलाली बाढी : नागरिकसँगै पशुचौपायाको जीवनमा समस्या 

कैलाली बाढी : नागरिकसँगै पशुचौपायाको जीवनमा समस्या 

  • 76
    SHARES
  • कैलाली बाढी : नागरिकसँगै पशुचौपायाको जीवनमा समस्या 

    कैलाली । कैलालीमा बाढीले नागरिकको जनजीवन मात्र होइन, पशुचौपायाको जीवन पनि समस्यामा परेको छ । जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको छ भने पशुचौपायासमेत आहाराको अभावमा समस्यामा परेका छन् ।

    जिल्लाको भजनीमा शनिबार आएको बाढीले सयौं परिवार वस्तुभाउसहित सडकमा बसिरहेका छन् । मानिससँगै सयौं पशुचौपाया पनि सडकमा बसेका छन् । बाढीका कारण तीन जनाको निधन गएको छ ।

    बाढीमा डुबेर भजनी नगरपालिका-८ गोडचौराका ५५ वर्षीय कालुराम चौधरी र वडा नं-९ का २५ वर्षीय विनोद राजीको मृत्यु भएको छ । यस्तै धनगढी उपमहानगरपालिका-१३ की १९ वर्षीया नवीना चौधरीको पनि डुबेर निधन भएको हो ।

    बाढीले सबैभन्दा बढी भजनीका नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । घर बाढीमा डुबेको छ, घरमा भएका अन्नपात, लुगाकपडा बाढीमा बगेका छन् भने धान लगाएको खेत पनि डुबान र कटानले क्षति भएको हाे ।

    बाढीले विस्थापित भएका नागरिकलाई आफ्नो पेट भर्न र वस्तुभाउलाई के खुवाउने भन्ने पिर परेको छ । सडकमा बसेका नागरिक चाउचाउ र चिउराका भरमा बसेका छन् भने वस्तुभाउलाई खुवाउने आहारा जोहो गर्न सकिएको छैन् ।

    भजनी-८ सोनाहाफाँटा खल्लाटोलीकी तुल्सीदेवी विकले वस्तुभाउसहित हुलाकी सडकमा बसेको बताइन् । उनलाई आफूले के खाने, वस्तुभाउलाई के खुवाउने चिन्ता भएको छ ।

    ‘वस्तुभाउका लागि जोहो गरिराखेको गहुँको भुस्सा बाढीमा बग्यो, धानखेत अहिले पनि जलमग्न छ । अब घाँस पनि बाढीले नोक्सान भयो’, उनले भनिन्, ‘अब आफू पनि भोकै, वस्तुभाउ पनि चार दिनदेखि सडकमा भोकै छन् ।’

    शनिबार विस्थापित भएकी तुल्सादेवी धमालाको परिवार पनि अझै घर फर्कन सकेको छैन् । उनीहरू पनि वस्तुभाउसहित सडकमा बसेका छन् । विस्थापित नागरिकले गाइभैँसी सडकमा भोकै बाँध्नुपरेको छ ।

    बाढीले धानबाली नष्ट गर्नुका साथै घासपातसमेत नष्ट भएको छ । यसले वस्तुभाउ पालकलाई बढी समस्या भएको हाे । खुला आकाशमा सडकमै बसिरहेकी इसरा सुनारको परिवारको पनि बिचल्ली छ । उनको घरखेत सबै बाढीमा मिसिएकाले उनको परिवार र वस्तुभाउको आहारामा समस्या भएको बताइन् ।

    ‘पशुका लागि पराल, गहुँको भुस्सा गोठमा राखेकी थिएँ, सबै बाढीमा मिसियो, मेरो त गोठ पनि रहेन’, उनले भनिन्, ‘सम्पत्तिका नाममा बचेका यी वस्तुभाउ हुन्, वस्तुभाउ पनि भोकले मर्ने भए ।’

    भजनी नगरपालिकाका पशु शाखा प्रमुख हरिलाल जैसी बाढीले पशुवस्तुतर्फ क्षति भएको विवरण आइरहेपनि कति क्षति भयो भनी भन्न सक्ने अवस्था नभएको बताए । प्रमुख जैसीले पशु बगेका, मरेका कुरा आइरहेपनि प्रभावित क्षेत्रमा अझै जान नसकिएकाले अब तथ्यांक लिने काम भइरहेको जानकारी दिए ।

    ‘हामी पशुभन्दा मानिस कसरी जोगाउने भनी उद्धारमा खटेका छौं, अझै मानिसकै उद्धार भइरहेको छ’, उनले भने, ‘पहिलो चरणमा मानिस उद्धार र राहतका काम भइरहेकाले पशुको आहाराबारे केही उपाय नै छैन् । पालिकामा भएको आहाराको स्रोत सबै बाढीले नोक्सान गरेकाले पशुको आहारा व्यवस्थपान गर्न सक्ने अवस्था छैन् ।’

    पशु शाखा प्रमुख जैसीले आजबाट पशुतर्फ भएको क्षतिको विवरण संकलन गर्ने तयारी गरिएको बताए । ‘अझै गाउँ जलमग्न छन्, गाउँमा गएर विवरण लिनसक्ने अवस्था छैन्’, उनले भने, ‘धेरै मानिसका वस्तुभाउ बगेका, बंगुर मरेका, कुखुरा मरेका खबर आएका छन् । अब हामी तथ्यांक लिन्छौं ।’

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology